13th August | 2020 | Thursday | 8:40:11 AM

भारतमा फैलँदै कोरोना भाइरस : मृतकको संख्या तीन पुग्यो

एजेन्सी   POSTED ON : चैत्र ५, २०७६ (१०:५७ AM)

भारतमा फैलँदै कोरोना भाइरस : मृतकको संख्या तीन पुग्यो

मुम्बई । विश्वका विभिन्न मुलुकमा डढेलो सरी फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भारतका विभिन्न राज्यहरूमा समेत तीव्र रूपमा देखिन थालेको छ । भारतको दिल्ली, उडिसा, मुम्बईलगायत राज्यहरूमा कडाई सुरु गरिएको छ । 

मंगलबार कोरोभाइरस संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएपछि भारतमा मृतकको संख्या तीन पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

महाराष्ट्र सरकारका अनुसार मुम्बईस्थित एउटा अस्पतालमा गत मार्च ५ तारिखमा भर्ना भएका एक ६३ वर्षीय बिरामीको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो । उनी दुबईबाट भारत फर्किएका थिए । मृतकमा उच्च रक्तचाप र निमोनियाको समस्या देखिएको थियो ।

गत साता दिल्लीमा एक वृद्धा र र कर्नाटक राज्यमा एक वृद्धको मृत्यु भएको थियो । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको भाइरसको प्रकोप भारतमा विस्तार नहोस् भनेर सावधानीस्वरूप सरकारले शैक्षिक संस्था, शपिङ मल, रेस्टुरेण्ट, मदिरालय, व्यायामशाला तथा धार्मिक स्थलमा जान र सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ । त्यसबाट भारतका विभिन्न स्थानमा बन्दको जस्तै स्थिति देखिएको छ । पर्यटकीय स्थलहरूसमेत बन्द गरिएको छ । जसमा ताजमहलदेखि एतिहासिकस्थल र संग्रहालयसमेत रहेका छन् । 

भारतमा हालसम्म केही विदेशीसहित १ सय २६ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको र झण्डै ६ हजार जनाको स्वास्थ्य परीक्षण गरिएको सञ्चारमाध्यमले जनाएका छन् । हालसम्म दक्षिण एशियामा भारतमा मात्र कोरोनाभाइरसका कारण मृत्यु भएको पुष्टि भएको छ । तर मृतक सबै बाहिर देशबाट भारत आएको बताइएको छ । 

कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वभर ७ हजार १ सय ६२ जनाले ज्यान गुमाइसकेका छन् भने १ लाख ६७ हजार ५ सय ११ जना संक्रमित देखिएका छन् । जसमध्ये चीनमा मात्र ३ हजार २ सय ३० जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण १ सय ५२ भन्दाबढी देशमा पुगेको छ । 

कुल मृत्यु भएको र संक्रमितको तथ्यांक हेर्दा चीनपछि कोरोनाको केन्द्र युरोप क्षेत्र भएको छ । युरोपेली देशमध्ये सबैभन्दा बढी इटाली, स्पेन, फ्रान्स, जर्मनी, स्विजरल्याण्डलगायका देश प्रभावित भएका छन् ।

फ्रान्सद्वारा सहायता प्याकेजको घोषणा

फ्रान्स । युरोपेली मुलुक फ्रान्समा कोरोना भाइरस संक्रमणका कारण व्यापार–व्यवसायहरू धरापमा परेपछि सहायता प्याकेजको घोषणा गरिएको छ । 

फ्रान्सका अर्थमन्त्री ब्रोनो ला माइरेले मंगलबार ४५ अर्ब युरो (४० अर्ब अमेरिकी डलर) को सहायता प्याकेज घोषणा गरेका हुन् । कोरोना भाइरस संक्रमणका कारण देशमा आएको विषम् आर्थिक परिस्थितिको सामना गर्नको लागि उक्त प्याकेजको घोषणा गरिएको बताइएको छ ।

यसबाट व्यापारिक सहायताका साथै सन् २०२० मा कुल घरेलु उत्पादन (जिडिपी) मा गरिएको करिब एक प्रतिशतको गिरावटको पूर्वानुमानका लागि र कर्मचारीलाई तलवस्वरूप सो रकम खर्च गरिने बताइएको छ । 


Views: 197