28th September | 2020 | Monday | 11:27:01 PM

भारतीय मुलकी कमला हृयारिस अमेरिकी उपराष्ट्रपतिको उम्मेदवार

एजेन्सी   POSTED ON : श्रावण २९, २०७७ (१२:१४ AM)

भारतीय मुलकी कमला हृयारिस अमेरिकी उपराष्ट्रपतिको उम्मेदवार

वासिंटन । आगामी नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनको उपराष्ट्रपति पदका लागि डेमोक्रेटिक राष्ट्रपति उम्मेदवार जो वाइडनले ५६ वर्षीया कमलादेवी हृयारिसलाई छनौट गर्नुभएको छ । अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिको ‘जोडा निर्वाचन’ हुने प्रचलन छ । डेमोक्रेटिक उम्मेदवार वाइडन राष्ट्रपतिमा निर्वाचति भए कमलादेवी वाइडन संगसंगै उपराष्ट्रपति हुनुहुनेछ । उपराष्ट्रपति अमेरिकी राजनीतिक तथा प्रशासनिक प्रणालीको दोस्रो ठूलो पद हो । कमला देवी अफ्रिकी–अमेरिकी नागरिक हुहुनुन्छ । 

अमेरिकाको राजनीतिमा कुनै पनि पार्टीले उपराष्ट्रपति पदमा अश्वेत उम्मेदवारलाई उठाउन लागेको यो पहिलो घटना हो । गत महिना अफ्रिकी–अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरीद्वारा घाँटी थिचेर हत्या गरिएपछि उर्लेको विशाल आन्दोलनबीच वाइडेनलाई कालाजातिका महिलालाई उपराष्ट्रपति तोक्नुपर्ने दबाब थियो । 

जर्ज फ्लोइडको घटनापछि कमला देवीको चर्चा चुलिएर गएको थियो । उहाँ गत डिसेम्बरमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्नुभएको थियो । तर, चुनाव खर्च धान्न नसक्ने भएपछि कमला देवीले आफ्नो नाम फिर्ता लिनुभएको थियो । उहाँ हिन्दू आमा र क्रिश्चियन बाबुकी सन्तान हुनुहुन्छ । उहाँ मन्दिर र चर्च दुवै धार्मिक स्थानमा जाने गर्नुभएको छ । 

कमला देवीमा प्रशासनिक क्षमता र दक्षता दुवै भएको मानिन्छ । उहाँले क्यालिफोर्नियाको महान्यायाधीवत्ताको भूमिकामा काम गरिसक्नुभएको छ । उहाँ कानुनकी ज्ञाता रहनुभएको छ । कमला देवीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएपछि जो वाइडेनलाई अफ्रिकी–अमेरिकीको मत अत्याधिक आउने अपेक्षा गरिएको छ ।

कमला देवीको बुबा अफ्रिकी र आमा भारत मद्रासकी हुनुहुन्छ । आमा श्यामला गोपालन क्यान्सरको डाक्टर र बाबु डोनाल्ड अर्थशास्त्रका प्राध्यापक हुनुहुन्छ । तर, कमलाको जन्म भएको सात वर्षपछि नै बाबुआमाको सम्बन्ध बिच्छेद भएको थियो । 

कमलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाएपछि डोनाल्ड ट्रम्पको दोस्रो पल्ट राष्ट्रपति बन्ने अभियानमा गम्भीर धक्का लाग्नसक्ने आंकलन गरिएको छ । कोरोना संक्रमणभन्दा पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको पक्षमा मतदान गर्न अमेरिकामा बसोबास गरिरहेका भारतीय समुदायलाई आग्रह गर्नुभएको थियो । मोदीको कार्यक्रममा भारतीय–अमेरिकीको ठूलो भीड लागेको थियो । 

तर, उपराष्ट्रपति पदमा कमला देवीको आगमनपछि भारतीय समुदाय विभाजित हुने बताइएको छ । यस्तै, अश्वेतप्रति अनुदार मानिएका ट्रम्पलाई कमला देवीको बुवा अफ्रिकीमूलको हुनुले पनि ठूलो धक्का दिन सक्ने विश्लेषण गरिएको छ । 

अमेरिकाको इतिहासमा यसअघि मात्रै दुईपटक महिला नेतृलाई राष्ट्रपतिका उम्मेदवारले आफ्नो ‘रनिङ मेट’का रूपमा चयन गरेका छन् । करिब १२ वर्षअगाडि सन् २००८ मा रिपब्लिकनबाट सारा पालिन र सन् १९८४ मा डेमोक्रेटिक पार्टीबाट गेराल्डिन फेरारोलाई उपराष्ट्रपति उम्मेदवार बनाइएको थियो । तर उहाँहरू दुवै चुनावमा विजयी हुन सक्नुभएन ।

अश्वेतबाट अहिलेसम्म कुनै पनि महिलाले राष्ट्रपतिको उम्मेदवार जितेका छैनन् । यस्तै अमेरिकाले महिला राष्ट्रपति पनि पाएको छैन र महिला उपराष्ट्रपति पनि । यसपटक वाइडेन–कमलाले आउँदो नोभेम्बर ३ मा हुने चुनावमा रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको सामना गर्नुहुनेछ । 

उपराष्ट्रपति राष्ट्रपतिको मुख्य सहयोगी पद हो । चार वर्षे राष्ट्रपतिको कार्यकालको बीचमा कुनै कारणले राष्ट्रपति पद रिक्त हुन गएका अर्को निर्वाचनसम्म राष्ट्रपतिको भूमिका गर्ने अधिकार अमेरिकी संविधानले उपराष्ट्रपतिलाई दिएको हुन्छ । अमेरिकाको पहिलो उपराष्ट्रपति जोहन अडम्स हुनुहुथ्यो । थोमस जेफर्सन, थियोडोर रुजबेल्ट, हृयारी ट्रमेन, रिचार्ड निक्सनज, जर्ज बुसजस्ता चर्चित राष्ट्रपतिहरू राष्ट्रपति हुनुअघि उपराष्ट्रपति हुनुहुथ्यो । अहिलेका डेमोक्र्याटिक राष्ट्रपति उम्मेदवार जो वाइडन बाराक ओबामा कार्यकालका उपराष्ट्रपति रहनुभएको थियो । 


Views: 107