13th July | 2020 | Monday | 12:13:15 AM

मैले जे भोगेँ, बुझेँ र देखेँ

परिविक्रम   POSTED ON : असार १५, २०७७ (१०:१२ AM)

मैले जे भोगेँ, बुझेँ र देखेँ

जातीय विभेदसँग

जातीय विभेदको आगो यसरी बलिरहनुमा जातीयताको मात्र हात छैन यहाँ वर्ग र धर्मले पनि घ्यू थपिरहेका छन् । केही हदसम्म जब वर्गीय विभेदको खाडल पुर्न सक्दैनौं र धर्मका नाउँमा गरिएका गलत व्याख्यालाई सच्याएर सबैमाझ पु¥याउन सक्दैनौं तबसम्म जातीय विभेदको आगो साम्य हुनेवाला छैन । धनी दलित विभेदमा परेको घटना छैन भए पनि तुलनात्मक रूपमा कम छ । यसरी आकडा हेर्दा के थाहा लाग्छ भने वर्गीय विभेद र जातीय विभेदको सम्बन्ध बाबु र छोराको जस्तो छ ।

अन्तरजातीय विवाहको सन्दर्भमा केटा दलित हुँदा बढी घटना घट्ने पाइएको कारण हाम्रो धर्म र संस्कृतिमा जोड्न सकिन्छ । ज्वाइँलाई एउटा पूज्य व्यक्तिको रूपमा मान्ने हाम्रो चलन छ । अब आफूले पुज्नुपर्ने व्यक्ति सानो जातको, तल्लो वर्गको हुँदा पक्कै पनि ठूलो जात र वर्गको अहंकारले मान्दै मान्दैन ।

यसरी जातीय विभेद, वर्ग र धर्म संस्कृतिसँग पनि जोडिएको छ । यी दुईलाई नचलाई एक्लै जातीय विभेद अन्त्य गर्न असम्भव प्राय छ ।

दलितको इच्छा

आफैंले धारो बनायो, धारोमा पानी भर्न नपाउने । आफैंले घर बनायो, आँगनसम्म टेक्दा नि सुनपानी छर्किएको देख्नुपर्ने । आफैंले मूर्ति बनायो, मन्दिरमा पूजा गर्न नपाउने । जिन्दगीभर गैरदलितकै जिन्दगी हरियाली बनाउन लागेको दलितले पाएको त के हो र ? त्यही उपेक्षा र पीडा होइन ? र, अहिले पनि दलितको कत्रो ठूलो माग छ र ? यही होइन ? दलित पनि तिमीजस्तै मान्छे हो । तिम्रो लागि गरेको कामबाट उपेक्षा होइन सम्मानको अपेक्षा गर्छ दलित । 

दलितलाई पनि बाँच्न देऊ । दलितले कहिल्यै छुट्टै राज्य मागेको छैन । आर्य, खससँग अनुहार मिल्छ । धर्म, संस्कृति मिल्छ । दलित तिमीहरूकै दाजुभाइ हो । दलितलाई पनि तिम्रै समाजमा मिसिन देऊ । तर, दलितको यो मर्म न कहिल्यै बुझियो न त अहिले बुझ्ने प्रयास नै भएको छ ।

दलित आरक्षण कोटा

जबजब जातीय विभेदका मुद्दा सतहमा आउँछन् तब तब केही गैरदलित मित्रहरू उफ्रिन थाल्नुहुन्छ, तिमीहरूले दलितको नाउँमा आरक्षण कोटा लिएका छौं, यसकारण दलितको नाउँमा भएका हिंसा चुपचाप सहनुपर्छ कि आरक्षण लिन पाइँदैन । यस्ता विचार बोक्ने साथीहरू पहिला केमा स्पष्ट हुनुप¥यो भने, विभेद भएर आरक्षण ल्याइएको हो, आरक्षण ल्याइएर विभेद भएको होइन । अर्का थरि हुनुहुन्छ जो गरिबी निवारण कार्यक्रम र आरक्षण कोटालाई समान ठान्नुहुन्छ । महिलाको पनि आरक्षण कोटा छ त । 

