7th August | 2020 | Friday | 8:35:30 PM

साउदी तेल भण्डार किन छ रहस्यमय ?

बीबीसी   POSTED ON : कार्तिक २९, २०७६ (१०:२१ AM)

साउदी तेल भण्डार किन छ रहस्यमय ?

रियाद । १९ औं शताब्दीको मध्यमा तेल उद्योगको जब उभार आयो त्यो बेलादेखि संसार ऊर्जा स्रोतको केन्द्रमा छ । 

तेलकै कारण युद्ध पनि भए र आज पनि यसको आपूर्ति नियन्त्रणका लागि संसारका शक्तिशाली देशहरूमा टकराव जारी छ । आधुनिक समयमा तेल ऊर्जाको स्रोतमात्र होइन, युद्ध र टकरावको स्रोत पनि हो । मध्यपूर्वको साउदी अरब, इरान, इराक, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई)मा सबैभन्दा ठूलो तेल भण्डार छ । यी तेल भण्डार १९ औं शताब्दीको मध्यमा फेला परेका थिए र अझै पनि यहाँ तेल भेटिने सम्भावना सकिएको छैन । हालै पाकिस्तानको कराचीस्थित तटीय क्षेत्रमा करोडौं डलर खर्च गरेर तेल र ग्यासको उत्खनन प्रयास गरिएको थियो तर भेटिएन ।

तर, गएको हप्ता आइतबार इरानका लागि महŒवपूर्ण रहृयो । इरानका राष्ट्रपति हसन रुहानीले देशको दक्षिण–पश्चिम प्रान्तमा तेलको एक विशाल भण्डार फेला परेको घोषणा गरे । चौतर्फी प्रतिबन्ध भोगिरहेको इरानका लागि यो सुखद् समाचार हो । यो तेल क्षेत्र इरानको २,४०० किलोमिटर क्षेत्रमा फैलिएको छ । इरानका राष्ट्रपतिका अनुसार यो क्षत्र इरानको खुजेस्तान प्रान्तमा छ ।

६५ अर्ब व्यारेल भएको इरानको अहवाज तेल क्षेत्रपछि यो दोस्रो सबैभन्दा ठूलो तेल क्षेत्र हुनेछ । इरानसँग कुल प्रमाणित तेल भण्डार १५५.६ अर्ब व्यारेल हो । नयाँ खोजपछि इरानको कुल तेल भण्डारमा ३४ प्रतिशत बढ्नेछ । अमेरिकी अध्ययनअनुसार इरान संसारको चौथो ठूलो तेल भण्डार र दोस्रो ठूलो ग्यास भण्डार भएको मुलुक हो ।

साउदीको तेल भण्डारको रहस्य

साउदीको तेल भण्डार गएका पाँच दशकदेखि विशेषज्ञहरूका लागि कुनै रहस्यभन्दा कम छैन । तेल निर्यातक देशहरूको संगठन ओपेकलाई साउदीले अनुमानित तेल भण्डारबारे जानकारी दिएको छ । उसका अनुसार साउदीको तेल भण्डार २६६ अर्ब व्यारेल छ । ओपेकले २०१५ मा यो जानकारी दिएको थियो । यदि यो तथ्यांक सही हो भने औसत १.२ करोड व्यारेल प्रतिदिन उत्पादका हिसाबले साउदीको तेल भण्डार आगामी ७० वर्षमा सकिनेछ तर आधिकारिक तथ्यांकका लागि धेरै शंका छ । यसको कारण के हो भने १९८७ मा साउदीले आफ्नो तेल भण्डार १७० अर्ब व्यारेल बताएको थियो, जसलाई १९८९ मा बढाएर २६० अर्ब व्यारेल बनाइयो । स्टाटिस्किल रिभ्यु अफ वल्र्ड एनर्जी २०१६ को प्रतिवेदनअनुसार साउदीले ९४ अर्ब व्यारेल तेल बेचिसकेको छ तर पनि उसको आधिकारिक भण्डार २६० देखि २६५ अर्ब व्यारेल छ । यदि सरकारको तथ्यांक सही हो भने यसको मतलब साउदीले तेलको नयाँ कुवा खोजेको छ वा अनुमानित भण्डार बढाएको छ । अनुमानित भण्डार बढाउने आधार हुन सक्छ, जुन कुवाबाट तेल उत्पादन भइरहेको छ, त्यहाँ अरू तेल छ वा हालसम्म जति तेल निकालिएको छ, त्यसको फेरि आपूर्ति भएको हुनसक्छ ।

