29th September | 2020 | Tuesday | 4:31:54 PM

ड्रोन आक्रमणपछि साउदीद्वारा तेल उत्पादनमा कटौती

रासस/एपी   POSTED ON : भदौ ३०, २०७६ (११:१७ AM)

ड्रोन आक्रमणपछि साउदीद्वारा तेल उत्पादनमा कटौती

दुबई । यमनका हुथी विद्रोहीहरूले गरेको ड्रोन आक्रमणबाट साउदी अरेबियाको तेल उत्पादन कारखानामा ठूलो क्षति पुगेको साउदी सरकारले जनाएको छ । आक्रमणका कारण विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाको तेल उत्पादन आधा कटौती भएको छ । ड्रोन आक्रमणबाट साउदी तेल कारखानामा ठूलो आगलागी भएको थियो, यद्यपि आगो नियन्त्रणमा ल्याइएको साउदी सरकारले जनाएको छ ।

केही महिनादेखि साउदी अरेबियाका तेलकुवा र कारखानाहरूमा हुथी विद्रोहीहरूले मानवरहित विमान (ड्रोन) बाट आक्रमण तीव्र बनाएका छन् । साउदी गठबन्धनले यमनका हुथी विद्रोहीलाई लक्षित गरी हवाई आक्रमण गरेको भन्दै प्रतिशोधस्वरूप हुथी विद्रोहीहरूले साउदी पूर्वाधारमा आक्रमण गरिरहेका छन् । साउदी अरेबियाका ऊर्जा मन्त्री अब्दुलाजिज बिन सल्मानले अब्काक तेल प्रशोधन केन्द्र र खुराइस तेल कुवामा क्षति पुगेका कारण दुबैबाट तेल उत्पादन अस्थायी रूपमा रोकिएको बताए । मन्त्री अब्दुलाजिजले जारी गरेको विज्ञप्तिमा दुबै ठाउँको आगो नियन्त्रणमा आइसकेको उल्लेख छ । मन्त्री अब्दुलाजिजको वक्तव्यमा करिब ५७ लाख ब्यारेल कच्चातेलको आपूर्ति कटौती भएको उल्लेख छ । तेल उत्पादन र आपूर्तिमा प्रभाव पर्ने वा नपर्ने विषयमा साउदी अरेबियाको मुख्य तेल कम्पनी साउदी आराम्कोले विश्लेषण गरिरहेको छ । 

इरान समर्थित हुथी विद्रोहीहरूले ड्रोन आक्रमणको जिम्मेवारी लिएका छन् । हुथी विद्रोहीहरूले हाल यमनको राजधानी सानासहित अधिकांश क्षेत्रमा नियन्त्रण कायम गरेका छन् । साउदी अरेबियाले सन् २०१५ देखि नै यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्दै हुथी विद्रोही विरुद्ध हवाई आक्रमण गरिरहेको छ । यस आक्रमणबाट यमनमा ठूलो जनधनको क्षति हुनुका साथै मानवीय संकट उत्पन्न भएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भने साउदी अरेबियामा भएको ड्रोन आक्रमण हुथी विद्रोहीले नभइ इरानले गरेको दाबी गरेका छन् । उनले ट्वीटमा भनेका छन्, ‘यो आक्रमण यमनबाट भएको कुनै प्रमाण भेटिएको छैन ।’ 

हुथी विद्रोहीका सैनिक प्रवक्ता याहिया सरीयाले साउदी अरेबियामा १० वटा ड्रोन आक्रमण गरिएको र त्यसका लागि सैनिक गुप्तचर सूचना साउदी अरेबियाबाटै प्राप्त गरेको दाबी गरेका छन् । उनले परिस्थितिमा सुधार ल्याउन साउदी सरकारले यमनमा जारी राखेको हवाई हमला तत्काल बन्द गर्नुपर्नेमा जोड दिए । इरानले यमनी विद्रोहीहरूलाई हातहतियार र ड्रोन आपूर्ति नगरेको बताउँदै आएको छ । तर राष्ट्रसंघ, पश्चिमा मुलुकहरू र अरब खाडी मुलुकहरूले यमनी हुथी विद्रोहीलाई आर्थिक, सैनिक र राजनीतिक समर्थन दिइरहेको बताइरहेका छन् । 

राष्ट्रसंघका अनुसन्धाताहरूका अनुसार हुथी विद्रोहीसँग रहेका ड्रोनले एक हजार ५ सय किलोमिटर दूरीसम्म यात्रा गर्न सक्दछ । यी ड्रोनबाट यमनका छिमेकी मुलुकहरू साउदी अरेबिया र युनाइटेड अरब ईमिरेट्ससम्म सहजै प्रहार गर्न सकिने राष्ट्रसंघको भनाइ छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी राजकुमार मोहम्मद बिन सल्मानलाई फोन गरी साउदी अरेबियाको प्रतिरक्षाका लागि अमेरिकाले जस्तोसुकै सहयोग गर्ने बताएको हृवाइट हाउसले जनाएको छ । 

यसैबीच साउदी अरेबियाका तेल उद्योगमा मानवरहितयन्त्र (ड्रोन) बाट भएको आक्रमणमा इरानको संलग्नता रहेको भन्ने अमेरिकाको भनाइ असत्य रहेको इरानले बताएको छ ।  इस्लामिक मुलुक इरानविरुद्ध आक्रमण गर्न अमेरिकाले पृष्ठभूमि तयार पार्न खोजेको इरानको भनाइ छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसबीले अमेरिकाले लगाएको आरोपमा बिल्कुलै सत्यता नरहेको र अर्थहीन रहेको बताएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गत शनिबार साउदी अरेबियामा भएको ड्रोन हमला इरानले गरेको आरोप लगाएका थिए । यमनका इरान समर्थित हुथी विद्रोहीहरूले उक्त हमलाको जिम्मेवारी लिएका छन् तर पोम्पेओले ड्रोन आक्रमण यमनबाट भएको भन्ने कुनै प्रमाण नभेटिएको दाबी गरेका छन् ।  


Views: 164