30th September | 2020 | Wednesday | 6:59:23 AM

ट्रम्पलाई भारतमा भव्य स्वागतको तयारी

एजेन्सी   POSTED ON : फाल्गुन २, २०७६ (११:३९ AM)

ट्रम्पलाई भारतमा भव्य स्वागतको तयारी

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पले भारतको भ्रमण गर्दैछन् । उनीहरूको स्वागतको तयारी भारतमा धुमाधाम भइरहेको छ । ट्रम्प यही फेब्रुअरी २४ देखि २५ सम्म भारतमा हुनेछन् । यस दुईदिवसीय भ्रमणका क्रममा ट्रम्प भारतको अहमदावाद पनि जानेछन् । 

जसरी अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत भएको थियो, त्यसरी नै ट्रम्पको स्वागत भारतमा गर्ने तयारी भइरहेको छ । यसैका लागि हृयुष्टनमा ‘हाउडी मोदी’ जस्तै ‘केम छो ट्रम्प’ कार्यक्रमको आयोजना गरिने छ । 

गुजराती भाषाको ‘केम छो ट्रम्प’ को नेपाली अर्थ ‘तपाईं कस्तो हुनुहुन्छ ट्रम्प?’ भन्ने हुन्छ । यसै कार्यक्रमबाट ट्रम्पले भारतीय जनतालाई सम्बोधन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी पनि साथमै रहने जनाइएको छ । तर, अहमदावादमा राष्ट्रपति ट्रम्पको सवारीसाधनको लावालस्कर जाने सडकमा पर्ने एक झोपड वस्तीलाई लुकाउन पर्खाल बनाउन लागिएपछि यसको विरोध भइरहेको छ । यो झोपड बस्ती विमानस्थलबाट साबरमती आश्रमको सडकमा पर्छ । स्थानीयहरू सरकारको यो पर्खाल बनाउने निर्णयसँग असन्तुष्ट छन् र विरोध गरिरहेका छन् । 

स्थानीय पत्रिकामा यो समाचार प्रकाशित भएपछि त्यहाँ विरोध भइरहेको छ । मुख्य सडकको छेउमै रहेको झोपड वस्तीलाई लुकाउन ६ देखि ७ फिट अग्लो पर्खाल बनाउन लागिएको छ र यो पर्खाल करिब ५ सय मिटरको हुने जनाइएको छ । बिबिसीका संवाददाता तेजस वैद्यले अहमदावादको इन्दिरा ब्रीजसँगै रहेको सरणियावास क्षेत्रबाट अमेरिकी राष्ट्रपति ट्रम्पको लावालस्कर जाने छ बताए । यसै वस्तीमा करिब २ हजार ५ सय मानिस बस्छन् ।

स्थानीयले सरकारले गरिबी लुकाउन खोजेको भन्दै विरोध गरिरहेका छन् । उनीहरूले यो बस्तीले सरकारलाई समस्या भए पक्का घर बनाइदिनुपर्ने बताउँछन् । सो बस्तीमा बस्ने कमलाबेन भन्छिन्, ‘दुईतीन दिनबाट काम भइरहेको छ । यो पर्खाल बनेपछि हाम्रो बस्ती घेरिनेछ । हावा पानी बन्द हुनेछ । यहाँ न ढल छ, बिजुली न पानी छ । अँध्यारोमा बस्न बाध्य छौँ । सानो बाटो यस्तो छ कि मानिस लड्दै हिँड्नुपर्छ । घुँडासम्म पानी भरिन्छ ।’ 

एक अन्य स्थानीय महिलाले यो पर्खाल नबनाए अमेरिकी राष्ट्रपतिले आफूहरूको समस्या देख्न सक्ने बताइन् । तर, सरकारले वास्ताविकता लुकाउन खोजेको उनले बताइन् । यो क्षेत्र विमानस्थल नजिकै छ । प्रायः महŒवपूर्ण व्यक्तिहरूको आगमनमा कपडाले यो क्षेत्रलाई ढाकिन्थ्यो । तर, यसपटक सरकारले पर्खाल बनाएर यो क्षेत्रलाई पूर्णरूपमा लुकाउने काम सुरु गरेको छ । एक महिलाले भनिन्, ‘यो पर्खाल बन्नुहुँदैन । यदि, प्रधानमन्त्री मोदीलाई यो झोपड बस्ती मन पर्दैन, हाम्रो गरिबी देखिन्छ भने पक्का घर बनाएर दिऊन् ।’ स्थानीयहरूले सरकारले यहाँ पर्खाल बनाएर बाटोसमेत बन्द गरिदिएको बताएका छन् । चुनावको समयमा नेताहरू आउँछन् तर जितेपछि भने फर्किँदैनन् । यो वस्तीमा शौचालय, विद्युत्, र पानीको सुविधा पनि छैन । यहाँका केही गल्ली त हिँड्न लायक पनि छैनन् । 

गएको सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्र डोनल्ड ट्रम्पले हृयुष्टनम करिब ५० हजार भारतीय मुलका र अमेरिकी नागरिकलाई सम्बोधन गरेका थिए । अहमदावादमा पनि यस्तै प्रकारको कार्यक्रम गर्न लागिएको छ । समाचारअनुसार मोदी र ट्रम्पले हालै मोटेरा क्षेत्रमा बनेको सरदार वल्लभ भाइ क्रिकेट स्टेडियमको उद्घाटन पनि गर्नेछन् । एक अनुमानअनुसार यो क्रममा त्यहाँ करिब एक लाख मानिस उपस्थित रहनेछन् ।


Views: 139