अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे

एजेन्सी   POSTED ON : श्रावण ३२, २०७८ (५:१७ AM)

अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे

काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति  अमरुल्लाह सलेहले देश छाड्नु भएकोछ । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उहाँहरूले देश छाडेको बताइएको छ । अफगानी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले तालिबानको कडा दबावपछि ताजिकिस्तानका लागि आइतबार उडेको उल्लेख गरेको छ ।

यसअघि घानीले अफगानिस्तान गम्भीर संकटमा रहेको प्रतिक्रिया दिनुभएको थियो । आइतबार तालिबानको सक्रियता राजधानीमै हुन थालेपछि उहाँले आपतकालीन बैठक बोलाएर त्यसपछि देश नै छाड्नु भएको हो ।

पछिल्लो १० दिनमा अफगानिस्तानका धेरै शहरमाथि विद्रोही संगठन तालिवानले आफ्नो नियन्त्रणमा लिएको छ । यसअघि त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो ।

तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो । तालिबान काबुल आइपुगेपछि आइतवार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेको देखिएको थियो ।

पछिल्लो समय अफगानिस्तानमा अमेरिकी सेनाले छाडेपछि तालिबान लडाकूहरूले आफ्नो सक्रियता बढाउँदैआएको थियो । हाल संकटग्रस्त अवस्थामा रहेको अफगानिस्तानबाट अमेरिका, बेलायतलगायत देशले काबुलबाट आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् ।


Top