13th August | 2020 | Thursday | 2:21:36 AM

राष्ट्रपतिको चुनाव सार्ने प्रस्तावपछि ट्रम्प विवादमा

एजेन्सी   POSTED ON : श्रावण १७, २०७७ (७:१० AM)

राष्ट्रपतिको चुनाव सार्ने प्रस्तावपछि ट्रम्प विवादमा

वासिंटन । नोभेम्बरमा हुने राष्ट्रपतिको चुनाव सार्ने प्रस्तावपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थप विवादमा तानिनुभएको छ । चुनावमा छल हुनसक्ने भएकाले नोभेम्बर भन्दा पछि सार्नुपर्ने ट्रम्पको तर्क यतिबेला उहाँकै पार्टीका शीर्ष नेताहरूबाट आलोचनाको विषय बनिरहेको छ । ट्रम्पको राष्ट्रपतीय निर्वाचन सार्न गरेको प्रस्ताव उहाँको पार्टीका वरिष्ठ नेताहरूले अस्वीकार गरेका हुन् । 

ट्रम्पको प्रस्तावलाई सिनेटमा बहुमत प्राप्त उहाँकै पार्टी रिपब्लिकनका नेता मिच मककोनेल र हाउस अफ रेप्रेजेन्टेटिभ्सका नेता केभिन मकार्थी दुवैले अस्वीकार गर्नुभएको हो । जसमा विपक्षी डेमोक्रेटिक पार्टीले पनि तीव्र विरोध जनाइरहेको छ । उहाँहरू दुवैजना रिपब्लिकन हुनुहुन्छ । ट्रम्पसँग राष्ट्रपतिको चुनाव पछि सार्ने कुनै अधिकार छैन । चुनाव पछि सार्ने प्रस्ताव संसदले पास गर्नुपर्छ ।

बीबीसीकाअनुसार चुनाव स्थगन गर्नसक्ने अधिकार राष्ट्रपति ट्रम्पलाई छैन । चुनाव सार्ने भए त्यो प्रस्ताव कंग्रेसले अनुमोदन गर्नुपर्ने हुन्छ । ट्रम्पको प्रस्ताव अस्वीकार गर्ने नेताद्वय मककोनेल र मकार्थी दुवैले अमेरिकी इतिहासमा निर्धारित समयभन्दा चुनाव कहिल्यै नसारिएको बताउनुभएको छ । ट्रम्पका साझेदार रहेका अर्का सिनेटर लिन्ड्से ग्राहमले पनि चुनाव सार्ने कुरामा असहमित प्रकट गर्नुभएको छ । 

यस्तै पूर्वराष्ट्रपति बराक ओबामाले पनि ट्रम्पको भनाइको आलोचना गर्नुभएको छ । उहाँले चुनाव सार्ने कुरालाई अमेरिकी लोकतन्त्रमा ‘आक्रमण’को संज्ञा दिएका छन् । ट्रम्पले चुनाव सार्ने अभिव्यक्ति दिएको केही घण्टापछि नै ओबामाको टिप्पणी आएको हो । राष्ट्रपति ट्रम्प हुलाकमार्फत गरिने मतदानमा धाँधली हुनसक्ने भन्दै यस प्रक्रियाको विरोध गरिरहनुभएको छ । यसैकारण उहाँले चुनाव सार्ने प्रस्ताव गर्नुभएको हो । 

‘म त्रुटिपूर्ण चुनाव हेर्न चाहन्नँ । यो चुनाव भयो भने इतिहासकै सबैभन्दा धाँधलीपूर्ण हुनेछ,’ हृवाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भन्नुभयो । तर अमेरिकी राज्यहरू कोरोना महामारीलाई विचार गर्दै हुलाकमार्फत गरिने मतदानलाई अझ सहज बनाउने तयारीमा लागेका छन् ।


Views: 47