25th September | 2020 | Friday | 10:22:50 PM

ट्रम्पलाई कोरोना संक्रमण देखिएन

रासस/एएफपी   POSTED ON : चैत्र ३, २०७६ (११:२२ AM)

ट्रम्पलाई कोरोना संक्रमण देखिएन

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण नदेखिएको अमेरिकी स्वास्थ्य अधिकारीले बताएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना संक्रमित रहेका व्यक्ति संलग्न केही कार्यक्रममा सहभागी भएका कारण उनीमाथि पनि कोरोना संक्रमण भएको आशंका गरिएको थियो । 

खासगरी कोरोना संक्रमित ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो र उनको प्रतिनिधिमण्डलका सदस्यको अमेरिकाको फ्लोरिडा भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता भएपछि यस्तो शंका गरिएको थियो । राष्ट्रपतिको स्वास्थ्य परीक्षणमा संलग्न फिजिसियन सिन कोन्लीले राष्ट्रपति ट्रम्पले स्वास्थ्य परीक्षण गर्न स्वीकारेको र रिपोर्टमा कोरोना संक्रमण नदेखिएको बताए ।

संयुक्तराज्य अमेरिकामा कोराना संक्रमणबाट कम्तीमा ५१ जनाको मृत्यु भएपछि राष्ट्रपति ट्रम्पले स्वास्थ्य आपत्काल घोषणा गरेका छन् । देशभरका स्कुल र कलेज बन्द गर्नुका साथै लाखौं मानिसलाई घरबाटै काम गर्न भनिएको छ ।

अमेरिकी सहर न्यूयोर्कमा शनिबार एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यहाँ डिपार्टमेण्टल स्टोरमा सामानको अभाव हुनुका साथै शनिबार मानिस सामान खरिद गर्न तँछाडमछाड गरेका दृश्य देखिएको छ । 

उपराष्ट्रपति माइक पेन्सले संयुक्तराज्य अमेरिका भ्रमण गर्न चाहनेका लागि थप कडाइ गर्नुपरेको बताए । उनले मंगलबारदेखि लागु हुने गरी बेलायत र आयरल्याण्डमाथि पनि यात्रा प्रतिबन्धको घोषणा गरे । अब कुनै पनि युरोपेली मुलुकबाट अमेरिका यात्रा गर्न नपाइने अवस्था सिर्जना भएको छ । 

अमेरिकी विमानस्थलमा यात्रुहरूमाथि कडा जाँच गर्नुपरेकाले विमानस्थलमा भीडभाड देखिएको छ । मानिसलाई सम्पूर्ण जाँच प्रक्रिया पूरा गर्न घण्टौं लाइनमा बस्नुपरेको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाको प्रसार तीव्र भएलगत्तै आपत्कालको घोषणा गर्नुका साथै विपत् राहतका लागि ४० अर्ब अमेरिकी डलरको राहत घोषणा गरेका छन् ।

अमेरिकी संसद्ले पनि निःशुल्क भाइरस परीक्षण गर्न तथा आपत्कालीन तलबी बिरामी बिदा र पारिवारिक बिदाका लागि उक्त रकमबाट व्यवस्था गर्ने गरी राष्ट्रपतिको प्रस्तावलाई अनुमोदन गरेको छ । उक्त प्रस्तावलाई सिनेटले पनि अनुमोदन गर्ने विश्वास गरिएको छ । 

कोरोना संक्रमणका कारण विश्वका १ सय ३७ देशका पाँच हजार ८ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । 

अष्ट्रियामा ५ जनाभन्दा बढी भेला हुन रोक

भियना । अष्ट्रियामा कोरोना भाइरसको संक्रमण बढ्ने क्रम तीव्र हुन थालेको भन्दै रोकथामका कडा उपायलाई अवलम्बन गर्न नागरिकलाई सरकारले आग्रह गरेको छ । सरकारले आइतबार एक निर्देशन जारी गर्दै संक्रमणलाई नियन्त्रण गर्न पाँच वा सोभन्दा बढी संख्यामा मानिस भेला हुन रोक लगाएको छ ।

सरकारले अनावश्यकरूपमा हुने आवागमनलाई पनि रोक्न आवश्यक भइसकेको जनाउँदै अत्यावश्यकबाहेक घरभन्दा बाहिर ननिस्कन आग्रह गरेको छ । सरकारले आगामी मंगलबारदेखि यहाँका रेष्टुरेण्टहरू पनि बन्द गर्ने तयारी गरिरहेको सरकारी अधिकारीले बताएका छन् । अष्ट्रियामा संक्रमणका कारण एकजनाको मृत्यु भएपछि सरकारले नियन्त्रणका लागि कडा कदम लिएको बताइएको छ । आइतबार संक्रमितको संख्या ८ सय पुगेको छ भने पछिल्लो एक दिनमा मात्रै १४५ जनामा संक्रमण देखिएको छ ।

अष्ट्रियाले बेलायत, नेदरल्याण्ड्स, रूस, युक्रेन, इटाली र स्वीजरल्याण्डका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

यसैबीच विश्वभर एक लाख ५२ हजार ४ सय २८ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले आइतबार जनाएको छ । संक्रमितमध्ये ५ हजार ७ सय २० जनाको उपचारका क्रममा मृत्यु भएको र लगभग ६ हजारको संख्यामा संक्रमणका जटिल समस्या रहेको बताएको छ ।

संगठनका प्रवक्ता फादेला चाइबले पछिल्ला दिनमा युरोपमा संक्रमणको प्रकोप बढी देखिएको बताए ।


Views: 204