नेकांको केन्द्रीय सदस्यमा श्रेष्ठको उम्मेदवारी घोषणा

हिमालय टाइम्स   POSTED ON : मंसिर १३, २०७८ (६:५३ PM)

नेकांको केन्द्रीय सदस्यमा श्रेष्ठको उम्मेदवारी घोषणा

चितवन । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । 

आज यहाँ आयोजित घोषणा सभामा उहाँले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । “कांग्रेसको ७५ वर्षको इतिहासमा चितवनले अहिलेसम्म केन्द्रीय सदस्य पाउन सकेको छैन”, उहाँले भन्नुभयो, “यो तोड्नका लागि हामी सबै एक भएर निर्वाचनमा होमिनु जरुरी छ ।” आफ्नो उम्मेदवारी आदिवासी कोटाबाट केन्द्रीय सदस्यमा रहेको भन्दै उहाँले जिल्लाबाट उम्मेदवार रहेका सबै उम्मेदवारलाई सहयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ, पूर्वसभापति कृष्णलाल सापकोटा, तोपमानसिंह गुरुङ, प्रदेशसभा सदस्य बलराम पौडेल, जिल्ला सभापतिका आकाङ्क्षीहरु कैलाश कोइराला, उत्तम जोशी, प्राडा सूर्यकान्त घिमिरे, राजेश्वर खनाल र विजय भुसालको समेत उपस्थिति थियो । 


Top