13th August | 2020 | Thursday | 8:43:15 AM

अमेरिकाले पुनः परमाणु बम निर्माण गर्ने

एजेन्सी   POSTED ON : असार २७, २०७७ (८:१२ AM)

अमेरिकाले पुनः परमाणु बम निर्माण गर्ने

वासिङ्टन । अमेरिका फेरि परमाणु बम निर्माणमा सक्रिय हुने भएको छ । लामो समयदेखि परमाणु बम निर्माणमा निस्क्रिय अमेरिकाले आउँदो १० वर्षभित्र हतियार निर्माणमा मात्र करिब १२ हजार करोड रुपैयाँ खर्च गर्ने प्रस्ताव प्रस्तुत गरेको छ । यो प्रोजेक्ट दक्षिण क्यारोलिनास्थित सवाना नदी क्षेत्रमा रहेको एउटा फ्याक्ट्री तथा न्यु मेक्सिकोको लस एलमोसमा सञ्चालन हुने अमेरिकी समाचार संस्थाहरूले बताएका छन् । 

अमेरिका र रुसबीच शीत युद्धको बेला सवाना नदी क्षेत्रमा रहेको फ्याक्ट्रीमा अमेरिकी परमाणु हतियारका लागि ट्रिटियम र प्लुटोनियमको उत्पादन हुने गथ्र्यो । २ लाख एकड क्षेत्रफलमा फैलिएको यो फ्याक्ट्रीमा हजारौं मानिस काम गर्थे । अहिले यो स्थानमा ३ करोड ७० लाख ग्यालेन रेडियोएक्टिभ तरल पदार्थ जम्मा भइसकेको छ । ३० वर्षपछि फेरि यहाँ परमाणु हतियार निर्माण गर्ने बताइएको छ । 

अमेरिकी संस्था ‘द नेशनल न्यूक्लियर सेक्युरिटी एडमिनिस्ट्रेशन (एनएनएसए)’, जुन अमेरिकाको उर्जा विभागकै एउटा अंक हो, उसले यहाँ परमाणु हतियार बनाउने गथ्र्यो, ‘हाल भएका परमाणु हतियार निकै पुरानो भइसकेका छन् । त्यसमा परिवर्तनको आवश्यकता छ । नयाँ प्रविधि पहिले भन्दा थप सुरक्षित छन् ।’

सरकारको सम्भावित सक्रियतालाई लिएर स्थानीय मानिस भने त्रसित बनेका छन् । उनीहरूले फ्याक्ट्रि सुरु हुँदा मानिसहरू रेडिएशनको सम्भावित जोखिममा पर्ने कुराप्रति असन्तोष व्यक्त गरेका छन् । पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा सरकारको पालामा अमेरिकी कंग्रेस र राष्ट्रपति ओबामा स्वयम्ले यहाँ परमाणु हतियार निर्माणका लागि सहमति जनाउनुभएको थियो । ट्रम्पले पनि सन् २०१८ मा राष्ट्रपति बनेर आएपछि ओबामा सरकारको यो योजनालाई स्विकृति दिनुभएको थियो । 

जसअनुसार हरेक बर्ष ८० नयाँ खाल्डो खन्ने कार्यमा सहमति बनेको थियो । योजना अनुसार ५० वटा खाल्डो दक्षिण क्यारोलिना र ३० न्यु मेक्सिकोमा तयार पारिने छ । यहाँ प्लुटोनियमलाई फुटबलको आकारमा झैं गोलो बनाइने छ । जसले परमाणु हतियारमा ट्रिगरको काम गर्छ । विश्व सुरक्षा विशेषज्ञ स्टिफन यङले भने अमेरिकाको यो योजनालाई खर्चिलो मात्र नभएर खतरनाक भन्नुभएको छ । फ्याक्ट्री नजिकै बसोबास गर्ने ७० वर्षीय पिट लाबर्जकाअनुसार उर्जा संस्थाले आधुनिक प्रविधिलाई जति नै सुरक्षित बताए पनि यसको कुनै प्रमाण नभएको हुनाले खतरा बढ्ने दावी गर्नुभएको छ ।

विरोधका बीच पनि अमेरिकाले राष्ट्रिय सुरक्षामा सम्भावित खतराका कारण यो कार्यलाई रोक्ने छैन । स्टोकहोम अन्तर्राष्ट्रिय पीस रिसर्च इन्स्टिच्युटकाअनुसार अमेरिकासँग ७ हजार ५५० परमाणु हतियार छन् । उसले १ हजार ७५० परमाणु बमलाई मिसाइल तथा बमवर्षक विमानमा तयारी अवस्थामा राखेको छ । यसमा १५० परमाणु बम युरोपमा तयारी अवस्थामा राखिएको छ, रुसलाई निगरानी गर्न । रुससँग ६ हजार ३७५ र चीनसँग ३२० परमाणु हतियार भएको दावी गरिएको छ ।


Views: 137