13th August | 2020 | Thursday | 8:12:24 AM

३० दिन सीमानाका बन्द गर्ने इयूको निर्णय

एजेन्सी   POSTED ON : चैत्र ६, २०७६ (१०:१६ AM)

३० दिन सीमानाका बन्द गर्ने इयूको निर्णय

इटली । युरोपियन युनियन (इयू) आबद्ध देशहरूले ३० दिन सीमानाका बन्द गर्ने निर्णय गरेका छन् । प्राणघातक कोरोना भाइरस संक्रमणविरुद्ध जुधिरहेका इयूका मुलुकहरूले थप सतर्कता अपनाउँदै नाका बन्द गर्ने निर्णय गरेका हुन् ।

सीमा बन्द गर्ने यो निर्णय आइसल्याण्ड, लिकष्टेन, नर्वे र स्वीजरल्याण्डसहित इयू आबद्ध २६ देशले अवलम्बन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिबन्धले गैरइयू नागरिकलाई भ्रमण गर्नबाट असर पार्नेछ । लामो अवधिका बासिन्दा, इयू परिवारका सदस्य, कूटनीतिज्ञ, स्वास्थ्यकर्मी र सामान ढुवानी गर्ने मानिसका हकमा भने प्रतिबन्ध लागु नहुने सञ्चारमाध्यमले जनाएका छन् । 

हुबेई प्रान्तको वुहान उद्गम भएर फैलिएको कोरोना भाइरसको संक्रमणले चीनपछि युरोपेली देशहरूलाई समातेको छ । युरोप क्षेत्रको इटली, स्पेन र फ्रान्समा यसले महामारीको रूप लिइरहेको छ ।

कोरोनाविरुद्ध लड्न विभिन्न उपाय अवलम्बन गरेका इयू सम्बद्ध राष्ट्रहरूले मृत्युदर हृवात्तै बढेपछि लिएको नाका बन्द गर्ने निर्णयले संक्रमण घट्ने ठानिएको छ ।

युरोपियन युनियन युरोप महादेशमा रहेका २८ वटा राष्ट्रहरूको एउटा राजनीतिक तथा आर्थिक संघ हो । जसमा आपसी प्रशासकीय साझेदारी हुन्छ । जुन संघको सबै राष्ट्रमा लागु हुने गरेको छ । 

यसको उदय सन् १९५७ मा रोमको सन्धिद्वारा युरोपियन आर्थिक परिषद्का माध्यमबाट ६ युरोपियन देशहरूको आर्थिक समर्थनले भएको थियो । त्यसबेलादेखि हालसम्म यस संघमा राष्ट्रहरूको संख्या बढ्दै गएको छ । संघले अहिलेसम्म आफ्नो नीति तथा नियमहरूमा परिवर्तन गर्दै सुधार जारी राखेको छ । जसको फलस्वरूप यो संघ दृढ बन्दै गएको छ ।

कोरोनाविरुद्ध एकजुट हुन पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरस (कोभिड–१९) विरुद्धको युद्ध जित्न सबैको साथ र एकताको आग्रह गरेका छन् । 

सम्बोधनका क्रममा प्रधानमन्त्री खानले भने ‘हामी जिम्मेवार राष्ट्र हौँ भनेर प्रमाणित गर्न आफूलाई र अरूलाई रक्षा गर्नुपर्छ ।’ सरकारले यस रोगलाई नियन्त्रण गर्न, स्वास्थ्य सेवा उपलब्ध गराउन र आपूर्ति सुनिश्चित गर्न यथाशक्य प्रयास गर्ने उनको भनाइ छ । 

खानले आफूलाई न्याय गर्न घरमै बसेर, सार्वजनिक सभामा उपस्थित हुनबाट जोगिँदै, अन्य सावधानी अपनाउनेहरू र कोरोना भाइरस लक्षण भएमा मात्र मेडिकल जाँचका लागि सरकारलाई सहयोग गर्न भनेका छन् । 

प्रधानमन्त्रीले मानिसलाई यो रोगविरूद्ध लड्न चीनबाट सिक्नसमेत आग्रह गरेका छन् । उनले भाइरस फैलाउन नदिने रोकथामका लागि चीनले गरेको सफल प्रयासको प्रशंसासमेत गरे ।

कोरोना भाइरसबाट अर्थ व्यवस्थामा पर्ने प्रभावलाई कसरी सामना गर्ने भन्ने विषयमा सरकारको आर्थिक कमिटीले निर्धारण गर्ने पनि उनले सम्बोधनका क्रममा बताए । सरकारले निर्यातकर्ता र नोक्सान भोग्नेहरूलाई सहयोग पु¥याउने उनको भनाइ छ । 

पाकिस्तानमा २ सय ३५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । सरकारले देशका सबै सार्वजनिक र निजी शैक्षिक संस्था, विवाहका पार्टी हल, सांस्कृतिक केन्द्र, सिनेमाघरहरू बन्द गराएको छ भने खेलकुद गतिविधि र आधिकारिक कार्यक्रमहरू रद्द गरेको छ । 

पाकिस्तानले पश्चिमी सीमा भएर आउने इरान र अफगानिस्तानका नागरिकलाईसमेत रोक लगाएको छ । 

अमेरिका र ब्रिटेनद्वारा आर्थिक राहत कार्यक्रम घोषणा

वासिंटन । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण धर्मराएको अर्थतन्त्रलाई जोगाउन अमेरिका र ब्रिटेन सरकारले ठूला राहत योजनाको घोषणा गरेका छन् । अमेरिकाले १० खर्ब डलरको आर्थिक राहत कार्यक्रम घोषणा गरेको छ भने ब्रिटेनले झण्डै ४ सय अर्ब डलरको राहत कार्यक्रम घोषणा गरेको छ ।

अमेरिकी अर्थमन्त्री स्टीभ मनुशिनले १० खर्ब डलरको आर्थिक राहत कार्यक्रम ल्याउन आवश्यक विधेयक पारित गर्न आफूले प्रस्ताव अगाडि बढाइसकेको बताएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले पनि आफ्नो सरकार भाइरससँग संघर्ष गर्न कडारूपमा प्रस्तुत हुन लागेको बताएका छन् ।

उनले यो अदृश्य शत्रुका कारण वायुसेवा वा अरू कुनै पनि व्यवसाय बन्द भएको र मानिसहरू बेरोजगार भएको हेर्न नचाहने स्पष्ट पारेका छन् । यसअघि ट्रम्प प्रशासनले पनि कोरोना भाइरसको महामारीसँग संघर्ष गर्न ८ सय ५० अर्ब डलरको आर्थिक राहत कार्यक्रम ल्याउन लागेको संचारमाध्यमले जनाएका थिए । 

ब्रिटेनका प्रमुख अर्थमन्त्री रिशी सुनकले धरासायी हुन लागेका व्यवसायको राहतका लागि सरकारले ४ सय अर्ब डलरको ऋण जमानी दिने घोषणा गरेका छन् । युरोपका कार निर्माताहरूले कोरोना भाइरस संक्रमणबीच सबै कारखाना अस्थायीरूपमा बन्द गर्न लागेका छन् ।

उक्त रकम कोरोना भाइरसको असरबाट प्रभावित व्यवसायीलाई दिइने बताइएको छ । भाइरस अहिले अमेरिकाका ५० वटै राज्यमा फैलिसकेको छ भने सयजनाभन्दा बढीको ज्यान गइसकेको छ । 

विश्वभर झण्डै दुई लाख मानिस संक्रमति भएको भाइरसबाट ८ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।


Views: 122