30th September | 2020 | Wednesday | 5:04:04 AM

कोरोना भाइरस संक्रमण मृतकको संख्या १३ सय नाघ्यो

एजेन्सी   POSTED ON : फाल्गुन २, २०७६ (११:४३ AM)

कोरोना भाइरस संक्रमण मृतकको संख्या १३ सय नाघ्यो

बेइजिङ  । कोरोना भाइरसबाट बढी संक्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको वुहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ । हुबेइ प्रान्तको वुहानबाट गत वर्षको अन्त्यतिरबाट यसको संक्रमण सुरु भएको यो भाइरसबाट हुने संक्रमणलाई हालैमात्र वैज्ञानिकले ‘कोभिड–१९’ नाम दिएका छन् । 

प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको संख्यामा पनि वृद्धि भइरहेको बताइएको छ । पछिल्ला केही दिनमा नयाँ संक्रमण भएका मानिसको संख्यामा ठूलो मात्रामा वृद्धि भएको बताइएको छ । वुहानमा मात्र थप १४ हजार ८ सय ४० जनामा यस भाइरसको संक्रमण भएको पुष्टि भएको पछिल्लो समाचारमा जनाइएको छ । 

बुधबार भएको यस मृत्युसँगै मृतकको कुल संख्या बुधबारसम्म १ हजार ३ सय ५० पुगेको चिनियाँ अधिकारीले जानकारी दिएका छन् । उनीहरूका अनुसार पछिल्लो समयमा निको भएर फर्र्किएका बाहेक हाल संक्रमण भई उपचार गराइरहेका बिरामीको संख्या झण्डै ६० हजार पुगेको छ । यस संक्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिष्ट पार्टीले जनाएको छ । उक्त पार्टीले हुबेइ प्रान्तका सचिवलाई हटाएको बताएको छ । 

उक्त पार्टीले त्यस स्थानमा चीनको सांघाइका पार्टी प्रमुखलाई पठाएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । केही दिनअघिमात्र पनि सरकारले स्वास्थ्य सेवाबाट केही अधिकारीलाई पदमुक्त गरेको जनाइएको थियो ।

स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार हाल चीनमा संक्रमित भएका बिरामीमध्ये करिब ८० प्रतिशत हुबेइ प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ । यस संक्रमणबाट वुहानमा ज्यान गुमाएका २४२ जनामध्ये १३५ मा त्यसरी नै रोगको पुष्टि गरिएको थियो । हालसम्म यस प्रान्तमा मात्र संक्रमण भएका व्यक्तिको संख्याया ४८ हजार २ सय ६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । 

उता विश्व स्वास्थ्य संगठनले भने चीनमा देखापरेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ । जेनेभामा आयोजित एक कार्यक्रममा उक्त संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताएका छन् ।


Views: 144