7th August | 2020 | Friday | 9:51:20 PM

पेरिस सम्झौताबाट अमेरिका बाहिरियो

रासस/सिन्हृवा   POSTED ON : कार्तिक २०, २०७६ (१०:१९ AM)

पेरिस सम्झौताबाट अमेरिका बाहिरियो

न्यूयोर्क । संयुक्तराज्य अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अलग्गिएको राष्ट्रसंघलाई औपचारिक जानकारी गराएको छ । केही वर्षअघि फ्रान्सको राजधानी पेरिसमा जलवायू परिवर्तनका लागि एकताबद्ध भएर लड्ने भन्दै विश्वका नेताको सहभागितामा बनाइएको पेरिस सम्झौताबाट अलग्गिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू निर्वाचित भएलगत्तै घोषणा गरेका थिए । प्राप्त समाचारनुसार यस प्रयोजनका लागि संयुक्तराज्य अमेरिकाले संयुक्त राष्ट्रसंघलाई मंगलबार औपचारिक पत्र पठाएको हो । 

यस निर्णयसम्बन्धी आफ्नो जानकारीका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसलाई मंगलबार पत्र लेखेर औपचारिकरूपमै जानकारी गराएको राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ताले अमेरिकाले पत्र लेखेको पुष्टि गरेका छन् । महासचिव गुटर्रेसले संयुक्तराज्य अमेरिकाले सन् २०१५ डिसेम्बर १२ मा गरेको पेरिस सम्झौताबाट हट्न अमेरिकाले पठाएको पत्र प्राप्त गरेको राष्ट्रसंघले जनाएको छ । अमेरिकाले उक्त सम्झौतामा भएका प्रावधानको पालना गर्न नसक्ने भन्दै आएकोमा नोभेम्बर ४ देखि आफू अब सो सम्झौताबाटै पछि हटेको औपचारिकरूपमा पत्र आएको प्रवक्ताले जानकारी दिए । यस सम्झौतामा भएका कतिपय प्रावधानका कारणले अमेरिकालाई अनावश्यकरूपमा आर्थिक भार थपेको अमेरिकाको भनाइ थियो । यसैकारण देखाएर अमेरिकाले सो सहमतिको कार्यान्वयनमा जान नसक्ने बताउँदै आएको थियो । 

सन् २०१५ मा सम्पन्न भएको सो सम्झौतामा अमेरिकाले सन् २०१६ को अप्रिल २२ मा हस्ताक्षर गरेको थियो । करिब एक महिनाअघि नै अमेरिकाको यस योजनाबारे संयुक्त राष्ट्रसंघलाई अमेरिकाले जानकारी गराएको थियो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले राष्ट्रसंघलाई यस बारेमा औपचारिकरूपमा नै जानकारी दिएका थिए । जालवायु परिवर्तनका क्षेत्रमा ऐक्यबद्ध भएर लड्ने प्रतिबद्धता व्यक्त भएको सो सम्झौतामा विश्वका अमेरिकासहितका विश्वका १८८ देश सहभागी छन् । 

राष्ट्रसंघीय प्रवक्ताले अमेरिकाले दिएको सो पत्र प्राप्त भएकोले राष्ट्रसंघले सोही बमोजिम काम गर्ने भन्दै यही नोभेम्बर ४ देखि नै अमेरिका सो सम्झौताबाट अलग भएको कुरा प्रावधान कार्यान्वयनमा आउने जानकारी दिएका छन् । 

फ्रान्सका राष्ट्रपतिद्वारा दुःख व्यक्त

यसैबीच समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट पछि हट्ने गरी मंगलबार संयुक्त राष्ट्रसंघसमक्ष औपचारिकरूपमै पत्राचार गरेपछि फ्रान्सले सो निर्णयप्रति दुःख व्यक्त गरेको छ । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याँक्रोले अमेरिकाको सो निर्णयले आफूलाई दुःख लागेको कुरा मंगलबार चीनमा बताएका हुन् । 

चीनको औपचारिक भ्रमणका क्रममा रहेका उनले अमेरिकाको यो निर्णयपछि जलवायु परिवर्तनका क्षेत्रमा अब चीन र फ्रान्सको विशेष साझेदारिता आवश्यक रहेको धारणा पनि राखेका छन् । राष्ट्रपति म्याँक्रोले भने, ‘अमेरिकाको यो निर्णयले हामीलाई निकै दुःख लागेको छ र मलाई लाग्छ अब विश्वमा जलवायु परिवर्तन तथा जैविक विविधताको क्षेत्रमा फ्रान्स र चीनको अलग्गै साझेदारिताको आवश्यकता रहेको छ ।’ 

चीन भ्रमणका क्रममा आफू र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच जलवायु परिवर्तनका विषयमा विशेष सम्झौता हुने पनि बताइएको छ । बुधबार द्विपक्षीय वार्ताका क्रममा हुने सो सम्झौता जलवायू र जैविक विविधताका क्षेत्रमा अपरीहार्य विषय रहेको पनि सो समाचारमा जनाइएको छ । यस निर्णयसम्बन्धी पत्राचार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसलाई मंगलबार औपचारिकरूपमै गरेको बताइएको छ ।


Views: 135