अमेजनका संस्थापक जेफ बेजोसको अन्तरिक्ष उडान

एजेन्सी   POSTED ON : श्रावण ७, २०७८ (७:४७ AM)

अमेजनका संस्थापक जेफ बेजोसको अन्तरिक्ष उडान

न्यूयोर्क । अमेजनका संस्थापाक जेफ बेजोसले अन्तरिक्ष उडान गर्नुभएको छ । अमेरिकी अर्बपति बेजोसले दश मिनेटको अन्तरिक्ष उडान भरेर फर्किनुभएको हो । मंगलबार साँझ बेजोस आफ्ना दाइ मार्क बेजोस, १८ वर्षीय छात्र ओलिभर डायमेनसँगै उडान भर्नुभएको थियो । 

पृथ्वीबाट उडान भरेको करिब १० मिनेट १० सेकेण्डपछि चारैजना एक प्यारासुटबाट पृथ्वीमा टेक्नुभएको थियो । यसमा ८२ वर्षीय पूर्वपाइलट वैली फंक अन्तरिक्षमा पुग्नुहुने सबैभन्दा बढी उमेरको अन्तरिक यात्रीको कीर्तिमान बनाउनुभयो भने ओलिभर सबैभन्दा कान्छो अन्तरिक्ष यात्रीको रूपमा आफ्नो नाम दत्र्ता गराउन पुग्नुभयो । 

अन्तरिक्ष यात्रा गर्ने चारैजना बेजोसको कम्पनी ‘ब्लू ओरिजिन’को अन्तरिक्ष यान ‘न्यू शेफर्ड’बाट उडान भर्नुभएको थियो । न्यू शेफर्डले मंगलबार साँझ करिब पौने सात बजे अमेरिकाको टेक्सस राज्यमा पर्ने एक मरुभूमिबाट अन्तरिक्षका लागि उडान भरेको थियो । उडान भरेको दुई मिनेटपछि कैप्सुल यान मूल यानबाट अलग भएको थियो । जुन पृथ्वीको सतहभन्दा एक सय किलोमिटर माथि अन्तरिक्षसम्म पुग्यो । 

चारैजना यात्रुले अन्तरिक्षमा करिब चार मिनेटमा शून्य भारविहीनताको अनुभब गरे । चारैजनाले ‘सिटबेल्ट’ उप्काएर हावामा पौडी खेलेको अनुभव प्राप्त गरे । टाढाबाट पृथ्वीलाई अवलोकन गर्ने आनन्दसमेत चारैजना अन्तरिक्ष यात्रीले लिए । न्यू शेफर्डको अन्तरिक्ष यात्रा गत साता अर्का अर्बपति रिचर्ड ब्रैनसनको सफल उडानपछि भएको हो । 

जेफ बेजोस तथा रिचार्ड ब्रान्सनले अन्तरिक्ष पर्यटनको सुत्रपात गर्नुभएको भए पनि फजुल र अनावश्यक खर्च गरेको भन्दै उहाँहरूमाथि धेरैले तीव्र आलोचना पनि गरिरहेका छन् । अर्बपतिहरूले अन्तरिक्षमा घुम्नका लागि ठूलो रकम खर्च गर्नुको साटो उक्त पैसालाई जलवायु परिवर्तनविरुद्धको लडाइँ तथा महामारी नियन्त्रणमा लगाउनुपर्ने धेरै मानिसहरूको मत छ ।


Views: 53

Top