10th August | 2020 | Monday | 5:21:53 PM

एप्स बन्द गराएकोप्रति चीनबाट भारतसँग जबाफ माग

एजेन्सी   POSTED ON : असार १८, २०७७ (९:३९ AM)

एप्स बन्द गराएकोप्रति चीनबाट भारतसँग जबाफ माग

बेइजिङ । भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि चीनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले चिनियाँ एपमाथि भारतले लगाएको प्रतिबन्धप्रति चीनको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले भारतले के कारणले यि एप्समाथि प्रतिबन्ध लगाएको हो त्यो समेत प्रष्ट पार्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘चीन सधैँ आफ्ना व्यवसायीलाई अन्तर्राष्ट्रिय तथा स्थानीय कानूनको पालना गर्न आग्रह गर्दै आएको छ र भारतले पनि चिनियाँलगायत अन्तर्राष्ट्रिय लगानीकर्ताको कानूनी अधिकारको संरक्षण गर्ने जिम्मेवारी रहन्छ ।’ उहाँले चिनियाँ कम्पनीलाई स्थानीय र अन्तर्राष्ट्रिय कानुनअनुसार चल्न निर्देशन दिँदै आएको बताउँदै भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएर गैर–जिम्मेवारपूर्ण काम गरेको बताउनुभयो । 

यसैबीच, चीनले पनि भारतीय मिडियामाथि प्रतिवन्ध लगाएको छ । भारतले बिभिन्न एप्समाथि प्रतिबन्ध लगाएसँगै जबाफमा चीनले भारतीय मिडियामा प्रतिवन्ध लगाएको हो । कारवाहीको प्रतिक्रिया जनाउँदै चीनले भारतीय समाचारपत्र र वेभसाइटमाथि प्रतिवन्ध लगाएको जनाएको छ । यस प्रतिवन्धमा भारतीय केबल नेटवर्क र भारतीय टिभी च्यानल(डिटिएच) पनि सामिल रहेको छ । चीनमा पछिल्ला २ दिनदेखि आइफोन र डेस्कटपसँगै एक्सप्रेस भीपीएनमार्फत हुने काम पनि रोकिएको छ ।

विश्वका उदीयमान अर्थतन्त्रका रूपमा हेरिने चीन र भारतबीच सिमावर्ती क्षेत्रमा केही हप्ता पहिले तनाव देखिएको थियो । यद्यपि त्यस क्षेत्रमा अहिले तनाव नियन्त्रणमा आएको दुबै देशका अधिकारीहरूले बताउँदै आएका छन् । तर भित्र भित्रै भने दुई देशबीचको तुस भने बाँकी रहेको दुई देशका नेताहरुको अभिव्यक्तिबाट प्रष्ट हुँदै आएको छ । 


Views: 168