18th May | 2021 | Tuesday | 7:01:51 AM

भारतको उत्तराखण्डमा हिमनदी फुटेपछि धौलीगंगा र अलकनन्दा नदीमा ठूलो बाढी

एजेन्सी   POSTED ON : माघ २६, २०७७ (१०:२२ AM)

भारतको उत्तराखण्डमा हिमनदी फुटेपछि धौलीगंगा र अलकनन्दा नदीमा ठूलो बाढी

नयाँदिल्ली । भारतको उत्तराखण्डको चमोली जिल्लाको हिमाली क्षेत्रमा आइतबार बिहान गएको हिमपहिरो र धौलीगंगा नदीको बाढीले ठूलो मात्रामा जनधनको क्षति पु¥याएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उत्तराखण्डको जोशी मठक्षेत्रस्थित हिमाली क्षेत्रमा बिहान करिब दस बजेको आसपासमा हिमपहिरो गएको थियो ।

बाढीले नदी आसपासका कैयौं घर बगाएको छ । नदीमा बाढी आएपछि आसपासका गाउँबाट स्थानीयलाई सुरक्षित स्थानमा लैजान सुरु गरिएको छ । समाचार एजेन्सी पिटिआईका अनुसार ऋषिगंगा पावर प्रोजेक्टमा काम गर्ने १५० जना मजदुर बेपत्ता भएका छन् भने आइतबार साँझसम्म उक्त घटनामा परि कम्तिमा १० जनाको मृत्यु भएको सञ्चार माध्यमले उल्लेख गरेका छन् । उत्तराखण्ड चमोली र आसपासको क्षेत्रमा पश्चिम नेपालबाट हजारौंको संख्यामा नेपालीहरू रोजगारीका लागि जाने गर्छन् । पछिल्लो घटनामा नेपालीहरूसमेत परेको आंशका गरिए पनि पुष्टि भएको छैन ।

ऋषिगंगासँगै एनटिपिसीको पनि एक परियोजना क्षतिग्रस्त भएको छ । तपोवन बाँध, श्रीनगर बाँध र ऋषिकेश बाँध पनि क्षतिग्रस्त भएका छन् । टिबिपी, एसडिआरएफ र एनडिआरएफका टिमहरू घटनास्थल पुगेका छन् । रेड अलर्ट जारी गरिएको छ ।

नदीका कैयौं तटबन्ध भत्किएको बताइएको छ । बाढीका कारण ऋषिगंगा परियोजनामा पनि क्षति पुग्ने आशंका गरिएको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घटनास्थलको निरीक्षण गर्नुभएको छ । सञ्चारमाध्यमहरूका अनुसार उद्धारका लागि देहरादुनबाट करिब ३०० किलोमिटर टाढा रहेको हिमपहिरो गएको क्षेत्रमा उद्धारकर्मीहरूलाई जहाजबाट उतारिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार उत्तराखण्डको हालको निगरानी गरिरहेको बताउनुभएको छ । एनडिआरएफका केही टिम देहरादुनबाट जोशीमठ पठाइएका छन् । उत्तराखण्ड पुलिसका अनुसार श्रीनगर, ऋषिकेश र हरिद्वारमा पानीको स्तर खतराको चिन्हभन्दा माथि पुगिसकेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतसँग फोनमा कुरा गर्नुभएको छ । 

मुख्यमन्त्री रावतका अनुसार नन्दप्रयागअगाडि अलकनन्दा नदीको बहाव सामान्य भएको छ । उहाँले जनतासँग हल्लाप्रति ध्यान नदिन आग्रह गर्नुभएको छ । उत्तर प्रदेशमा पनि हाइअलर्ट जारी गरिएको छ । मुख्यमन्त्री योगी आदित्यनाथले गंगा किनारका सबै बस्तीमा जलस्तरमाथि निगरानी गर्न निर्देशन दिनुभएको छ । अहिले हरिद्वारमा कुम्भ मेला चलिरहेको छ । त्यसैले राज्य सरकारले यहाँ पनि हाई अलर्ट जारी गरेको छ ।


Views: 97