अपांगता हुनुभएकी ६३ वर्षीया खतिवडालाई घरमै नागरिकता

बाबुराम श्रेष्ठ   POSTED ON : मंसिर १३, २०७८ (६:२८ AM)

अपांगता हुनुभएकी ६३ वर्षीया खतिवडालाई घरमै नागरिकता

धादिङ । धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पूर्णरूपमा अपांगता भई नागरिकताविहीन बन्नुभएकी एक महिलालाई घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको छ । धादिङको गल्छी गाउँपालिका–१ फोसटारकी ६३ वर्षीया हरिमाया खतिवडालाई प्रजिअ लम्सालले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । 

शारीरिक रूपमा पूर्ण अशक्त रहेकाले खतिवडालाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ लम्सालले बताउनुभयो । शारिरिक रुपमा कमजोर, हिँड्न खानको लागि सहयोगी आवश्यकता पर्ने र अरूले बोलेको कुरा बुझ्न नसक्ने खतिवडालाई कार्यालयमा ल्याउन असहज भएकाले घरमै गई नागरिकता वितरण गरिएको थियो । 

नागरिकता पाएपछि अपांगता परिचयपत्र निर्माण गर्ने उहाँका संरक्षक एवं दाजु विश्वनाथ खतिवडाले बताउनुभयो । सामाजिक उत्तरदायित्वअन्तर्गत सेवाग्राहीको प्राथमिकतामा सेवा प्रवाह गरिने धादिङका प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो । राज्यको सेवा सुविधाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले कर्मचारीसहित घरमै पुगेर नागरिकता दिएको उहाँको भनाइ छ ।

Top