15th August | 2020 | Saturday | 6:42:03 PM

घानी राष्ट्रपतिमा निर्वाचित, विपक्षीद्वारा धाँधलीको आरोप

  POSTED ON : फाल्गुन ७, २०७६ (६:३७ PM)

घानी राष्ट्रपतिमा निर्वाचित, विपक्षीद्वारा धाँधलीको आरोप

काबुल (एजेन्सी) । अफगानिस्तानको निर्वाचन आयोगले सेप्टेम्बर २८ मा भएको राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा घोषणा गरेको छ । ५ महिनापछि आयोगले घोषणा गरेको नतिजाअनुसार राष्ट्रपति मोहम्मद अशरफ घानीलाई दोस्रो कार्यकालका लागि विजयी भएका छन् । आयोगले मंगलबार साँझ मतपरिणाम सार्वजनिक गरेको थियो । 

‘मोहम्मद अशरफ घानीले राष्ट्रपति चुनावमा ५०.६४ प्रतिशत मत प्राप्त गर्नुभएको छ त्यसैले स्वतन्त्र निर्वाचन आयोगले उहाँलाई अफगानिस्तानको निर्वाचित राष्ट्रपतिको रूपमा घोषणा गर्दछ’, निर्वाचन आयोगका प्रमुख हवा आलम नुरिस्तानीले एक पत्रकार सम्मेलनमा भने । घानीको प्रतिद्वन्द्वी र उनको राष्ट्रिय एकता सरकारका प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्ला ३९.५२ प्रतिशत मतसाथ घानीका निकटतम प्रतिद्वन्द्वी बनेको आयोगले जनाएको छ । २००१ को अन्तमा तालिबानी शासनको पतनपछि अफगानिस्तानको चौथो राष्ट्रपति चुनाव सेप्टेम्बर २८ मा कडा सुरक्षाबीच सम्पन्न भएको थियो भने एक दर्जन भन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

राष्ट्रपति चुनावको प्रारम्भिक नतिजा डिसेम्बरमा घोषणा गरिएको थियो जसमा घानी पहिलो स्थानमा थिए र उनका प्रतिद्वन्द्वी अब्दुल्ला दौडमा दोस्रो स्थानमा नै थिए । मतदानका लागि ९४ लाख मतदाता योग्य मानिए पनि मतदानमा १९ लाखको सहभागिता रहेको थियो । अधिकांश ग्रामिण इलाका र तालिवान विद्रोही नियन्त्रित सहरहरूमा पनि निकै थोरै मतदाताले भोट हालेका थिए।

उता अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग (आइइसी)ले राष्ट्रपति पदको अन्तिम नतिजा घोषणा गरेको केही घण्टापछि देशका मुख्य कार्यकारी अधिकारी (सीइओ) अब्दुल्ला अब्दुल्लाले उक्त चुनावी नतिजा अस्वीकार गरेको घोषणा गरेका छन् । उनले आफूले जीत हासिल गरेको दाबी गर्दै सबै पक्षको सहभागितामा “समावेशी सरकार” गठन गर्ने बताएका छन् । आइइसीले घानी निर्वाचित भएको घोषणा गरेको थियो । निर्वाचन आयोगले चुनावी नतिजा सार्वजनिक गरेलगत्तै अब्दुल्लाले विज्ञप्ति जारी गरी विवादित मतसम्बन्धी आयोगको निर्णय “अवैधानिक” रहेको र त्यो स्वीकार्य नरहेको बताए । उनले चुनावी नतीजा प्रजातन्त्रको विरूद्धको कदम हो र आफूले त्यसलाई स्वीकार्न नसक्ने बताए । “यो राष्ट्रद्रोह हो,” अब्दुल्लाहले भने । उनले स्वतन्त्र र स्वच्छ मतदानमा आफू विजयी रहेको दाबी गर्दै भने, ‘हामी हाम्रो “जीत” घोषणा गर्छौं ।’ उनले आफूले समावेशी सरकार गठनको घोषणा गर्ने बताए । गत वर्ष सेप्टेम्बरको चुनावमा तालिबानले यस प्रक्रियालाई अवरुद्ध पार्ने धम्कीका बीचमा सम्पन्न भएको थियो । तालिबान समूहले राष्ट्रपतिको चुनावलाई बहिस्कार गरेका थिए ।


Views: 158