30th September | 2020 | Wednesday | 3:11:28 AM

‘पिओके’ हिमपहिरोमा ६२ को मृत्यु, २८ बेपत्ता

रासस/सिन्हृवा   POSTED ON : माघ २, २०७६ (१०:०८ AM)

‘पिओके’ हिमपहिरोमा ६२ को मृत्यु, २८ बेपत्ता

इस्लामावाद । पाकिस्तान नियन्त्रित कश्मीर (पिओके) क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ । घटनाका कारण अरू ५३ जना घाइते भएका र २८ जना हराइरहेका अधिकारीले जानकारी दिएका छन् । उनीहरूका अनुसार कुल ५८ ओटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने अरू ८२ ओटा घरमा पनि आंशिक क्षति भएको छ । 

प्रकोप व्यवस्थापन कार्यालयका अधिकारीले घटनास्थलबाट थप विवरण आउने क्रम जारी रहेको र खोजी तथा उद्धार कार्य भइरहेको जनाएका छन् । देशको निलम उपत्यकामा सबैभन्दा धेरै हिमपात र वर्षाको असर परेको छ । त्यस क्षेत्रमा मात्रै ५९ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् । उनीहरूका अनुसार निलम उपत्यकामा मात्रै ५३ जना घाइते भएका छन् भने ५० भन्दाबढी घर क्षतिग्रस्त भएका छन् । हराइरहेका २८ जनाको पनि खोजी भइरहेको जनाइएको प्रकोप व्यवस्थापन कार्यालयका अहमद राजा क्वाद्रीले जानकारी दिए । उनले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने पनि बताए । कश्मीरमा कैयौँ हिउँपहिरो गएका विवरण आएको उनको भनाइ छ । वर्षा र हिमपात भएको क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध भएका छन् । कैयौँ मानिस विभिन्न ठाउँमा फसेको जनाइएको छ ।

उक्त क्षेत्रमा विगतमा पनि बेलाबेलामा प्राकृतिक विपद् आइपरिरहने भए पनि यसपटकको विपद् निकै घातक भएको छ । खराब मौसमले पाकिस्तानका अन्य भागमा दर्जनौँको ज्यान गएको र छिमेकी मुलुक भारत, अफगानिस्तानलगायत देशमा पनि प्रभाव परेको समाचारमा जनाइएको छ ।


Views: 562