कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पाद्वारा राजीनामा

एजेन्सी   POSTED ON : श्रावण १२, २०७८ (७:२२ AM)

कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पाद्वारा राजीनामा

बैंगलोर । कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पाले सोमबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राज्यमा भारतीय जनता पार्टी (भाजपा) सरकारको दुई वर्ष पूरा भएको कार्यक्रममा भाग लिन पुग्नुभएका येदियुरप्पाले राजीनामाको घोषणा गर्नुभएको हो । 

राजीनामा घोषणा गर्दै उहाँले आफू सधैं अग्निपरीक्षाबाट गुज्रिएको बताउनुभयो । त्यसपछि उहाँले राजभवन पुगेर गभर्नरलाई आफ्नो राजीनामापत्र बुझाउनुभएको थियो । उहाँको राजीनामालाई स्वीकार पनि गरिएको छ । नयाँ मुख्यमन्त्री घोषणा नभएसम्म उहाँ कार्यकारी मुख्यमन्त्री कायम रहनुहुनेछ । 

उहाँले राजीनामा दिन हाइकमान्डबाट कुनै दबाब नआएको र आफू स्वयंले यो निर्णय लिएको बताउनुभएको छ । कर्नाटकमा सेवा गर्ने मौका दिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई धन्यवाद दिँदै अब आफू पार्टीलाई सशक्त बनाउन भूमिका खेल्ने उहाँले बताउनुभएको छ । 

चारपटक मुख्यमन्त्री बन्नुभएको उहाँ सन् २०१९ मा पछिल्लोपटक मुख्यमन्त्री बन्नुभएको थियो । उहाँले आफ्नो कार्यकाल भने कहिल्यै पूरा गर्न पाउनुभएन । नयाँ मुख्यमन्त्रीको दौडमा बसवराज बोम्मई, प्रह्लाद जोशी, विश्वेश्वरा हेडडे केगरी र मुरुगेश निरानी रहेको बताइएको छ । 


Top