तर, साउदीमा १९३६ देखि १९७० को अवधिमा नै तेल भण्डारको विशाल र चर्चित कुवाको खोजी भएको थियो । यसपछि साउदीले तुलनात्मकरूपमा तेलको खोजी गरेको छैन । समस्या के छ भने जहाँ जहाँ तेल उत्पादन भइरहेको छ, त्यसको लेखाजोखा र अनुमानित भण्डारलाई सरकारले गोप्य राखेको छ । यसको जानकारी केही मानिसहरूलाई मात्र हुन्छ । यस्तो अवस्थामा कुनै तथ्यलाई पुष्टि गर्न सम्भव छैन । तेल विश्लेषकहरू पनि साउदीको तेल उत्पादन कहिले घट्छ भन्ने प्रश्नको उत्तर विश्वासिलो रूपमा दिन सक्दैनन् । साउदी हाल सबैभन्दा धेरै तेल उत्पादन गर्छ । यसले त्यो भविष्यवाणीलाई झट्का लाग्यो, जसमा उच्च विन्दुमा पुगेपछि साउदीको तेल उत्पादन घट्ने बताइएको थियो ।

अनुमानित भण्डार

भविष्यमा तेल उत्पादनको क्षमता थाहा पाउने फरकफरक तरिका हुन सक्छन् । तेल उद्योगमा काम गर्ने मानिसको संख्याबाट पनि अनुमान लगाउन सकिन्छ । तेल भण्डारलाई बुझ्नका लागि एक माध्यम के पनि छ भने, उत्पादन सुरु हुनुभन्दा पहिला तेलको खजना कति ठूलो थियो हेर्न सकिन्छ ।

उत्पादन सुरु हुनुभन्दा पहिला तेलको खजानाको मतलब ओरिजनल ओइल इन प्लेस (ओओआइपी)सँग छ । १९७० को दशकमा साउदीले ५३० व्यारेलको ओओआइपीको खोजी गरेकोमा आम सहमति थियो । अनुमानित ओओआइपीको जानकारी अन्तर्राष्ट्रिय आर्थिक नीतिबारे अमेरिकी सिनेटको उपसमितिलाई साउदी र अमेरिकी तेल कम्पनी अरामकोतर्फबाट जानकारी दिइएको थियो । त्यस बेला अरामको चार अमेरिकी कम्पनी र साउदीको साझा कम्पनी थियो । यस्तो अवस्थामा जानकारी साझा गरिन्थ्यो ।

१९८० देखि अरामकोको स्वामित्व साउदीमा मात्र छ । १९८२ देखि कम्पनीसँग तेल भण्डारको फिल्डबारे जानकारी हुन्थ्यो । त्यसलाई गोपनीय बनाइयो । त्यसपछि साउदीले ओपेकलाई प्रमाणिक भण्डारबारे जानकारी दिन सुरु गर्यो ।

साउदीले ओपेकलाई प्रमाणिक तेल भण्डार १६८ देखि १७० अर्ब व्यारेल भएको बताएको थियो । साउदीको यो तथ्यांक अरामकोले आफ्ना साझेदारलाई केही वर्ष पहिला दिएको तथ्यांकभन्दा धेरै हो । अरामकोले प्रमाणिक तेल भण्डार ११० अर्ब व्यारेल भनेको थियो तर अरामकोले सम्भावित तेल भण्डारको जानकारी अमेरिकी सिनेटलाई दिएको थियो, त्यसको नजिक छ । तथ्यांकमा देखिएको फरकले केही प्रश्नहरू उठ्छन् ।

१९८८ मा प्रमाणिक तेल भण्डार एकपटक फेरि बढाएर २६० अर्ब व्यारेल भनियो । नयाँ तेल कुवाको खोजी नगरिकन तेल भण्डार बढाइयो । यो तथ्यांक अरामकोले आफ्ना साझेदारलाई दिएको भन्दा निकै धेरै हो ।


Views: 199