ओखलढुंगा कांग्रेस नेतृत्वमा २१ देखि ७९ बर्षको समिश्रण

जीवन शर्मा   POSTED ON : मंसिर १२, २०७८ (६:३२ PM)

ओखलढुंगा कांग्रेस नेतृत्वमा २१ देखि ७९ बर्षको समिश्रण

ओखलढुंगा । २००८ सालदेखि ८ बर्षको उमेरमा  पार्टीमा आस्था राखेर हिड्नुभएका ७९ बर्षीय नेता महेश कुमार कोर्मोचा नेपाली कांग्रेसको १४ औ जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभयो । वहाँ ३ पटक पार्टीको जिल्ला सभापति, २ पटक जिविस सभापति र २०५६ देखि ०५९ सम्म आदीवासी जनजाति राष्ट्रिय विकास समितिको उपाध्यक्ष समेत भइसक्नुभएका पुराना नेता हुनुहुन्छ । कोर्मोचाकै समूहबाट चुनावी मैदानमा उत्रिनुभएकी २१ बर्षीया विन्दा बोगटी प्रदेश प्रतिनिधिमा आउनुभयो । 

१४ औें महाधिवेशन अन्र्तगत जिल्ला तथा प्रदेश क्षेत्र अधिवेशनबाट निर्वाचित हुनेको उमेर समूह  नाति पुस्ता देखी हजुबुवा पुस्ता सम्मको समिश्रण रहेको छ ।  प्रदेशसभा अधिवेशन प्रतिनिधिमा चुनीनुभएकी २१बर्षीया विन्दा बोगटी नेपाली कांग्रेसको राजनीतिमा पहिलोपटक क्षेत्रीय प्रतिनिधि भएर आउनुभएको हो भने महेश कुमार कोर्मोचा करिव सात दशक देखि राजनीतिमा सक्रीय हुनुहुन्छ । यसले १४ औ अधिवेशनमा कांग्रेसको कुनै न कुनै ठाउको नेृतृत्व तहमा तीन पुस्ताको प्रतिनिधित्व छ भन्ने प्रष्ट देखाउछ । 

नेविसंघको राजनीति बाट आउनुभएका उज्जन बुढाथोकी २९ बर्षको उमेरमा जिल्ला कार्यसमिति ओखलढुंगाको सहसचिव हुनुभएको छ  । २०६२ सालमा ज्ञानप्रकाश मावि घोराखोरीमा इकाइ सचिव हुदै गितामाता क्याम्पस इकाइ अध्यक्ष,ग्रामिण आदर्श बहुमुखी क्याम्पस सहसचिव, नेविसंघ जिल्ला उपाध्यक्ष भइसक्नुभएका बुढाथोकी गत स्थानीय तहको निर्वाचनमा चम्पादेवी गाउपालिका–१० रानीवनको अध्यक्ष  समेत हुनुहुन्छ । संगठन प्रतिको प्रतिवद्धता, मिलनसार र इमान्दार नेताका रुपमा पहिचान बनाउनुभएका बुढाथोकी धनवान र वलवानहरुको हावी हुँदै गएको राजनीतिलाई पेसा नभइ सेवाभावका रुपमा  हेरीनुपर्ने र राजनीतिकर्मीहरु व्यवसायिक बन्नुपर्ने बताउनुहुन्छ । यही विचारले आफुले सहसचिवमा जिम्मेवारी पाएको वाहाको बुझाइ छ । 

नेविसंघकै पृष्ठभूमिबाट आउनुभएका  लिखु गाउपालिका ८ टारकेरावारीका ३२ बर्षीय पुरुषेत्तम पौडेलले जिल्ला कार्यसमिति सदस्य जित्नुभयो । वहा गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका उमेद्वार समेत हुुनुहुन्थ्यो । नेविसंघको राजनीतिमा लाग्नुभएका मोलुङ ६ श्रीचौरका २३ बर्षीय पुष्कर थापा ओखलढुंगा प्रदेशसभा क अधिवेशनबाट निर्वाचित भएर सहसचिवको जिम्मेवारीमा आउनुभएको छ । त्यस्तै नेविसंघकी जिल्ला सहसचिव अर्चना लुइटेल २६ बर्षको उमेरमा खस आर्य महिला कोटा बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभयो । स्कूल तहदेखीनै नेविसंघको राजनीतिमा लाग्नुभएकी लुइटेल र अम्बीका भट्टराईको मत ५८८ बराबर भएपछि गोलाप्रथाबाट माहाधिवेशन प्रतिनिधिको जिम्मेवारी पाउनुभएको हो ।

 २०६७ साल बाट नेविसंघको राजनीतिमा प्रवेश गरेर सिटीइभिटी केन्द्रीय समन्वय समितिको उपाध्यक्ष र हिलसाइड इन्जिनियरिङ क्याम्पस इकाइ अध्यक्ष हुनुभएका होम बहादुर वि.क (होमभाइ) २८ बर्षको उमेरमा दलित क्लष्टर बाम महासमिति सदस्य बन्नुभयो ।  दलित तर्फको महाधिवेशन प्रतिनिधि एक जना मात्र भएकाले वाहा सर्वसहमतरुपमा महासमिति  सदस्य बन्नुभएको हो । राजनीतिलाई समाजसेवाका रुपमा  हेरीनुपर्ने तर्क राख्नुहुन्छ ।  पार्टीलाई बैचारिक र गतिशिल बनाउने अभियानमा युवा वर्गको भूमिका महत्वपूर्ण रहने भएकाले उमेद्वारी प्रस्तुत गरेको र यसमा हजुबुवा देखी नाति पुस्ताका नेता कार्यकर्ताहरुको सहयोगमा महासमिति सदस्य बनेकोमा आफुलाई गौरव ठान्नुहुन्छ । २०७५ बाट नेविसंघको राजननीति जिम्मेवारीमा आउनुभएका रोशन महतरा २७ बर्षमा प्रदेश प्रतिनिधिमा चयन हुनुभएको छ । ै यस पटकको अधिवेशनमा उल्लेखीत व्यक्तिहरुसंगै नेविसंघको पृष्ठभूमिबाट आएका ३० बर्ष भन्दा कम उमेर समूहका धेरै युवाहरुले पुराना पुस्ताका नेताहरुसंगसंगै रहनेगरी महत्वपूर्ण ठाउ पाएका छन्  । नेसिंघको पृष्ठभूमिबाट आउनुभएका जिल्ला सभापति तेजेन्द्र खनाल समेते युवा पुस्ताको प्रतिनिधित्व गर्नुहुन्छ ।  

यसले नेपाली कांग्रेसमा रुपान्तरण संगैं पुस्तान्तरण हुदै गएको नेपाली कांग्रेसका नेता बालकृष्ण दाहाल बताउनुहुन्छ । पार्टीमा पुस्तान्तरण र रुपान्तरण दुवै आवश्यक भएकाले १४ औं महाधिवेशनले कांग्रेसमा पुस्तान्तरण संगै रुपान्तरणको समेत अनुभूति दिलाउने आसा पलाएको दाहालकोृ भनाइ छ । विधानत समावेशीताका आधारमा सबै जानजाति, लिङ, क्षेत्र, भुगोल समेटीएकाले पार्टीको नेतृत्व तहमा ७९ बर्ष देखि २१ बर्ष सम्मको प्रतिनिधित्व देखिएको नेताहरुले बताएका छन् । 


Top