25th September | 2020 | Friday | 11:09:30 PM

रूसद्वारा कोरोना भाइरसविरुद्धको खोप ‘स्पुटनिक भी’ तयार

एजेन्सी   POSTED ON : श्रावण २९, २०७७ (१२:१५ AM)

रूसद्वारा कोरोना भाइरसविरुद्धको खोप ‘स्पुटनिक भी’ तयार

मस्को । रूसले विश्व महामारी बनेको कोरोना भाइरसविरुद्ध पहिलो खोप तयार गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वकै पहिलो कोरोना भाइरस खोप बनाएको रूसले घोषणा गर्नुभएको हो । रूसको स्वास्थ्य मन्त्रालयले उक्त कोरोना भाइरसको खोपलाई स्वीकृति दिएको उहाँले जानकारी दिनुभयो । एजेन्सीका अनुसार राष्ट्रपति पुटिनले आफ्नी एक छोरीले पनि उक्त खोप पनि लगाइसकेको जानकारी दिनुभएको छ ।

पुटिनले उक्त कोरोना खोपको नाम स्पुटनिक भी राख्नुभएको छ । मस्कोको गेमेलिया रिसर्च इन्स्टिच्युटले एडेनोभाइरसलाई आधार बनाएर यो खोप विकसित गरेको हो । उक्त खोपको क्लिनिकल परीक्षण १८ जुनमा लन्च भएको थियो जसमा सकारात्मक परिणाम आएको थियो । पुटिनले रूसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलाई खोपसँग सम्बन्धित सम्पुण अपडेट्स उपलब्ध गराइरहन भन्नुभएको छ ।

एजेन्सीअनुसार खोपको परीक्षणका क्रममा आफ्नी छोरी पनि सहभागी भएको पुटिनले जानकारी दिनुभयो । पहिलो चरणको खोप लिएपछि उहाँको शरीरको तापक्रम ३८ डिग्री सेल्सियस पुगेको र अर्को दिन यो ३७ डिग्री सेल्सियसमा झरेको उहाँले जानकारी दिनुभयो । ‘खोपको दोस्रो चरणपछि उहाँको शरीरको तापमान केही बढेको तर पछि सबै सामान्य भयो । अब उनी राम्रो महसुस गरिरहेकी छिन्, पुटिनले बताउनुभयो ।’

यो खोपको नाम विश्वकै पहिलो रूसी उपग्रह स्पुतनिकबाट लिइएको हो । जुन सन् १९५७ मा रूसी अन्तरिक्ष एजेन्सीले प्रक्षेपण गरेको थियो । त्यतिबेला पनि रूस र अमेरिकाबीच अन्तरिक्षमा पुग्ने दौड चरम अवस्थामा पुगेको थियो । त्यसैगरी कोरोना खोपको विकास गर्नका लागि पनि अमेरिका र रूसबीच प्रतिस्पर्धा भइरहेको थियो । राष्ट्रपति पुटिनले रूसी कोरोना भाइरस विरुद्धको खोपको नाम विश्वकै पहिलो उपग्रहको नाम राखेर अमेरिकालाई एक प्रकारले फेरि एक पटक उछिनेको देखाउन चाहेको विज्ञहरूले बताएका छन् ।

रूसका वेल्थ फण्डका प्रमुख किरिल दिमित्रिवले खोपको विकास प्रक्रिया स्पेस रेसजस्तो भएको बताउनुभएको छ । अमेरिकाले स्पुटनिक (सोभियत युनियनले बनाएको विश्वको पहिलो उपग्रह) को बारेमा सुनेपछि आश्चर्यचकित परेको यियो । यो कुरा खोपमा पनि भएको छ । रूस त्यहाँ सबैभन्दा पहिला पुगे, उहाँले भन्नुभएको छ । रूससँग इबोला र मर्सको उपचारमा काम गरेको अनुभव रहेको र त्यसैबाट वैज्ञानिकहरू यस महामारीको समाधान खोज्न सक्षम भएको उहाँले बताउनुभयो ।

रूसी कोरोना खोप परियोजनका लागि कोष उपलब्ध गराउने संस्था रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फण्डका प्रमुख किरिल दिमित्रिजले उक्त खोपका लागि २० देशबाट एक अर्ब डोजको अर्डर प्राप्त भइसकेको जानकारी दिनुभएको छ । सेप्टेम्बरदेखि यस खोपको औद्योगिक उत्पादन सुरु हुने सम्भावना रहेको उहाँले जानकारी दिनभुयो । यद्यपि कुन–कुन देशले उक्त खोपका लागि अर्डर दिएको हो भन्ने विषयमा उहाँले खुलाउनुभएको छैन ।

रूसी स्वास्थ्य मन्त्री मिखाइल मुरासकोले रूसमा यस वर्षका अक्टोबरदेखि ब्यापक स्तरमा कोरोना भाइरस खोप अभियान कार्यक्रम सुरु गर्ने जानकारी दिनुभयो । खोप कार्यक्रमका क्रममा चिकित्साकर्मी तथा शिक्षकलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो सुरुवातमा यो आम जनताका लागि अत्यन्त कम संख्यामा छुट्याइएको बताइएको छ ।

