3rd August | 2020 | Monday | 6:24:30 PM

बुलबुल आँधीबाट २० जनाको मृत्यु

रासस/एएफपी   POSTED ON : कार्तिक २६, २०७६ (११:०१ AM)

बुलबुल आँधीबाट २० जनाको मृत्यु

खुल्ना । बंगलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने व्यक्तिको संख्या २० पुगेको बंगलादेशका अधिकारीहरूले जनाएका छन् । आँधी प्रभावित २० लाखभन्दा बढी व्यक्तिलाई अस्थायी शिविरमा राखिएको छ । करिब १२० किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ः३० बजे भारतको पश्चिम बंगालबाट बंगलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आएको आँधीका कारण दुवै देशका बन्दरगाह र विमानस्थल बन्द गर्न बाध्य पारेको बताइएको छ । 

बुलबुलबाट भारतको पश्चिम बंगाल राज्यमा दशजनाको मृत्यु भएको प्रेस ट्रष्ट अफ इण्डिया (पिटिआई)ले जनाएको छ । अन्य दुईजनाको ओडिशा राज्यनजिकै मृत्यु भएको छ । बंगलादेशमा कम्तीमा आठजनाको मृत्यु हुनुका साथै अन्य २० घाइते भएका छन् । बंगलादेशको दक्षिणी टापु भोलानजिकै रहेको मेघना नदीमा माछा मार्न गएका पाँचजना माझी हराइरहेका जिल्ला प्रशासक मसूद आलम सिद्दीकीले एएफपीलाई बताएका छन् । बुलबुलबाट प्रायः माटो र जस्तापाताले बनाएका करिब चार हजार घरमा क्षति पुगेको प्रकोप व्यवस्थापन सचिव शाह कमलले बताएका छन् । बंगलादेशको मौसम विज्ञान विभागका अधिकारी डा अबुल कलाम मलिकले बुलबुल आँधीले आइतबार नै बंगलादेशको दक्षिणपश्चिमी तटीय क्षेत्र पार गरिसकेको जनाएका छन् । 


Views: 112