6th March | 2021 | Saturday | 12:32:37 AM

अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडनको शपथ

  POSTED ON : माघ ८, २०७७ (८:४७ AM)

अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडनको शपथ

काठमाडौं । विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडनले शपथ लिनुभएको छ । डेमाक्र्याटिक पार्टीका बाइडनले अमेरिकाको ४६ औँ राष्ट्रपतिका रूपमा बुधबार राति शपथग्रहण गनुभएको हो । उहाँ गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी हुनुभएको थियो । 

अमेरिकी कानुनअनुसार जनवरी २० मा शपथ ग्रहण गरी पदभार ग्रहण गर्ने परम्पराअनुसार बाइडन ४६ औँ राष्ट्रपतिका रूपमा ह्वाइट हाउस प्रवेश गर्नुभएको हो । अमेरिकी राष्ट्रपतिका रूपमा बाइडनको चार वर्षे कार्यकाल औपचारिक रूपमा सुरु भएको छ । पदभार ग्रहण समारोह अमेरिकाको राजधानी वासिंगटन डिसीमा आयोजना भएको थियो । 

बाइडनले बाइबललाई साक्षी राखेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उपराष्ट्रपतिका रूपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरबाट शपथ लिनुभएको थियो । 

शपथग्रहणपछिको सलामीपछि बाइडनले समारोहलाई सम्बोधन गर्नुभएको थियो । शपथ समारोहमा चर्चित कलाकारहरू लेडी गागा, जेनिफर लोपेजलगायतको प्रस्तुति रहेको थियो ।  यसैगरी, जोन बोन जोभी, डेमी लोभाटो, जस्टिन टिम्बरलेकले पनि प्रस्तुति दिएको एजेन्सीहरूले उल्लेख गरेका छन् । शपथग्रहण समारोहमा अमेरिकी सेनाको ब्याण्डले परम्परागत धुन बजाउने प्रचलन रहेको छ । बाइडनको शपथग्रहणमा पनि सेनाले परम्परालाई निरन्तरता दिएको थियो । 

शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको थियो । शपथग्रहणका बेला सशस्त्र आक्रमणको आशंका गर्दै वासिंगटनमा २५ हजार सैनिक तैनाथ गरिएको भनिएको छ । अमेरिकी संसद् भवन क्यापिटलका वरपर, पेनसिल्भानिया एभेन्यु र ह्वाइट हाउसका छेउछाउका अधिकांश भाग सर्वसाधारणका लागि बन्द गरिएको थियो । ती स्थानमा आठ फिट अग्ला बार लगाइएको छ । सबै राज्यका संसद् भवनमा सुरक्षा सतर्क राखिएको छ । 

गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्र्यटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी हुनुभएको थियो । रिपब्लिकन पार्टीबाट उम्मेदवार निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएसँगै उहाँ दोस्रो कार्यकालका रूपमा राष्ट्रपतिमा निर्वाचित हुन पाउनुभएन ।

जो बाइडनको यात्रा 

बाइडनको जन्म सन् १९४२ नोभेम्बर २० मा पेन्सिल्भेनिया राज्यको स्क्रान्टनमा एक मध्यम वर्गीय परिवारमा भएको हो । उहाँको पूरा नाम जोसेप रोबिनेट बाइडन जुनियर हो । उहाँका पिता जोसेप बाइडन सिनियर सफाइ कारखाना र कार बेच्ने कम्पनीमा काम गर्नुहुन्थ्यो । सुरुमा भक्भकाउँदै बोल्ने बाइडेन राम्रोसँग आफ्नो कुरा राख्न सक्नुहुन्नथ्यो । पछि उहाँले लामा वाक्यहरू कण्ठस्थ गर्दै त्यसलाई ऐनाअघि बसेर भन्ने अभ्यास गर्नुभयो र आफ्नो कमजोरीमा सुधार ल्याउनुभएको थियो । 

स्कुल पढ्दा परिवारलाई सहयोग गर्न र आफ्नो पढाइको शुल्क तिर्न बाइडेनले विद्यालयका झ्याल पुछ्ने र विवाह समारोहको बगैंचा सफा गर्नेलगायतका कामहरू गर्नुभयो । पढाइमा राम्रो रुचि राख्ने बाइडेन फुटबल पनि खेल्न रुचाउनुहुन्थ्यो । तर, विस्तारै उहाँको ध्यान राजनीतितर्फ मोडियो ।

सन् १९६६ मा बाइडेनको नेइलिया हन्टरसँग विवाह भयो । सन् १९७२ मा उहाँ पहिलोपटक अमेरिकाको सिनेटको चुनाव जितेर शपथ लिने तयारी गरिरहँदा पत्नी र एक छोरीको कार दुर्घटनामा मृत्यु भयो । उहाँका दुई छोरा ब्यू र हन्टर पनि घाइते हुनुभयो । सन् २०१५ मा ४६ वर्षको उमेरमा दुर्घटनामा बचेका ब्यूको पनि ब्रेन ट्युमरका कारण मृत्यु भयो । प्रथम पत्नीको निधनपछि बाइडेनले जिल बाइडेनसँग दोस्रो विवाह गर्नुभयोे । 

