13th July | 2020 | Monday | 12:39:14 AM

दक्षिण कोरियालाई ‘जी७’ को सदस्यता दिने प्रस्ताव अस्वीकार

एजेन्सी   POSTED ON : असार १६, २०७७ (९:५० AM)

दक्षिण कोरियालाई ‘जी७’ को सदस्यता दिने प्रस्ताव अस्वीकार

टोकियो । दक्षिण कोरियालाई विश्वका सात धनी राष्ट्रहरूको समूह (जी७) को सदस्यता दिने प्रस्ताव जापानले अस्वीकार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको जी७ को वार्षिक बैठकमा रसिया, दक्षिण कोरिया, अष्ट्रेलिया र भारतलाई पनि निमन्त्रण गर्नुभएको थियो । उहाँले जी७ को वर्तमान संरचना पुरानो भइसकेको र यसले विश्वका जल्दाबल्दा समस्यालाई समाधान गर्नेतर्फ असफल हुन लागेको तर्क गर्दै जी७ को सदस्यता विस्तार गर्न चाहेको बताउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पको उक्त भनाइ सार्वजनिक भएलगत्तै जापानको उच्च कूटनीतिक तहबाट जापानको धारणा दर्ता गरिएको जापानी समाचार संस्था क्योदोले जनाएको छ । जापानका मुख्य क्याबिनेट सचिव योशीहिद सुगाले सोमबार सात धनी राष्ट्रहरूको समूह (जी७) को शिखर सम्मेलनमा आधिकारिक सदस्यता विस्तार गर्नु उचित नभएको टिप्पणी गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘हामी विश्वास गर्दछौं कि वर्तमान (जी७) ढाँचा कायम राख्नु अत्यन्त महŒवपूर्ण छ, यसमा अहिलेको अवस्थामा अन्य राष्ट्रहरूलाई समावेश गर्न कुनै आवश्यक छैन ।’

जापानसँगै दक्षिण कोरिया र भारतलाई जी७ को सदस्यता दिँदा एसियाली मुलुकहरूबाट एकमात्र सदस्य रहेको जापानको शाख गुम्ने जापानी धारणा छ । 

सुगाले यो कूटनीतिक मामला भएको कारणले यसबारे धेरै टिप्पणी नगर्ने तर जापानको धारणा भने सदस्य नबढाउने रहेको प्रष्ट पार्नुभयो । उहाँले यस वर्षको जी७ शिखर सम्मेलनको अध्यक्ष अमेरिका रहेकाले बाँकी कुरा उसैले निर्धारण गर्ने बताउनुभयो । 

जी७ मा हाल जापानसहित क्यानाडा, फ्रान्स, जर्मनी, इटाली र संयुक्तराज्य अमेरिका तथा युरोपेली युनियन सदस्य छन् । जी७ को वार्षिक सम्मेलन यसअघि जुनमा गर्नेगरी निर्णय भए पनि कोरोनाभाइरसका कारण उक्त सम्मेलन आगामी सेप्टेम्बरमा गर्ने तय भएको छ ।


Views: 27