सहमति हुन नसक्दा माओवादी केन्द्र धादिङ गजुरीको अधिवेशन स्थगित

बाबुराम श्रेष्ठ   POSTED ON : मंसिर १२, २०७८ (११:३९ AM)

सहमति हुन नसक्दा माओवादी केन्द्र धादिङ गजुरीको अधिवेशन स्थगित

 धादिङ । नेकपा (माओवादी केन्द्र) धादिङ गजुरीको अधिवेशन स्थगित भएको छ । गजुरीमा अध्यक्ष पदका लागि विवाद भएपछि अधिवेशन स्थगित भएको हो । 

नेताहरुको लामो समय सम्मको कसरत गर्दा समेत अध्यक्ष पदमा सहमति हुन नसक्दा गजुरी गाउँपालिकाको अधिवेशन स्थगित भएको माओवादी केन्द्र धादिङले जनाएको छ । 

नेकपा (माओवादी केन्द्र) धादिङको १२ वटा स्थानीय तहको अधिवेशन शनिबार सर्वसहमतिमा सम्पन्न भएको थियो । यस्तै नीलकण्ठ नगरपालिकाको अध्यक्षमा शम्भु श्रेष्ठ, ज्वालामुखि गाउँपालिकाको अध्यक्षमा दिपक बस्नेत (सुरप्रताप), धुनीबेसी नगरपालिकाको अध्यक्ष राजकुमार पाठक, थाक्रेको अध्यक्षमा जिन्दगी थापा, गल्छीको अध्यक्षमा रामशरण सेन्चुरी, बेनीघाट रोराङमा राजेन्द्र कंडेल, सिद्धलेकमा पुष्प थपलिया, रुबीभ्यालीमा कर्मा लामा, खनियाबासमा लालबहादुर तामाङ, गंगाजमुनामा रामेश्वर सिंखडा, त्रिपुरासुन्दरीमा देवराज धरेल र नेत्रावती डवजोङमा प्रेम तामाङ सर्वसम्मत चयन भएको माओवादी केन्द्र धादिङले जनाएको छ । नेकपा (माओवादी केन्द्र) ले शनिबार धादिङ सहित देशभरिका पालिकाहरूमा अधिवेशन गरेको छ । 

शनिबार दिउँसो १ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले देशभरिका अधिवेशनमा भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको थियो । मंसिर ४ गते देशभरि वडा अधिवेशन गरेको थियो । २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन हुनेछ । 


Top