15th July | 2020 | Wednesday | 3:20:51 PM

‘लकडाउन’को सास्ती

निनाम कुलुङ ‘मंगले’   POSTED ON : जेठ २३, २०७७ (१०:४१ AM)

‘लकडाउन’को सास्ती

नेपालमा कोरोनाको संक्रमण व्यापक रुपमा नफैलियोस् भन्नका लागि सरकारले गत चैत ११ देखि लकडाउन लागू गरेको छ । यथास्थितिमा जेठ ३२ गतेसम्म लकडाउन जारी रहनेछ । गत चैत ११ देखि जारी लकडाउनलाई धेरै मानिसले पालना गरे । सरकारको आदेश मानेर भन्दा पनि कोरोनाले साँच्चै मरिएला कि भन्ने डर–त्रासले गर्दा जेठ २० गतेसम्म सर्वसाधारणले लकडाउनलाई भित्री मनमा आक्रोस र उकुस–मुकस बोकेरै भए पनि मानेका थिए । जेठ २० पछिचाहिँ आम मानिसहरू खासगरी स–साना पेशा र व्यवसाय गर्ने मानिसहरूले सरकारले पछिल्लो पटक जेठ मसान्तसम्मका लागि थपेको लकडाउन अवज्ञा गर्न थालेको देखिन्छ । यहाँसम्म कि, सडकमा भीड बढ्न थालेको छ भने कतै त फेन्सी, जुत्ता पसलसमेत खुल्न थालेको देखिन्छ । त्यसरी सरकारको आदेश अर्थात् लकडाउनलाई उल्लंघन गरी पसल खोलेका मानिसहरूलाई बन्द गर्न भनी सम्झाउन÷बुझाउन आएका प्रहरीलाई ‘अब हामी कोरोनाले मरे मर्छौँ तर, भोकले चाहिँ मर्न चाहन्नौं, त्यसैले अब सरकारको आदेश मान्दैनौं’ भनेर सर्वसाधारणले प्रष्टसँग भन्न थालेका छन् ।

लकडाउन कोरोना संक्रमण फैलन रोक्ने एउटा तरिका हो तर यसको पनि समय सीमा हुन्छ । निश्चित अवधिसम्म लकडाउन गरेर राज्यले त्यतिन्जेलसम्म कोरोना संक्रमण परीक्षण, अन्तर्राष्ट्रिय सीमा बन्द, संक्रमणका दृष्टिले जोखिमपूर्ण रहेको क्षेत्रलाई शिल गर्ने लगायतका विधिमार्फत बाँकी जनजीवनलाई सामान्य तुल्याउने भूमिका निर्वाह गर्नुपर्छ । त्यसैले अब सरकारले बेलैमा कुरो बुझेर सेफल्यान्डिङ गर्नुपर्ने देखिन्छ । 

त्यसो त आम नेपालीहरूमा कोरोनाले भन्दा भोकले मर्ने चिन्ता बढी रहँदा हप्ता–दश दिनमा नेपालमा कोरोना संक्रमित मानिसहरूको संख्या पनि हृवात्तै बढेको अवस्था छ । तथ्यांक हेर्ने हो भने आजभन्दा १०-१२ दिनअघि नेपालमा ८-९ सयको हाराहारीमा कोरोना संक्रमित थिए । १०-१२ दिनकै अवधिमा सो संख्या डबलभन्दा पनि बढेर २३ सय पुगेको छ । यो क्रम बढ्दो छ र आगामी दिनमा अरु कति संक्रमित पाइने हुन्, अहिले नै केही भन्न सक्ने अवस्था छैन । हुन पनि यसरी बिना कुनै व्यवस्था (मुख्यतयाः खान्तेपिन्ते) सरकारले ‘लकडाउन तिमीहरूकै लागि हो, सरकारका लागि होइन, त्यसैले खान पाए पनि, नपाए पनि लकडाउन उल्लंघन नगर’ भनेर जबरजस्ती लकडाउन अझै थप्दै गएमा गत ११ वैशाखमा कीर्तिपुर–१० मा मरेका धादिङ जिल्लाका सूर्यबहादुर तामाङको जस्तै मरण धेरै सहरी गरिब–दुःखीहरूको हुने निश्चित देखिन्छ । वास्तवमा संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ २ गते वाचन गर्नुभएको नेपाल सरकारको ‘नीति तथा कार्यक्रम’ र गत जेठ १५ मा सरकारको तर्फबाट प्रस्तुत गरिएको आर्थिक वर्ष २०७७-०७८ को वाषर््िाक बजेट भाषणमा कोरोनाबाट थिलथिलो भएका व्यवसायीहरू, अति गरिब जनता, शारीरिक रुपमा अशक्त भएका लगायत जनताका लागि केही न केही राहत प्याकेज आउला कि भन्ने धेरैले अपेक्षा गरेका थिए । तर, सरकारले उल्टै उद्योगी–व्यवसायीहरूलाई जसरी हुन्छ यही जेठ २५ गतेभित्र कर तिरिसक्नुपर्ने भनी आदेशात्मक सूचना पो जारी ग¥यो । यस्तो छ, हाम्रो देशको दुई तिहाई नजिकको सरकार । त्यो पनि गरिब दुःखीको हित गर्छ भनिएको कम्युनिष्ट पार्टीको सरकार ।

