अफगानिस्तानमा मानवीय सहयोग आवश्यक : राष्ट्रसंघ

एजेन्सी   POSTED ON : श्रावण ३१, २०७८ (६:३१ AM)

अफगानिस्तानमा मानवीय सहयोग आवश्यक : राष्ट्रसंघ

काबुल । अफगानिस्तानमा देशभर लडाइँ फैलिँदै जाँदा झण्डै चार करोड जनसंख्यामध्ये एक करोड ८४ लाख जनसंख्यालाई मानवीय सहयोगको आवश्यकता पर्न सक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओसीएचए) ले भनेको छ, ‘द्वन्द्व र अन्य खतराहरूबाट सुरक्षाको खोजीमा धेरै मानिसहरू काबुल र अन्य ठूला सहरहरूमा आइपुगेका छन् ।’

ओसीएचएले भनेको छ, ‘विस्थापित, द्वन्द्व, बाढी, लिंगसम्बन्धी मुद्दा र सुरक्षा निगरानीमा ध्यान केन्द्रित गर्दै मानवीय आवश्यकता र तत्काल आवश्यक प्रतिक्रियाबारे कार्यक्रम निर्धारण गर्न राष्ट्रसंघ र राष्ट्रिय तथा  अन्तर्राष्ट्रिय गैरसरकारी संगठनहरूबीच आन्तरिक मूल्यांकन भइरहेको पनि छ ।’ 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका मुख्य प्रवक्ता स्टेफन डुजारिकले सञ्चारकर्मीसँगको नियमित भेटका क्रममा अफगानिस्तानको पछिल्लो घटनाक्रमबारे भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघ र गैरसरकारी संस्था दुवैको मानवीय सहयोग समूह अफगानिस्तानमा रहन र उद्धार गर्न समर्पित रहेको छ तर सुरक्षा वातावरण अत्यन्त जटिल र चुनौतीपूर्ण छ ।’ 

डुजारिकले भन्नुभएको छ, ‘संयुक्त राष्ट्रसंघमा अफगानिस्तानका झण्डै तीन हजार ४०० राष्ट्रिय कर्मचारी र करिब ३०० अन्तर्राष्ट्रिय कर्मचारी रहेका भए पनि अहिले उनीहरूमध्ये अधिकांश कोभिड–१९ को महामारीका कारण अफगानिस्तानबाहिर रहनुपरेको छ । हामी द्वन्द्वरत सबै पक्षहरूसँग सम्पर्कमा छौं ।’

यता तालिवानले अफगानिस्तानका विभिन्न क्षेत्र आफ्नो अधिनमा लिँदै गएका छन् । उनीहरूले मुलुकको दोस्रो ठूलो सहर कान्दाहारलाई पनि आफ्नो नियन्त्रणमा लिएका छन् ।

यो सहर कुनै समय तालिवानको महŒवपूर्ण पकड रहेको सहर थियो र रणनीतिक हिसाबमा पनि यो सहर निकै महŒवपूर्ण छ । यसलाई अफगानिस्तानको ट्रेड हबका रूपमा लिने गरिन्छ ।

यसैबीच अफगानिस्तानमा समस्या बढ्दै गएपछि त्यहाँका कूटनीतिक नियोगका कर्मचारीलाई सहयोग गर्न पहिलो अमेरिकी सैन्य समूह अफगानिस्तान पुगेको छ । शुक्रबारमात्र विद्रोही तालिवान समूहले अफगानिस्तानको राजधानी काबुलभन्दा ८० किलोमिटर टाढा लोगा प्रान्तको राजधानी पुल ए आलमलाई नियन्त्रणमा लिएपछि अमेरिकाले यो कदम चालेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अफगानिस्तानका एक मन्त्रीसँग कुराकानी गर्दै देशको अवस्थाका बारेमा चासो र चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँहरूको छलफलकै आधारमा शनिबार अमेरिकी सैनिक अफगानिस्तान आएको बताइएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो एक महिनामा मात्र अफगानिस्तानको युद्धमा एक सय आमनागरिक मारिएका छन् । सेभ द चिल्ड्रेनका अनुसार पछिल्लो केही दिनमा राजधानी सहरमा विभिन्न स्थानबाट ७२ हजार बालबालिका सुरक्षा खोज्दै आइपुगेका छन् र उनीहरू सडकमा नै सुत्न बाध्य छन् । लक्सार गहाको नजिकका क्षेत्र र पश्चिममा हेरातसम्मका स्थान तालिवानको कब्जामा परेका छन् ।

उता क्यानडाले अफगानिस्तानका नागरिकहरूलाई मद्दत गर्ने घोषणा गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रयुडोले टिवट् गर्दै अफगानिस्तानमा स्थिति खराब हुँदै गरेको र त्यहाँका जनताको जीवन खतरामा रहेको बताउनुभएको छ । उहाँले ट्विटरमा लेख्नुभएको छ, ‘उनीहरूको मद्दतका लागि हामी रिसेटल्मेन्ट प्रोग्राम विस्तार गरिरहेका छौं । हामी प्रभावित बनेका २० हजार जना अफगानिस्तानका जनतालाई शरण दिन्छौं र यो प्रक्रियालाई चाँडो अगाडि बनाउँछौं ।’

२० वर्षपछि अमेरिकी नेतृत्वको विदेशी सैनिकले अफगानिस्तान छाडेपछि तालिवानले देशका विभिन्न भूभाग कब्जा गर्दै गइरहेको छ । 

अफगानिस्तानको पछिल्लो परिस्थितिबारे छलफल गर्न कतारको अध्यक्षतामा बसेको चीन, अमेरिका, भारतसहितको बैठकले तत्काल युद्धविराम गर्न आग्रह गरेको छ । सैन्यभन्दा शान्तिपूर्ण वार्ताका माध्यमबाट समस्या समाधान गर्न पनि ती मुलुकहरूले आग्रह गरेका छन् ।

आधाभन्दा बढी अफगानिस्तान तालिवान विद्रोहीले नियन्त्रणमा लिएपछि राष्ट्रपति असरफ घानीले अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्नुभएको छ । उहाँले शनिबार देशवासीलाई सम्बोधन गर्दै तत्काल राजीनामा नदिने पनि बताउनुभएको छ । तर, उहाँले कस्तो सहयोग भन्ने विषयमा भने खुलाउनुभएको छैन । 


Top