अबको समय एकता र ऐक्यबद्धताको : राष्ट्रपति घानी

एजेन्सी   POSTED ON : श्रावण २०, २०७८ (६:४८ AM)

अबको समय एकता र ऐक्यबद्धताको : राष्ट्रपति घानी

काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अमेरिकाले आफ्नो फौज फिर्ता लिने ‘आकस्मिक’ निर्णय देशको खस्कँदो सुरक्षास्थितिको प्रमुख कारक भएको बताउनुभएको छ । ‘हाम्रो वर्तमान अवस्थाको कारक अमेरिकी नेतृत्वको उत्तर एटलान्टिक सैनिक संगठन (नेटो) सेनालाई अफगानिस्तानबाट फिर्ता गर्ने निर्णय हो’, उहाँले सोमबार अफगान संसदमा भन्नुभएको हो । 

उहाँले वासिंटनलाई यो निकासले गलत ‘परिणाम’ ल्याउने चेतावनी दिनुभएको टोलो न्यूजले लेखेको छ । राष्ट्रपति घानीले राष्ट्रिय सभाको विशेष सत्रमा अफगानिस्तानले अस्तित्वको परीक्षणको सामना गरिरहेको र यो परीक्षण सफलतापूर्वक पारित गर्न देश एकजुट हुनुपर्ने कुरा बताउनुभयो । 

घानीले मुलुकको सुरक्षा अवस्था सुधारका लागि ६ महिने सुरक्षा योजना को सुरुवात गर्ने घोषणा गर्नुभएको छ । उहाँले अफगानिस्तानमा विदेशी सैन्य उपस्थितिको अवधि समाप्त भएको र अब अफगानीहरूले आफ्नो भविष्य निर्धारण गर्ने जिम्मेवारी भएको बताउनुभयो । राष्ट्रपति घानीले आफ्नो भाषणमा वर्तमान समयले मुलुकमा शान्ति र सद्भाव निर्माणको अवसर प्रदान गरेको र अबको समय एकता र ऐक्यबद्धताको समय भएको बताउनुभयो । 

संसदका दुवै सदनका सदस्यहरूलाई सम्बोधन गर्दै घानीले देशले देशभरि हजारौंसँग सम्पर्क भएका तालिवानबाट ‘आक्रमण’ को सामना गरिरहेको र शासनको रक्षा गर्न अफगान सेनालाई जुटाउनु आवश्यक छ भन्नुभयो । तालिवानतर्फ संकेत गर्दै राष्ट्रपति घानीले भन्नुभयो, ‘अफगानीहरूबीचको शत्रुता गम्भीर विषय हो । अहिलको अवस्थामा कुनै समूहले आत्मसमर्पण गर्ने देखिएको छैन ।’ 

उहाँले थप्नुभयो, ‘तालिवानहरूले आफ्ना हिंसात्मक आक्रमणलाई सशक्त बनाएका छन् । ‘वास्तविकता के हो भने, गत तीन महिनामा हामीले अप्रत्याशित परिस्थितिको सामना गरेका छौं । हामीले आन्तरिक र बाहृय अफवाहको सामना गरिरहेका छौं ।’ 

घानीको यो भनाइ अफगास्तिानको सुरक्षा बलले तालिवानलाई नियन्त्रणमा राख्न संघर्ष गरिरहेका समय आएको छ । अफगानिस्तानको दक्षिण क्षेत्रमा लश्कर गाहमा सुरक्षा बल र तालिवान समूहबीच रातभर लडाइँ जारी थियो तर अफगानिस्तानको सेनाले तालिबानको पछिल्लो आक्रमणलाई विफल पारेको दाबी गरेको छ । 

अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच भीषण संघर्ष भइरहेको छ । विद्रोहीहरूले हेलमण्ड प्रान्तको राजधानी लस्करगाहमा कब्जा जमाएपछि संघर्ष चर्किएको हो । सरकारी सेनालाई अमेरिकी सेनाले हवाई आक्रमणमा सघाइरहेको छ ।

लस्करगाहमा तालिवान विद्रोहीले टेलिभिजन स्टेशनसमेत कब्जा गरिसकेका छन् भने सर्वसाधारणहरू शहर छाडेर अन्यत्र गइरहेका छन् । हेलमण्ड प्रान्तमा सबैतिर लडाइँ जारी रहेको जनाइएको छ । अमेरिकी र ब्रिटिश सेनाको केन्द्र बनेको हेलमण्डमा तालिवानले कब्जा जमाउनु अफगान सरकारका लागि ठूलै धक्का हुनेछ ।

लस्करगाह विद्रोहीले कब्जामा लिएको पहिलो प्रान्तीय राजधानी हो । विद्रोहीले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहार कब्जा गर्ने कोसिस जारी राखेका छन् । यस्तै अर्को शहर हेरातमा पनि लडाइँ जारी छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने क्रम सुरु भएपछि तालिवान विद्रोहीले आक्रमण तीव्र बनाउँदै आएका छन् ।


Top