28th September | 2020 | Monday | 9:09:03 PM

खेलाडीलाई तलब दिने प्रक्रिया सुरु

एजेन्सी   POSTED ON : श्रावण ३०, २०७७ (११:३२ PM)

खेलाडीलाई तलब दिने प्रक्रिया सुरु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूलाई सन् २०१९ को तलब दिने प्रक्रिया सुरु गरेको छ । आइसीसीको निर्देशनअनुसार क्यानले खेलाडीहरुको हस्ताक्षर संकलन गरी आइसीसीमा बुझाउनेछ । आईसीसीमा खेलाडीहरुको हस्ताक्षर बुझाएपछि तलब आउने क्यानले जनाएको छ ।

क्यानले तलब दिने प्रक्रिया सुरु गर्न उपत्यकामा उपलब्ध खेलाडीहरूलाई कार्यालय बोलाएर हस्ताक्षर गराएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताउनुभयो । उहाँले खेलाडीको हस्ताक्षरसहितको सम्पूर्ण कागजात आईसीसीले पठाउन भनेको र त्यसपछि तलब उपलब्ध हुने जानकारी दिनुभयो ।

‘अहिले कोरोना भाइरसको संक्रमणका कारण सबै खेलाडी यहाँ छैनन् । जति छन् सबैलाई कार्यालय बोलाएका छौं,’ उहाँले भन्नुभयो, ‘बाँकी खेलाडीहरूसँग पनि प्रक्रिया पूरा गरेर आइसीसीमा पठाउनेछौँ । त्यसपछि आइसीसीले तलब पठाउने जनाएको छ ।’

क्यानले २०१९ मा २४ खेलाडीसँग केन्द्रीय सम्झौता गरेको थियो । सम्झौतामा रहेका खेलाडीलाई ए, बी र सी गरी तीन श्रेणीमा विभाजन गरिएको थियो । ए श्रेणीका खेलाडीले ३५, बी श्रेणीका खेलाडीले २५ र सी श्रेणीका खेलाडीले मासिक १५ हजार तलब पाउँदै आएका थिए ।

वर्गीकरणअनुसार ए श्रेणीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । यस्तै बी श्रेणीमा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन हुनुहुन्थ्यो । सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलीप नाथ, सुनील धमला, सुसन भारी, प्रदीप ऐरी र विनोद भण्डारी हुनुहुन्थ्यो ।

अघिल्लो वर्षको तलब पाएपछि यसवर्ष खेलाडीहरुको नयाँ वर्गीकरण गरेर पठाउने तयारी क्यानको छ । क्यानका कोषाध्यक्ष रोसन सिंहले अघिल्लो वर्गीकरणभन्दा यसपटक सबै श्रेणीका खेलाडीलाई १० हजार रुपैयाँ थप गरेर सम्झौता गर्ने गरी पठाउने तयारी गरिएको जानकारी दिनुभयो ।

नयाँ वर्गीकरणको काम पूरा गरिसके पनि बोर्ड बैठकले अझै त्यसको टुंगो लगाएको छैन । क्यानको बोर्ड बैठक भदौमा बस्ने भनिए पनि कोरोना माहामारीका कारण बस्ने नबस्ने टुंगो छैन ।


Views: 51