13th August | 2020 | Thursday | 7:40:38 AM

चीनमा अमेरिकी पत्रकारलाई प्रतिबन्ध

एजेन्सी   POSTED ON : चैत्र ६, २०७६ (१०:१४ AM)

चीनमा अमेरिकी पत्रकारलाई प्रतिबन्ध

वासिंटन । चीनले तीनवटा अमेरिकी पत्रिकासँग आबद्ध पत्रकारहरूलाई आफ्नो मुलुकबाट निष्कासन गरेको छ । अमेरिकाले केही चिनियाँ सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएसँगै प्रत्युत्तरमा चीनले पनि तीनवटा अमेरिकी पत्रिकासँग आबद्ध पत्रकारहरूलाई आफ्नो मुलुकबाट निष्कासन गरेको जनाएको छ । 

चिनियाँ विदेश मन्त्रालयले द न्यूयोर्क टाइम्स, द वासिंटन पोष्ट र द वाल स्ट्रीट जर्नलका पत्रकारलाई उनीहरूसँग रहेको सञ्चारकर्मीको अनुमति पत्र १० दिनभित्र फिर्ता गर्न निर्देशन दिएको हो ।

कोरोना भाइरसका कारण केही समययता चीन र अमेरिकाबीच विवाद बढेको छ । मन्त्रालयले चीनमा उनीहरूको गतिविधिबारे पनि सूचना माग गरेको संचारमाध्यमले जनाएका छन् । उक्त कदम अमेरिकामा ‘चिनियाँ सञ्चारमाध्यममाथि लगाइएको अनावश्यक प्रतिबन्धहरूको’ प्रतिक्रिया भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

हङ्कङ र मकाउसहित चीनको मुख्यभूमिबाट पनि अमेरिकी पत्रकारलाई हटाउने चीनले निर्णय गरेको छ । ती पत्रकारलाई सन् २०२० सम्म बस्ने अनुमति पत्र दिइएको थियो ।

यसै महिनाको आरम्भमा ट्रम्प प्रशासनले अमेरिकामा काम गर्ने चिनियाँ पत्रकारको संख्यामा सीमा तोकिदिएको थियो । यता, चीनको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले जे गरेको छ, त्यो चिनियाँ सञ्चारमाध्यमप्रति लक्षित छ र यो शीतयुद्धको मानसिकता अनि वैचारिक पूर्वाग्रहमा आधारित रहेको जनाएको छ । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भने चीनको निर्णयलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै बेइजिङलाई त्यसबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।


Views: 147