13th August | 2020 | Thursday | 8:20:03 AM

कोरोनाको प्रभावमा युरोपेली मुलुक, इटाली सबैभन्दा प्रभावित

एजेन्सी   POSTED ON : चैत्र ४, २०७६ (९:५७ AM)

कोरोनाको प्रभावमा युरोपेली मुलुक, इटाली सबैभन्दा प्रभावित

रोम । कोरोना भाइरस (कोभिड–१९) का कारण युरोपका देशहरू नराम्ररी प्रभावित बन्दै गएका छन् । कार्यालय, विद्यालय, बजार, रेष्टुरेण्टदेखि शेयर बजारसम्म चौपट बनेका छन् । चीनमा ३ हजारभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको यो भाइरसको मारमा पछिल्लो समय युरोपेली देशहरू देखिएका हुन् । इटाली, फ्रान्स र स्पेनमा गरी एकैदिन पाँच सयजनाको मृत्यु भएसँगै यो भाइरसको त्रास युरोपभर देखिएको हो । इटालीमा आइतबारमात्रै ३ सय ६८ जनाको मृत्यु भएको थियो । स्पेनमा एकै दिन ९७ जनाले ज्यान गुमाएका थिए भने फ्रान्समा एकै दिन २९ जनाले ज्यान गुमाएका थिए । यस्तै बेलायतमा १४ जनाले ज्यान गुमाएका छन् । युरोपका देशहरू अहिले कोरोना भाइरसको महामारीको केन्द्रबिन्दु बनेका छन् ।

महामारी नियन्त्रण गर्ने प्रयासस्वरूप युरोपका देशहरूले नागरिकहरूको हिँडडुलमा प्रतिबन्ध लगाएका छन् भने सीमामा कडाइ सुरु गरेका छन् । जर्मनीले सोमबार बिहानदेखि फ्रान्स, स्वीट्जरल्याण्ड, अष्ट्रिया, डेनमार्क र लक्सम्बर्गसँगको सीमामा रोक लगाएको समाचारहरूमा जनाइएको छ । जरुरी काम भएकालाई भने चेकजाँच र पत्र देखाएर आवतजावत गर्न सक्ने व्यवस्था मिलाइएको छ । पोर्चुगलले पनि केही दिनभित्र स्पेनसँगको सीमा बन्द गर्ने जनाएको छ । 

चेक सरकारले काममा जान, आवश्यक सामग्री किनमेल गर्न र कसैलाई आकस्मिकरूपमा भेट्नुपरेमा मात्र जान पाइनेगरी आइतबार मध्यरातिदेखि मार्च २४ सम्म लागु हुनेगरी हिँडडुलमा प्रतिबन्ध नै लगाएको छ । 

अष्ट्रियामा पाँचजनाभन्दा बढी मानिस भेला हुनै रोक लगाइएको छ । रिपब्लिक अफ आयरल्याण्डमा मार्च २९ सम्म सबै मदिरा पसलहरू बन्द गर्न निर्देशन दिइएको छ ।

यता, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले पनि कोरोना भाइरसको संक्रमणलाई महामारीकोको संज्ञा दिइसकेको छ । संगठनकाअनुसार महामारीको केन्द्रबिन्दु अहिले युरोप नै रहेको छ । 

युरोपका इटाली, फ्रान्स र स्पेनमा मानिसहरूको आउजाउमा प्रतिबन्ध लगाएसँगै खाद्यान्न र औषधि पसलबाहेक अन्य सबै व्यावसायिक केन्द्र बन्द भएका छन् । विद्यालय, व्यायामशाला, संग्रहालय, रात्रि क्लब र अन्य स्थान त्यसअघि नै बन्द गरिएको थियो ।

यसैबीच, स्पेन र फ्रान्सले इटलीको अनुसरण गर्दै कोरोनाभाइरस महामारी अझ फैलिन नदिने उद्देश्यले आपत्कालीन प्रतिबन्ध लागु गरेका छन् । संकटकाल घोषणा गर्दै स्पेनले सर्वसाधारण नागरिकलाई अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ ।

कारोना भाइरसले विश्वभर अहिलेसम्म १ लाख ६२ हजार ६ सय ८७ मानिसमा संक्रमण भएको पुष्टि भएको छ भने विश्वभर मृत्यु हुनेको संख्या ६ हजार नाघिसकेको छ । यो रोग विश्वका १४१ मुलुकमा देखिएको छ । 

अमेरिकी विमानस्थलमा अन्योल

वासिंटन । संयुक्तराज्य अमेरिकाले कारोना भाइरसको संक्रमण फैलन नदिन भन्दै युरोपका सबै मुलुकका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाएसँगै अमेरिकामा हलचल सुरु भएको छ । जसको प्रभाव अमेरिकी विमानस्थलमा समेत देखिएको छ । विमानस्थलमा अहिले अमेरिकाबाट फर्कन चाहनेहरूको भीडभाडले अन्योलको वातावरण सिर्जना गरेको छ । विमानस्थलमा यात्रुहरूको ठूलो समूहले गुनासो गरे पनि कर्मचारीहरूले नयाँ प्रवेश नियम र मेडिकल स्क्रीनिङमा कडाइ गरेका छन् । 

यता, अमेरिकी सरकारले राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य परीक्षणमा कोरोनाको संक्रमण नभएको पुष्टि गरेको छ । केही दिनयता ट्रम्प अमेरिका भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपतिको प्रतिनिधिमण्डलका धेरै सदस्यसँग भेटवार्ताका क्रममा सम्पर्कमा आएका थिए । अमेरिकी अर्थमन्त्री स्टिभन मञ्चिनले भने महामारीको प्रभावले अमेरिकी अर्थतन्त्रमा केही ‘मन्दी’ उत्पन्न भए पनि त्यो केही समयपछि नरहने दाबी गरेका छन् ।

माल्दिभ्समा १३ अर्ब डलरको आपत्कालीन कोष स्थापना

माले । दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ । पछिल्लोपटक तीनजना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार संक्रमित तीनजनामध्ये दुईजना सफारीमा र एकजना अनातारा धिगु माल्दिभ्स रिसोर्टमा भेटिएका थिए । एचपिएले ११ जनालाई फारुकोल्हुमा अलग्याएर राखिएको जनाएको छ । 

यसैबीच, माल्दिभ्स सरकारले पूर्व सावधानीका लागि भन्दै १३ अर्ब अमेरिकी डलरको आपत्कालीन कोष स्थापना गरेको जनाएको छ । राष्ट्रिय आपत्कालीन विपद् केन्द्र (नियोक) का प्रवक्ता मोहमद माब्रुक अजीजले उक्त कोषको रकम चन्दा र आर्थिक सहायता प्रदान गर्न वितरण नगरिने स्पष्ट गरे । उनले कोरोना भाइरसको परीक्षणका लागि थप ५ हजार सामान माल्दिभ्स ल्याइएको पनि बताए । 

पर्यटन मन्त्री अलि वाहीदले मुलुकको पर्यटन कोषबाट आवश्यक परेमा स्वास्थ्य उपकरण र प्राविधिक विज्ञहरू झिकाइने बताए । गत साता, स्वास्थ्य मन्त्रालयले माल्दिभ्समा सार्वजनिक स्वास्थ्य आपत्कालको घोषणा गरेको थियो । माल्दिभ्सले कोरोना भाइरसको परीक्षणका लागि इन्दिरा गान्धि स्मृति अस्पतालबाट सेवा लिइरहेको छ ।


Views: 147