यहाँ फेरि किन आउन्न धनी महिला र गरिब महिलाको कुरा ? दलितमा मात्र किन ? काठमाडौंको धनी कामीले दलित कोटा पायो कास्कीको गरिब बाहुनले पाएन । यहाँ न्याय भएन । चिच्याउने अर्को समूह छ । दलितको केसमा त्यो काठमाडांैको कामी अपवादको धनी हो भने कास्कीको गरिब बाहुन अपवादको गरिब हो । हाम्रा पूर्खाले गरेको गल्तीको सजाय र क्षतिपूर्ति हामीले किन तिर्ने भन्ने समूहको स्वर पनि जायज नै हुन्थ्यो होला सायद यदि उनीहरूले स्पष्टसँग भनिदिने हो भने हामीलाई हाम्रा पुर्खाहरूले हिजो भोगचलन गरेर पाएका जग्गा, सम्पत्तिसँग हामीलाई पनि चासो र हक छैन भनेर ।

दलित आन्दोलन

दलित आन्दोलन खास सुरु भएको हो कि होइन म त अझै अन्यौलमै छु । हुन त दलित आन्दोलनकै नाममा थुप्रै दलित अधिकारकर्मी र दलित नेताहरू जन्मिए । राज्यको माथिल्लै तहसम्म पनि पुगे तर खै दलित आन्दोलन चाहिँ कुन बर्मुडा ट्य्रांगलमा अझै लापता छ ? सबैभन्दा लाजमर्दो कुरा त के छ भने, दलितलाई दलित आन्दोलनबारे बुझाएर आन्दोलनमा सहभागी गराउने त कहिले हो कहिले दलित र दलित आन्दोलन शब्दकै सामान्य व्याख्या, विश्लेषण गरेर दलितमाझ नै पु-याउन सकेका छैनन् । 

अरूका बहकाउमा लागेर दलितहरू नै हामी दलित होइनौं भन्नअघि सरेका छन् । दलित र दलित आन्दोलन शब्दको गलत व्याख्या र अपव्याख्याले दलित शब्दको इतिहास, ओज र दलित एकतालाई खलल पु¥याउने काम गरेको छ । सही व्याख्या र विश्लेषण गरी प्रचार गरेर कम्तीमा दलित माझ दलित शब्द यो हो, हाम्रो उपलब्धि हो भनेर बुझाउने कसले ? र कहिले ?

दलित एकता

धेरै पर जानु परेन । अस्ति भर्खरको रुकुम चौरजहारी सोतीकै घटना हेर्दा थाहा लाग्छ साँच्चै दलितको पक्षमा को को छन् भनेर । दलित हकहितका लागि सबैभन्दा धेरै लडेको भनेर दाबी गरिरहने ‘प्रचण्ड’ अहिले सरकारमा रहेको पार्टीको अध्यक्ष छन् । उनलाई यस घटनाबारे मुख खोल्न कति दिन लाग्यो ? वर्गीय र जातीय मुक्तिका लागि भनेर जनयुद्ध हाँकेका एक कमाण्डर रामबहादुर थापा बादल जो शक्तिशाली सरकारको गृहमन्त्री छन् । उनको कस्तो अभिव्यक्ति सार्वजानिक भयो ?

कुनै नेताको झोले बनेर, चाकरीमा लागेर दलित आन्दोलन सफल नहुने रहेछ । दलितभित्रकै एकता र दलितभित्रैबाट एकमुष्ट निस्किएको बुलन्द आवाजले मात्र त्यो विभेदको कानले सुनेर विभेद डराउनेछ । यो समय दलित एकताको हो । 

जाँदाजाँदै

साना कक्षाको सामाजिक शिक्षाको किताब पल्टाउने हो भने पनि सामाजिक कुरीति भन्ने पाठमा छुवाछूत राखिएको छ भन्ने थाहा हुन्छ । हेर्नुस् त, छुवाछूत, जातीय विभेद त समाजको समस्या रहेछ नि । देशको समस्या रहेछ नि । कहिलेसम्म दलितले एक्लै लड्ने ?

महिला हिंसामा महिलामात्रै, बाल हिंसामा बाल अधिकारकर्मीमात्रै, दलितको मुद्दामा दलितमात्र एक्ला एक्लै लड्ने भए कसरी मेट्न सकिन्छ यो मानवतामाथिको कालो धब्बा ? आउनुहोस्, सबै मिलेर लडौं । आखिर हामी सबैको चाहना त हिंसा र विभेदरहित समाजको निर्माण त हो नि !

(वास्तविक नाम विक्रम परियार भएका लेखक कृषि क्याम्पस रामपुरमा विद्यार्थी हुनुहुन्छ)

Views: 44