25th September | 2020 | Friday | 10:36:31 PM

अमेरिकामा मोदीको भव्य स्वागत

हिमालय टाइम्स   POSTED ON : आश्विन ६, २०७६ (१२:१४ PM)

अमेरिकामा मोदीको भव्य स्वागत

एजेन्सी । अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि त्यहाँ भव्य स्वागत समारोह आयोजना गरिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प मोदीका लागि आयोजना गरिएको सो कार्यक्रममा सहभागी भएका छन् । दुवै नेताबीच निकै राम्रो भलाकुसारी र परस्पर प्रशंसा भएको छ ।

‘हाउडी मोदी’ नाम दिइएको सो कार्यक्रममा दशौँ हजार भारतीय मूलका अमेरिकीहरू सहभागी भएका थिए । टेक्सास राज्यको ह्युस्टनमा आयोजित कार्यक्रममा दुवै नेताले सम्बोधन गरे ।

आयोजकहरूले अमेरिकामा पोपबाहेक अन्य विदेशी नेतालाई गरिएको त्यो नै अहिलेसम्मको सबैभन्दा भव्य स्वागत भएको बताएका छन् । करिब ५० हजार मानिस सहभागी कार्यक्रमलाई ट्रम्पले ‘पूर्णतया ऐतिहासिक कार्यक्रम’ भनी टिप्पणी गरे ।

कार्यक्रममा मोदीले भने आगामी चुनावमा पनि ट्रम्पकै सरकार बन्ने बताएका छन् । उनले भने, ‘हामीसमक्ष विशेष व्यक्ति उपस्थित हुनुहुन्छ । उहाँलाई कुनै परिचयको खाँचो छैन । विश्वका हरेक व्यक्तिले उहाँको बारेमा जान्दछन् । यो महान् देशको सबैभन्दा उच्च पदमा बस्नुअघि पनि हरेक मानिस उहाँबारे परिचित थिए । उहाँको स्वागत गर्नु मेरा लागि सम्मानको विषय हो ।’ ट्रम्पसँग आफूले कैयौँ पटक भेट गरेको र उनमा आत्मीयता पाएको मोदीको भनाइ थियो ।

ट्रम्पले कार्यक्रममा उपस्थित भारतीय मूलका अमेरिकी समुदायलाई धन्यवाद दिए । ट्रम्पले मोदीलाई अमेरिकाको एक अति निष्ठावान्, इमान्दार र महान् मित्रको सङ्ज्ञा दिएका छन् । मोदीसँग एउटै कार्यक्रममा सहभागी हुँदा आफू रोमाञ्चित भएको उनले बताए ।

‘भारत र अमेरिकाको साझा सपनालाई लिएर म र नरेन्द्र मोदी कुराकानी गरिरहन्छौँ । भारतीय अमेरिकीले हाम्रो देशको संस्कृति र मूल्यलाई बलियो बनाएका छन्,’ ट्रम्पले भने, ‘तपाईँहरूलाई अमेरिकी नागरिकको रूपमा पाएर हामी गौरवान्वित छौँ । हामी दुवै देश आफ्ना नागरिकप्रति समर्पित छौँ । आफ्ना नागरिकको रक्षा गर्न हामीले सीमाको रक्षा गर्नुपर्छ । अमेरिका र भारतको निम्ति सीमाको सुरक्षा कति महत्त्वपूर्ण छ भन्ने कुरा हामीलाई थाहा छ ।’


Views: 231