10th August | 2020 | Monday | 5:49:50 PM

भारतमा कोभिड–१९ संक्रमणमुक्त हुने बढे

एजेन्सी   POSTED ON : असार २६, २०७७ (९:०३ AM)

भारतमा कोभिड–१९ संक्रमणमुक्त हुने बढे

नयाँदिल्ली । भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट निको हुनेहरूको संख्या बढेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार उक्त कुराको पुष्टि गरेको हो । मन्त्रालयले भारतमा कोरोना संक्रमणबाट संक्रमितहरूको निको हुने दर बढेर ६१.५३ प्रतिशत पुगेको जनाएको छ । 

भारतमा २४ घण्टामा मात्र २२ हजार जनाभन्दा बढी संक्रमित भेटिएका छन् । बिहीबार साँझसम्म यहाँ सात लाख ६९ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । जसमा ४ लाख ५६ हजार ८३० जना संक्रमितहरू निको भएर घर फर्किएको मन्त्रालयले जानकारी दिएको हो । अझै पनि भारतमा २ लाख ६४ हजार बढी संक्रमित छन् । उनीहरूमध्ये कतिपय अस्पताल त केही आफ्नै घरमा आइसोलेसनमा रहेका छन् ।

भारतमा हालसम्म २१ हजार बढीको मृत्यु भइसकेको छ । गएको २४ घण्टामा मात्र यहाँ ४८२ जनाको ज्यान गएको बताइएको छ । योसँगै भारतमा कोभिड–१९ को संख्या हेर्दा करिब ६१.५३ प्रतिशत निको भएर घर फर्किएको देखिएको छ । यो संख्या पहिलेको तुलनामा बढ्दै गएको पनि सो मन्त्रालयले दिएको तथ्यांकमा उल्लेख गरिएको छ । मन्त्रालयले निको हुने दर हरेक दिन बढ्दै गएको जनाएको छ । 

साथै पछिल्ला दिनहरूमा परीक्षणको संख्या पनि मन्त्रालयले बढाउँदै लगेको सो मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबैभन्दा बढी प्रभावित राज्यका रूपमा महाराष्ट्र नै अगाडि रहेको पनि बताएको छ ।

यसैबीच, विश्वभर पनि कोरोना भाइरसका कारण बिरामी भएका ७० लाख ७१ हजार ४६७ जना व्यक्ति निको भएर फर्केका छन् । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५२ हजार १६४ पुगेका बताइएको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २१ लाख ७२ हजार १८१ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 

हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४५ लाख ४८ हजार ५५० व्यक्ति उपचाररत छन् । संक्रमितहरूमा ५८ हजार २८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 


Views: 36