सन् १९६८ मा बाइडेनले कानुनमा स्नातक गर्नुभयो । त्यसपछि उहाँले एक ल फर्ममा कानुनी अभ्यास गर्न थाल्नुभयो । साथै उहाँले डेमोक्र्याटिक पार्टीको सक्रिय सदस्यता पनि लिनुभयो । सन् १९७० मा उहाँ न्यु कास्टलको कन्ट्री काउन्सिलमा निर्वाचित हुनुभयो । बाइडेन सन् २००८ मा राष्ट्रपति बाराक ओबामासँगै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । त्यसपछिको आठ वर्ष उपराष्ट्रपतिका रूपमा काम गर्नुभएका उहाँले चार वर्षपछि राष्ट्रपतिमा जित हात पार्नुभएको हो । बाइडेन अमेरिकाको राष्ट्रपति बन्नका लागि गरेको तेस्रो प्रयासमा सफल हुनुभएको हो । उहाँले तीन दशकभन्दा लामो समय अमेरिकाको माथिल्लो संसद् सिनेटमा बिताउनुभएको छ । बाइडेनले ३३ वर्षअघि नै सन् १९८७ मा राष्ट्रपतिका लागि पहिलोपटक प्रयास गर्नुभएको थियो । तर, त्यसको ३३ वर्षपछि उहाँ विश्वको सबैभन्दा शक्तिशाली मुलुकको राष्ट्रपति बन्न सफल हुनुभएको छ । 

उपराष्ट्रपति बनेर शासनको अनुभव गरिसक्नुभएका बाइडेनको विदेश मामिलामा पनि लामो समयको अनुभव छ । बाइडेन सन् १९९१ मा भएको खाडीयुद्धको विपक्षमा उभिनुभएको थियो भने सन् २००३ मा इराकमा आक्रमण गर्ने पक्षमा मतदान गर्नुभएको थियो । यद्यपि, आक्रमणपछि इराकलाई पुगेको नोक्सानबारे भने उहाँले अमेरिकाको कडा आलोचना गर्नुभएको थियो । ओसामा बिन लादेन मार्ने बेलामा बाइडनले सो आक्रमण नगर्न सल्लाह दिनुभएको थियो ।  गतवर्षको जनवरीमा एक ड्रोन आक्रमणमा इरानका जनरल कासिम सुलेमानीको हत्याको आदेशमा भने बाइडेनले खुलेर समर्थन गर्नुभएको थियो । 

अधिकांश विदेश मामिलामा बाइडेनले मध्यमार्गी बाटो रोज्दै आउनुभएको छ । उहाँको पार्टी डेमोक्रा्यटिक अमेरिकामा उदारवादी पार्टी मानिन्छ । यसर्थ बाइडेनले लिने नीति पनि नरम प्रकारको हुने कतिपयको विश्लेषण छ भने केहीले चाँहि व्यक्ति फरक पर्दैमा अमेरिकी विदेश नीति परिवर्तन नहुने बताउने गरेका छन् ।

जादाँजादै ट्रम्पले भन्नुभयो– हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ

यसअघि आफ्नो कार्यकालको अन्तिम दिन बिदाइ सम्बोधन गर्दै आफ्नो डोनल्ड ट्रम्पले प्रशासनको बचाउ गर्दै मेलमिलापको आशय झल्कने भनाइ राख्नुभएको थियो । ‘अमेरिका काँतर आत्महरूको काँतर राष्ट्र होइन जसलाई उनीहरूले विमति राख्नेबाट जोगाउन वा सुरक्षित पार्नुपर्छ,’ उहाँले भन्न्ुभयो, ‘हामी सदा सबै संसारका निम्ति आशा, प्रकाश तथा गौरवको भूमि हौँ र रहनुपर्छ ।’

नयाँ प्रशासनबारे बोल्दै उहाँले भन्नुभयो, ‘हामी (नयाँ प्रशासन)ले अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइराख्नमा सफल होस् भनेर कामना गर्छौँ ।’ आफ्नो प्रशासनको उपलब्धिबारे उहाँले भन्नुभयो, ‘हामी यहाँ जे गर्न भनेर आएका थियौँ हामीले त्यो ग¥यौँ र अझ धेरै ग¥यौँ । सबैभन्दा मुख्य कुरा हामीले अमेरिकामा सरकार जनताप्रति जबाफदेही हुन्छ भन्ने पवित्र मान्यता पुनःस्थापित ग¥यौँ ।’ पछिल्लो समय अमेरिकामा भएको हिंसाका बारेमा उहाँको भनाइ थियो ‘राजनीतिक हिंसा भनेको अमेरिकीका रूपमा हामीले गौरव गर्ने सबै चिजमाथिको आक्रमण हो । त्यसलाई कहिल्यै पनि सहन सकिन्न ।’ यस्तै उहाँले भन्नुभयो, ‘अहिले जब म बुधबार नयाँ प्रशासनलाई सत्ताको बागडोर सुम्पँदैछु, म चाहन्छु कि तपाईंहरूले बुझ्नुहोस् हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ ।’ 

यसैबीच, ट्रम्पले आफ्नो कार्यकाल सकिन लाग्दा बुधबार ७३ जनाको सजाय माफ दिनुभएको छ । सजाय माफ गरिएकामा ट्रम्पका पूर्व–सल्लाहकार स्टिभ ब्यानन पनि हुनुहुन्छ । ‘राष्ट्रपति ट्रम्पले ७३ जनाको सजाय माफ गर्नुका साथै अरू ७० जनाको सजाय कटौती गर्नुभएको छ’, ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यस्तै, राष्ट्रपति ट्रम्पका पूर्व–सहयोगी इलिअट ब्रोइडी र गायक लिल वाइनेको पनि सजाय माफ भएको छ । 

(एजेन्सीको सहयोगमा) 


Views: 77