13th July | 2020 | Monday | 12:29:15 AM

कोलम्बियामा आदिवासी किशोरी सात सैनिकबाट बलात्कृत

एजेन्सी   POSTED ON : असार १५, २०७७ (१०:२० AM)

कोलम्बियामा आदिवासी किशोरी सात सैनिकबाट बलात्कृत

बोगोटा । कोलम्बियामा एक आदिवासी किशोरीलाई सात सैनिक जवानले अपहरण गरी बलात्कार गरेको खुलासा भएको छ । सैनिकहरूले आदिवासी किशोरीलाई यौन दुव्र्यवहार गरेको कबुल गरिसकेका छन् । कोलम्बियाका इम्बेरा कातियोमा रहने आदिवासी १४ वर्षीया किशोरीमाथि सातजना सैनिकहरूले बलात्कार गरेका हुन् । उनको अपहरण गरी १७ घण्टासम्म बलात्कार गरिएको अधिकारीले बताएका छन् ।

उनीहरूमाथि अनुसन्धान भइरहेको कोलम्बियाका सेना प्रमुखले जनाएका छन् । कोरोनाको रोकथाम र नियन्त्रण गर्न उत्तर–पश्चिममा रहेको इम्बेरा कातियो क्षेत्रमा सैनिक खटाइएको थियो । सैनिहरूले मौकाको गलत फाइदा उठाई आदिवासी केटीको अपहरण गरी बलात्कार गरेका थिए ।

मानव अधिकारवादीले इम्बेरा कातियो समुदायका प्रमुखलाई उक्त घटनाका विषयमा जानकारी दिएको जनाइएको छ । बलात्कृत युवतीको आमाले खोज्न जाँदै गर्दा उनको साथीहरूले पीडादायी अवस्थामा पीडित किशोरीलाई फेला पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बलात्कृत युवतीको अवस्था गम्भीर रहेका कारण उनलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ । 

क्रूरतापूर्वक गरिएको अपराधले कोलम्बिायामा आक्रोश पैदा गरेको छ । अपराधीलाई जन्मकैदको माग सर्वसाधारणले गरिरहेका छन् भने सरकारले पनि घटनाको अनुसन्धानपछि कडा कदम चाल्ने जनाएको छ । यस्तो प्रकारको घटना महामारीको बेला निकै गम्भीर भएको र महामारीभन्दा पनि खतरनाक रहेको जनाइएको छ । 

यस वर्ष कोलम्बियामा ८ हजारभन्दा बढी महिला र बालिकाहरू जबरजस्ती करणीमा परेकोे रिपोर्ट दर्ता भएको कोलम्बियन फेमिसाइड फउण्डेशनले जानकारी दिएको छ । त्यसमध्ये ५ हजारभन्दा बढी १८ वर्षभन्दा कम उमेरका रहेको जनाइएको छ । सैनिक देश र नागरिकको सुरक्षामा समर्पित हुन्छन् । त्यसैले उनीहरूप्रति मानिसको विश्वास अत्यधिक हुनेगर्छ । तर, रक्षक नै भक्षक भएपछि अवस्था कुनै पनि देशका लागि चुनौतीपूर्ण हुन्छ । त्यही नै अहिले कोलम्बियामा देखिएको हो । 


Views: 39