यसरी ‘नोभेल कोरोना भाइरस’ (कोभिड–१९) को भाइरसले मानिसमाथि आक्रमण गर्न सुरु गरेको ४ महिना कटेको अवस्थामा पनि ३ लाख ८८ हजार चानचुन मानिसको मात्रै मृत्यु भएको छ । किनभने, यति लामो समयसम्म कोरोनाको प्रभाव रहला भनेर धेरै कमले मात्रै सोचेका थिए । हुन पनि अहिलेसम्म विश्वका प्रायः सबै सञ्चारमाध्यमहरूमा ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९)बारेमा नै प्रमुख समाचार बन्ने गरेको छ, ठूलो र महत्वपूर्ण समाचार बन्ने गरेको छ । यसरी विश्व नै कोभिड–१९ का कारण त्राहीमाम भएको छ । त्यही भएर पनि होला, यो रोगको महामारीलाई संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वभरि पैmलिएको महामारी (प्यान्डेमिक) भनी गत मार्च ११ तारिखका दिन घोषण गरिसकेको थियो । त्यसो त भाइरल रोगका विज्ञहरूले गर्मी याम सुरु हुने बित्तिकै कोरोना आफै हराउने आशा वा भनौं अनुमान पनि गरेका थिए । तर, अहिले आएर यो महामारीको भाइरस (कोभिड–१९) ले सन् २०२२ सम्म वा अझ बढी सन् २०२५ सम्म पनि आफ्नो प्रभाव कायम राख्न सक्ने भनी केही विज्ञहरूले बताईसकेका छन् । त्यसैले कोभिड–१९ नामक भाइरसको महामारीका कारण विश्वका कति मान्छेलाई अझै बिरामी बनाउने हो ? कति मानिसलाई अझै परमधाम पु-याउने हो ? अहिले नै किटेर भन्न सक्ने अवस्था पनि रहेन । 

सुरुमै भनिए झैँ वास्तवमा कोभिड–१९ नामक संक्रामक भाइरसको महामारी तल–तलसम्म (संक्रमित व्यक्तिले अर्को व्यक्ति वा पूरै घरपरिवार र समाजलाई) संक्रमित नगरोस्÷भाइरस नसारोस् । भनेर अपनाउने सबैभन्दा उत्तम उपायको रुपमा रहेको ‘लकडाउन’ नै देखिएको छ । त्यसैले कोभिड–१९ नामक संक्रामक भाइरसको महामारी तल–तलसम्म नपैmलियोस् भनेर धेरै देश र ती देशका सरकार प्रमुखहरूले ‘लकडाउन’ वा संकटकाल लागू गरे । फलतः नेपाल सरकारले पनि विश्वका अन्य केही देशहरूले झैँ ‘लकडाउन’कै उपायलाई अवलम्बन गरेको अवस्था छ । अरु देशले आफ्नो देशका जनतालाई ‘लकडाउन’लाग गरेसँगै केही न केही राहत प्याकेज पनि ल्याए, लागू गरे । कतिसम्म भने, जापान सरकारले त आफ्ना देशका यौन व्यवसायीहरूलाई समेत एकल (एक्लै भएका !) लाई ९२८ अमेरिकी डलर र परिवार भएकालाई २ हजार ७८५ अमेरिकी डलर निःशुल्क तिर्न नपर्ने गरि उपलब्ध गराएको थियो । तर, हाम्रो देशमा नि ! हाम्रो देशमा त बिना प्याकेज लकडाउन लागू गरिएकोले सूर्यबहादुर तामाङहरू जस्ता दिनदिनै भारी नबोकी÷काम नगरी खान नपाउनेहरूले लकडाउनका कारण भारी बोक्न पाएनन्, भारी बोक्न नपाएपछि खान पाएनन्, खान नपाएपछि संभवतः भोकैले मरे होलान् ! अरुले मात्रै पनि कति दिनसम्म खान दिने ? समाचारमा जनाईएअनुसार सूर्यबहादुर तामाङले मर्नु अघिसम्म स्थानीयले निःशुल्क बाँडेको खाना खाएर बाँचिरहेका थिए । 

त्यसैले सामाजिक दूरी कायम गर्नबाहेक कोरोनाबाट बच्ने अर्को उत्तम उपाय छैन ! भनेर विषय विज्ञहरूले भनेअनुसारको सूचना सबैखाले मिडियाहरूमा प्रचार प्रसार गर्दै, बिना काम जथाभावी हिँडडुल नगर्ने, सेल्फ आइसोलेसनमा बस्ने, सरकारले लकडाउन खुकुलो पार्ने वा पूर्ण रुपमा खोल्नेतर्पm कदम चाल्नै पर्छ । अन्यथा जनतालाई खाली पेट (बिना नगद वा खाद्य सामग्री वितरण) ‘लकडाउन’ मा कतिञ्जेलसम्म भावनामा नबगी बस भन्ने ? त्यसैले सरकार ! अब जसरी पनि ‘लकडाउन’ त खोल्नैपर्ने देखिन्छ । हुन पनि बल्लतल्ल मान्छे भएर यो धर्तीमा जन्मेको ! अकाल मृत्युवरण किन गर्ने ? भनी सम्झनेहरू, मानव जीवनको महत्व र मूल्य बुझेका बुझ्झकीहरू, आफ्नो जीवनको माया लाग्नेहरू, मर्नदेखि डराउनेहरू आफै सामाजिक दूरी कायम गरेर, सावधानी अपनाएर वा जसरी हुन्छ, बाँच्ने प्रयास गर्ने छन् । आ ... जे सुकै होस्, के मतलब ! भन्नेहरू मर्दै गर्छन् । तर, सरकार आफै लागेर कसैलाई पनि जानाजान सूर्यबहादुर तामाङको हालतमा नपु-याऊ ! कि कसो हौ, सर्वहारा तथा क्रान्तिकारी कमरेडहरू, जो वर्तमान सरकारमा अत्यधिक बहुमत (दुई तिहाई नजिक) का साथ विराजमान हुनु हुन्छ ।


Views: 130