4th August | 2020 | Tuesday | 8:10:55 AM

तालिवानसँग फेरि वार्ता हुन्छ : पोम्पेओ

एजेन्सी   POSTED ON : भदौ २४, २०७६ (१०:०४ AM)

तालिवानसँग फेरि वार्ता हुन्छ : पोम्पेओ

वासिंटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्तराज्य अमेरिका र अफगानिस्तानका विद्रोही तालिबान समूहसँग भविष्यमा पुनः वार्ता सुरु हुने विश्वास व्यक्त गरेका छन् । अमेरिकी टेलिभिजन फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री पोम्पेओले गत बिहीबार अफगानिस्तानमा तालिवानको कारबम आक्रमणका कारण एक अमेरिकी सैनिकको मृत्यु भएपछि हालका लागि वार्ता ‘मृत्यतुल्य’ भएको बताए । ‘मलाई विश्वास छ चाँडै वार्ता पुनः शुरु हुनेछ’, पोम्पेओले भने । उनले वार्ताका क्रममा तालिबान समूहले देखाएको लचकता व्यवहारमा नदेखिएको गुनासो गरे । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शनिबार अफगान विद्रोही तालिवान र अफगान सरकारका प्रतिनिधिसँग अमेरिकाको क्याम्प डेभिडमा आयोजना गर्न लागेको गोप्य बैठक एकपक्षीय रूपमा रद्द गरेका थिए । राष्ट्रपति ट्रम्पले तालिबान समूहले गत साता काबुलमा गराएको कारबम आक्रमणबाट एक जना अमेरिकी सैनिकसमेत १२ जनाको मृत्यु भएपछि वार्ता रद्द गरेको बताएका थिए । शनिबार ट्वीट गर्दै उनले अफगानी विद्रोही समूह तालिवानसँगको शान्ति प्रक्रिया पनि स्थगन गरिएको घोषणा गरेका छन् । आतंकवादी संगठन अल–कायदाले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा गरेको भीषण आक्रमणको वार्षिक स्मृति दिवसको पूर्वसन्ध्यामा यो कार्यक्रम आयोजना हुन लागेको थियो ।

एएफपीका अनुसार अमेरिकामा आक्रमणलगत्तै अल–कायदाका नेता ओसामा बिन लादेन लुकेर बसेको अफगानिस्तानमा अमेरिकाले आक्रमण गरी तत्कालीन तालिवानी सरकारलाई अपदस्थ गरेको थियो । अल–कायदा र तालिवानविरुद्ध सन् २००२ यता भएका कारबाहीका क्रममा अफगानिस्तानमा दुई हजार ४ सयभन्दा बढी अमेरिकी सैनिकको ज्यान गइसकेको छ । वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको छ । 

हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगानी सेनालाई तालीम, सल्लाह र हवाई सुरक्षा प्रदान गरिआएको छ ।

अफगान मामिलासम्बन्धी अमेरिकी विशेषदूत जाल्मे खलिलजादले हालैमात्र तालिवान समूहसँगको वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए । तर राष्ट्रपति ट्रम्पमाथि अफगान सरकार र केही अमेरिकी सांसदहरूले अमेरिकी सैनिक तत्काल फिर्ता गर्न नहुने भन्दै दबाब दिइरहेका थिए । ट्रम्पले ट्वीटमा भनेका छन्, ‘मुख्य तालिवान नेताहरू र अफगानिस्तानका राष्ट्रपतिसँग अलग्गै आइतबार क्याम्प डेभिडमा गोप्य भेटघाटको समय मिलाइएको थियो, र यसलाई गोप्य राखिएको थियो । उनीहरू संयुक्तराज्य अमेरिका आजै राति आउँदै थिए । दुर्भाग्यबस, उनीहरूले काबुलमा आक्रमण गरे जसका कारण एकजना बहादुर अमेरिकी सैनिक र अरू ११ जनाको मृत्यु भयो । मैले तत्कालै बैठक रद्द गरेँ र वार्ता प्रक्रिया रोकेको छु’, ट्रम्पले लेखेका छन् । 

तालिवान समूहले गत बिहीबार काबुलको अमेरिकी राजदूतावास नजिकै गरेको कारबम विष्फोटमा एक जना अमेरिकी सैनिक, नेटो सम्बद्ध एक रोमानियाली सैनिक र १० जना सर्वसाधारणको ज्यान गएको थियो । अमेरिका–तालिबान वार्ता जारी रहेकै अवधिमा पछिल्ला केही दिनदेखि तालिवानले देशव्यापी रूपमा शृंखलाबद्ध बम विष्फोट गराइरहेको छ । तालिबान समूहले अमेरिकाले वार्ता स्थगित गरेमा त्यसबाट अमेरिकालाई नै बढी क्षति हुने चेतावनी दिएको छ ।


Views: 182