28th September | 2020 | Monday | 8:16:38 PM

इजरायल र संयुक्त अरब इमिरेट्सबीच ऐतिहासिक शान्ति सम्झौता

एजेन्सी   POSTED ON : श्रावण ३०, २०७७ (११:३१ PM)

इजरायल र संयुक्त अरब इमिरेट्सबीच ऐतिहासिक शान्ति सम्झौता

दुबई । चीन र इरानबीच बढ्दो हिमचिमका कारण इजरायल र संयुक्त अरब इमिरेट्सबीच ऐतिहासिक शान्ति सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यसको घोषणा गर्नुभएको हो । तीन देशका प्रमुख ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अबु धाबीका राजकुमार मोहम्मद अल नाहयानले संयुक्त घोषणा पत्र पनि सार्वजनिक गर्नुभएको छ । जसमा इजरायल र युएईबीचको ऐतिहासिक सम्झौताले यो क्षेत्रमा शान्ति स्थापना गर्न मद्धत पुग्ने बताइएको छ । 

युएईसँगको सम्झौतापछि इजरायलको ‘वेष्ट ब्यांक’ कब्जा गर्ने अभियान रोकिएको छ । इजरायल ‘ग्रेटर इजरायल’ को नीति अनुरूप आक्रामक रूपमा ‘वेष्ट ब्यांक’ कब्जा गर्ने अभियानमा थियो । तर, चीन र अमेरिकाबीच दक्षिणी चिनियाँ सागरमा बढ्दो तनावका बीच अन्तर्राष्ट्रिय रूपमा थुप्रै समीकरण फेलबदल भएको छ । 

चीनले इरानसँग हालै चार सय बिलियन डलरको आर्थिक सम्झौता गरेपछि दुई देश नजिकिरहेको बेला अमेरिकाको रोहबरमा इजरायल र युएईबीच शान्ति सम्झौता भएको हो । यसले मध्यपूर्वमा चीनको बढ्दो प्रभावलाई कम गर्न भूमिका खेल्ने केही विश्लेषकहरूको भनाइ छ । यसअघि इजरायलको खाडीको कुनै अरब देशसँग राजनीतिक सम्बन्ध थिएन । खाडीको अन्य देश जोर्डन र इजिप्टसँग भने इजरायलको राजनीतिक सम्बन्ध पहिलेदेखि थियो । 

अब दुवै देशले एकअर्काको ठाउँमा आधिकारीक रूपमा दुतावास स्थापना गर्नेछन् । साथै एकअर्काले लगानी, पर्यटन, उडान, सुरक्षा, दुरसञ्चार, टेक्नोलोजी, ऊर्जा, स्वास्थ्य, सांस्कृतिक र पर्यावरण क्षेत्रमा मिलेर काम गर्ने बताएका छन् । यसै साता युएई र इजरायली अधिकारीको भेट हुने बताइएको छ । सन् १९४८ मा इजरायलको स्थापना भएपछि उसले इजरायल–अरब शान्ति सम्झौतामा तेस्रो पल्ट हस्ताक्षर गरेको हो । यसअघि इजिप्टसँग १९७९ र जोर्डनसँग १९९४ मा सम्झौता भएको थियो ।


Views: 58