सिन्धुलीका दुईवटै संघीय निर्वाचन क्षेत्रमा देउवा पक्षका उम्मेद्वार विजयी

राधिका बुढाथोकी   POSTED ON : मंसिर ११, २०७८ (५:५१ PM)

सिन्धुलीका दुईवटै संघीय निर्वाचन क्षेत्रमा देउवा पक्षका उम्मेद्वार विजयी

 सिन्धुली । सिन्धुलीका दुईवटै संघीय निर्वाचन क्षेत्रको सभापतिमा शेरबहादुर देउवा पक्षका उम्मेद्वार विजयी भएका छन् । संघीय क्षेत्र नं १ मा कर्णबहादुर थापामगर र संघीय क्षेत्र नम्बर २ मा कुमार ढकाल विजयी हुनु भयो । क्षेत्रीय सभापति पदमा निर्वाचित दुवै जना उमेद्वार देउवा पक्षका मानिनु हुन्छ । 

थापामगर ‘पपुलर’ मतसहित सभापतिमा निर्वाचित हुनु भएको छ भने ढकाल एक मत अन्तरले मात्र सभापतिको पदमा विजयी हुनु भएको हो । । कांग्रेसको १४ औँ महाधिवेसन अन्र्तगत भएको क्षेत्र नं. १ को क्षेत्रीय अधिवेसनको निर्वाचनमा रामचन्द्र पौडेल पक्षका पुष्पबहादुर कार्कीलाई १ सय ७८ मतान्तरले पछि पार्दै थापामगर सभापतिमा निर्वाचित हुनुभएको हो । कुल ७ सय ८१ खसेको मतमा थापामगरले ४ सय ६५ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी कार्कीले २ सय ८७ मत  मात्र प्राप्त गर्नुभयो । थापामगर तीनपाटन गाउँपालिका र कार्की गोलन्जोर गाउँपालिकाको अध्यक्ष समेत हुनुहुन्छ ।

यस्तै कांग्रेस सिन्धुली संघीय क्षेत्र नम्बर २ मा ढकाल एक मत अन्तरले मात्र सभापतिमाा निर्वाचित हुनुभएको छ । ढकालका प्रतिस्पधीले एक मत अन्तरले मात्र पराजित हुनुपर्यो । ढकालले ३६२ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी कपिल कोइरालाले ३६१ मत प्राप्त गर्नुभयो ।

मत गणना हुँदा ११ मत फरक बाकसमा परेपछि धाँधली भएको भन्दै चार दिनदेखि मतगणना रोकिँदा नतिजा घोषणा हुन सकेको थिएन । कांग्रेस जिल्ला समिति र विजयी उमेद्वारहरुको रोहबरमा निर्वाचन समतिले शनिबार गणना गरेको थियो । गणना हुन बाँकी रहेको ११ मतमा ढकालको ४ र कोइरालाको ६ मत रहेको थियो । एक मत खाली थियो ।

यसअघिको अन्तिम गणनामा ढकालको ३५८ र कोइरालाको ३५५ मत रहेको थियो । मुचुल्का उठाएर लाहाछाप गरी सुरक्षित राखेको मतपत्र गणना हुँदा एक मतले ढकाल विजयी हुनुभएको मतदान अधिकृत मनोज शाहले जानकारी दिनुभयो ।

क्षेत्रीय सभापति पदमा देउवा पक्ष बलियो देखिएको भएपनि यस बाहेकको महाधिवेसन प्रतिनिधि ४८ जनामा संस्थापन र इतर पक्षको संख्या बराबरीजस्तै छ ।

संघीय क्षेत्र नं १ को खुल्ला महाधिवेसन प्रतिनिधिमा उज्वल प्रसाद बराल, मोहन प्रसाद बराल, प्रेमचन्द्र दाहाल, प्रेम भट्टराई, गोविन्द पहाडी, मुकेश घिमिरे, विश्वनाथ कोइराला, शम्भु राउत, शरद आचार्य र सुमन कोइराला निर्वाचित भएका छन् ।

खुल्ला महाधिवेसन प्रतिनिधि (महिला) मा गंगा दाहाल, इन्दिरा निरौला, अप्सरा काफ्ले, उर्मिला कोइराला निर्वाचित भएका छन् । खस आर्य खुल्लामा सुवास कार्की, रमेश गौतम र खस आर्य महिलामा अर्पणा खड्का निर्वाचित भएकी छिन् ।

आदिवासी जनजाति खुल्लामा कृष्ण मुरारी गुरुङ, सुजन थापामगर, नृपबहादुर भुजेल, आदिवासी जनजाति महिलामा भद्रीमाया मगर, भद्रा कुमारी माझी, आशा कुमारी सुनुवार निर्वाचित  भएका छन् ।  दलितमा रितबहादुर परियार र  मधेसी, थारु, मुस्लिम, अल्पसंख्यक अपांगतामा किशोरी नायक (मधेशी) निर्वाचित भएका छन् ।

यस्तै संघीय क्षेत्र नं १ को खुल्ला महाधिवेसन प्रतिनिधिमा छेत्रबहादुर बम्जन, उपेन्द्र कुमार पोख्रेल, खड्गबहादुर वाइवा, विपिन कोइराला, नवराज श्रेष्ठ (आकाश), माणिक ढकाल, कृष्ण प्रसाद दाहाल, विदुर वाइवा, विवश कुमार वाइवा, कपेन्द्र कुमार लामा निर्वाचित भएका छन् ।

खुल्ला महाधिवेसन प्रतिनिधि (महिला) मा शुशीला थिङ, यशोदा कोइराला, विजुला वर्मा राणा, दीपशिखा शर्मा ढकाल निर्वाचित भएका छन् । खस आर्य खुल्लामा डम्बर बहादुर कार्की, खस आर्य महिलामा इन्दिरा पोख्रेल निर्वाचित भएका हुन् ।

आदिवासी जनजाति खुल्लामा अरुण कुमार थिङ, यमबहादुर जर्घा, ध्रुव श्रेष्ठ, भक्तबहादुर वाइवा, आदिवासी जनजाति (महिला) मा विमला माझी, दुर्गा सुनुवार, सम्झना भोलन निर्वाचित भएका छन् । दलितमा टेकबहादुर घिमिरे (विक) र मधेसी, थारु, मुस्लिम, अल्पसंख्यक, अपांगतामा भगवान माझी निर्वाचित भएका छन् ।

यसैबीच जिल्ला कार्यसमिति पूर्वसदस्य एवं दुधौली नगरपालिकाका वडाध्यक्षको निधन भएपछि अनिश्चितकालका लागि स्थगित भएको कांग्रेस जिल्ला अधिवेसन मंसिर १९ र २० गते हुने बताइएको छ । कांग्रेसको १४ औं महाधिवेसन तालिकाबमोजिम गत शुक्रबार हुने भनिएको थियो । जिल्ला सदस्य एवं वडाध्यक्ष कुमार बस्नेतको मोटरसाइकल दुर्घटनामा बिहीबार निधन भएपछि रोकिएको अधिवेसन मंसिर २० गते हुने भएको हो । यतिबेला जिल्ला अधिवेसनको तयारीमा जिल्लाका नेता तथा कार्यकर्ता चिया पसलदेखि चोकचोकसम्म भेटघाट तथा बैठकमा व्यस्त छन् ।

 


Top