4th August | 2020 | Tuesday | 7:35:55 AM

अमेरिकासँग वार्ताको वातावरण बनाउँदै चीन

रासस/एएफपी   POSTED ON : भदौ २६, २०७६ (९:३८ AM)

अमेरिकासँग वार्ताको वातावरण बनाउँदै चीन

बेइजिङ । चीनले अमेरिकासँग चाँडै गर्न लागेको व्यापार वार्ताअघि १६ किसिमका अमेरिकी सामानमा लगाइरहेको करमा छुट गरेको घोषणा गरेको छ । दुवै देशबीच अर्को महिना व्यापार वार्ता हुँदैछ । यी कर छुट आगामी सेप्टेम्बर १७ देखि लागू हुने चीनको भन्सार आयोगले जनाएको छ । 

छुट हुने वस्तुको सूचीमा सामुद्रिक खाद्य सामग्री र क्यान्सर प्रतिरोधी औषधिसमेत छन् । यो कर छुट एक वर्षसम्म कायम हुनेछ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सर्वाधिक चासोका रूपमा रहेको अमेरिकी सोयाबिन र सुँगुरको मासुको आयातमा लागेका कर यथावत् छन् ।

भन्सार विभागले बुधबार जारी गरेको विज्ञप्तिमा अरू अमेरिकी सामानमा कर छुट गर्दै जाने जनाइएको छ । दुबै देशबीच एक वर्षभन्दा बढी समयदेखि जारी व्यापार वार्तामा सहमति नभएपछि दुवै मुलुकले एकअर्काका अर्बौं डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । विश्व व्यापार र विश्व अर्थतन्त्रमै प्रभाव सिर्जना गरिरहेको यस व्यापार युद्धले विश्व बजारमा त्रासको वातावरण सिर्जना गरेको छ । 

चीनसँग व्यापार सम्झौता हुन नसकेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गतसाता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा कर वृद्धि गर्ने घोषणा गरेका थिए । अमेरिकातर्फ निकासी हुने कुल ५४० अर्ब बराबरका चिनियाँ सामानमा यसै वर्षको अन्त्यसम्ममा कर वृद्धि हुनेछ । ट्रम्पको घोषणापछि बेइजिङले पनि अमेरिकी सामानमा कर वृद्धि गरेको थियो । सेप्टेम्बर १ देखि लागू हुनेगरी चीनले ७५ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा कर बढाउने घोषणा गरेको थियो । 

सयौं अमेरिकी कम्पनी र व्यावसायिक समूहले नयाँ कर घोषणा नगर्न राष्ट्रपति ट्रम्पसमक्ष आग्रह गरेका थिए । उनीहरूको विचारमा कर वृद्धिले रोजगारी गुम्ने र उपभोक्ताले खरिद गर्ने सामान महँगो हुने भन्दै चिन्ता व्यक्त गरेका थिए । राष्ट्रपति ट्रम्पले अमेरिकामा चुनावी प्रचारका क्रममा सामानको मूल्य बढ्छ भनेर चिन्ता गर्ने अमेरिकी कम्पनी र व्यवसायीमा दृष्टिदोष रहेको बताएका थिए । उनले भनेका छन्, ‘राम्रोसँग नचलेका र कमजोर कम्पनीले मात्र यस्ता कुरा गरिरहेका छन् । उनीहरूको व्यवस्थापन पनि कमजोर छ ।’

चिनियाँ सामानमा कर वृद्धि गर्ने मिति सार्न गरिएको आग्रहलाई बेवास्ता गर्दै राष्ट्रपति ट्रम्पले कर वृद्धिसँगै चीनसँग वार्ता पनि हुँदै जाने बताएका छन् । उनले भनेका छनु, ‘हामीले चीनसँग कुराकानी गरिरहेका छौं । वार्ताका लागि मिति तोकिएको छ । एक अर्काबीच फोनमा संवाद भएका छन् । मेरो विचारमा सेप्टेम्बरमा वार्ता हुनेछ । वार्ताहरू रद्द भएका छैनन् । हेरौं के हुन्छ ।’ राष्ट्रपतिले चीनसँग व्यापार युद्ध मार्च २०१८ मा आरम्भ गरेका थिए । 

उनले चीनमाथि अस्वस्थ व्यापार रोक्न, अमेरिकी कम्पनीबाट जबर्जस्ती प्रविधि हस्तान्तरण गर्ने प्रावधान हटाउन तथा चिनियाँ कम्पनीलाई सरकारले दिने सरकारी अनुदान रोक्न दबाब दिइरहेका छन् । 

चिनियाँ पक्षले व्यापार वार्ता सकारात्मकरूपमा अघि बढेको भने पनि कुनै सम्झौता भएको छैन । दुवै मुलुकले एकअर्का देशका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अबरुद्ध भइरहेको छ । फ्रान्सको बियारिजमा सम्पन्न सात औद्योगिक राष्ट्रहरूको सम्मेलनमा सहभागी भएका राष्ट्रपति ट्रम्पले ‘चीनबाट फोन आयो, र उनीहरूको भनाई वार्ताको टेबलमा बसौं भन्ने छ । त्यही भएर हामी वार्तामा बस्न राजी भएका हौं ।’ राष्ट्रपति ट्रम्पले चिनियाँ अधिकारीका भनाइ निकै सकारात्मक रहेका र उनीहरू कुनै सम्झौता गर्न तत्पर रहेको देखिएको बताएका छन् । 

दुवै देशले एकअर्का मुलुकका सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा मन्दी आएको अध्ययनले देखाएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्षको अगष्टमा चीनमा अमेरिकी सामानको आयातमा २२ प्रतिशतले कमी आएको छ । चिनियाँ भन्सारका अनुसार संयुक्तराज्य अमेरिकातर्फको निकासी १६ प्रतिशतले घटेको छ । गत अगष्ट महिनामा करिब ४४ अर्ब अमेरिकी डलर बराबरका सामानमात्र अमेरिकातर्फ निकासी भएको छ ।


Views: 108