एजेन्सीहरूका अनुसार भ्याक्सिन बनाउने होडबाजीमा लागेको रूस पहिलो देश भने होइन । सयभन्दा बढी भ्याक्सिन सुरुवाती चरणमा छन् र २० भन्दा बढी भ्याक्सिन मानिसमाथि परीक्षण भइरहेको छ । अमेरिकामा ६ प्रकारको भ्याक्सिनमाथि काम भइरहेको छ र अमेरिकाका चर्चित कोरोनाभाइरस विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले पनि वर्षको अन्तसम्म अमेरिकासँग एक सुरक्षित र प्रभावकारी भ्याक्सिन हुने बताउनुभएको छ । ब्रिटेनले पनि कोरोनाभाइरस भ्याक्सिनको विषयमा चार सम्झौता गरेको छ । एस्ट्राजेनेकाले कोरोना भ्याक्सिनको १० करोड खुराक तयार गरिरहेको छ । अक्सफोर्ड युनिभर्सिटीमा वैज्ञानिक काम गरिरहेका छन् र औषधि कमपनी जिएसके र सनोफी पनि यसको उपचार खोजिरहेको छ ।

मंगलबार इन्डोनेशिया र मेक्सिकोले आफ्नो देशमा पनि कोरोना भ्याक्सिनको अन्तिम चरणको क्लिनिकल ट्रायल चलिरहेको बताएका छन् । यस्तै चीनले आफ्ना सैनिकलाई कोरोना खोप लगाउन सुरु गरेको छ । पिपुल्स लिबरेसन आर्मीको संलग्नमा विकसित चिनियाँ खोप ब्यापक स्तरमा सैनिकहरूलाई लगाउन थालिएको हो ।

एजेन्सीहरूका अनुसार चीनको यो खोपको तेस्रो चरणमा परीक्षण भइरहेको हो । यसको नतिजा आउन अघि नै चीनले सैनिकहरूलाई खोप दिन थालेको बताइएको छ । चीनमा नागरिक र सेनाका लागि बनाइएका प्रविधि एक अर्काका लागि प्रयोग हुनु सामान्य भएको फाइनेन्सियल टाइम्स अखबारले जनाएको छ । यो अभ्यास राष्ट्रपति सी जिनपिंगको समयमा अझ बढेको छ । सी जिनपिंगले सेना र नागरिकको गठबन्धनको अभियान चलाइरहेको छ र कोरोना भाइरसले यसलाई बढा दिएको छ ।

क्यानबेरामा चिनियाँ पोलिसी सेन्टरका डाइरेक्टर एडम नीले चिनियाँ सेनाभित्र जैविक तथा संक्रामक रोगसँग लड्ने क्षमता रहेको र चिनियाँ नेता यसको पुरा फाइदा उठाइरहेको बताउनुभयो ।

क्यानसिनोको यो विश्वकै पहिलो कोरोना भाइरस विरुद्धको खोप चिनियाँ सेनासँग मिलेर बनाएको एडमले बताउनुभयो । क्यानसिनोले आफ्नो परीक्षण र खोप बनाउने क्षमताका कारण प्रतिस्पर्धी अमेरिकाको मोडर्ना, फिजर क्योरक्याक र अष्ट्राजेनेकालाई धरै पछाडी छोडेको छ । चिनियाँ सेनाको मेडिकल साइन्सकी प्रमुख चेन वेइले क्यानसीनोको यो खोप बनाउनमा मुख्य भूमिका निर्वाह गर्नुभएको हो । 

चिनियाँ खोप विकसित गर्नमा डाक्टर चेन वेइको ब्यापक प्रशंसा भइरहेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ । यद्यपि डाक्टर चेनको यस खोप बनाउनमा कुनै आधिकारिक भूमिका भने छैन । यसअघि उहाँले कम्पनीका लागि इबोलाको खोप बनाउनुभएको थियो । तर, यो एकमात्र त्यस्तो खोप होइन जसलाई सफलता प्राप्त भइरहेको छ । 

कोरोनाको परीक्षणमा रहेको खोप आफ्ना सैनिकलाई लगाउने चीन एकमात्र देश हो । चीनमा ७४१ गैर सैनिक शोधकर्ता पिएलएमा काम गरिरहेका छन् ।एडमका अनुसार चिनियाँ सेनामाथि परीक्षणात्मक खोप प्रयोग चीनका दुस्प्रचारको हिस्सा बताउनुहुन्छ । चीन आफ्ना सेना देशका लागि बलिदान दिन तयार रहेको देखाउने प्रयास गरिरहेको छ । साथै यदि चिनियाँ खोपले काम गर्दैन भने पनि यसको जानकारी कसैलाई नहुने उहाँ बताउनुहुन्छ । विश्वमा सबै देशले आफ्ना विकसित खोप सबैभन्दा पहिला स्वास्थ्यकर्मीले पाउने बताउँदै आइरहेका छन् । तर, चीनले आफ्नो कोरोना खोप सबैभन्दा पहिला सैनिकलाई दिइएकोमा अनौठो मानिएको छ ।


Views: 87