ट्युनिसियाका प्रधानमन्त्री बर्खास्त, संसद् भंग

एजेन्सी   POSTED ON : श्रावण १२, २०७८ (७:०७ AM)

ट्युनिसियाका प्रधानमन्त्री बर्खास्त, संसद् भंग

टुनिस । हिंस्रक प्रदर्शन बढेपछि ट्युनिसियाका प्रधानमन्त्री बर्खास्त हुनुभएको छ भने संसद् भंग भएको छ । राष्ट्रपति कैस सैयदले प्रधानमन्त्री हिचम मेकिनीलाई पदबाट बर्खास्त र संसद् भंग गर्नुभएको हो । विपक्षीहरूले पछिल्लो घटनाक्रमलाई तख्तापलटको संज्ञा दिएका छन् । 

कोरोना महामारीसँग जुध्न सरकार विफल भएको भन्दै त्यहाँका नागरिकले विरोध प्रदर्शन थालेका थिए । प्रदर्शन हिंस्रक बनेको थियो ।  आइतबार ट्युनिसियाका लगभग हरेक क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए । प्रहरी र प्रदर्शनकारीबीच हिंस्रक झडप भएका थिए । सो घटनापश्चात् राष्ट्रपति सैयदले प्रधानमन्त्री मेकिनीलाई पदबाट बर्खास्त गर्नुभएको हो ।

देशमा शान्ति र अमनचयन कायम गर्न आफूले यसो गरेको र नयाँ प्रधानमन्त्री नियुक्त भएपछि स्थिति नियन्त्रणमा आउने सैयदले दाबी गर्नुभएको छ ।

संसद्को सबैभन्दा ठूलो दल एन्नाहदाले राष्ट्रपतिको उक्त कदम संविधानविरुद्धको क्रान्ति भएको जनाएको छ । पछिल्लो एक वर्षदेखि राष्ट्रपति र प्रधानमन्त्रीबीच विवाद हुँदै आएको थियो । प्रधानमन्त्री हिचम मेकिनी गत वर्ष निर्वाचित हुनुभएको थियो भने राष्ट्रपति साइद सन् २०१९ मा निर्वाचित हुनुभएको हो ।


Top