अफगानिस्तानको काबुल विमानस्थलमा अनियन्त्रित भिड

हिमालय टाइम्स   POSTED ON : श्रावण ३२, २०७८ (५:२४ PM)

अफगानिस्तानको काबुल विमानस्थलमा अनियन्त्रित भिड

काठमाडौं । अफगानिस्तानमा तालिबानले  पुनः कब्जा जमाएको छ । सन् २००१ मा अमेरिकाको आक्रमणपछि सत्ताबाट बाहिरिएको तालिबानले अमेरिकी सेना फिर्ता गएसँगै अफगानिस्तानमा कब्जा जमाएको हो । 

देशका अधिकांश भागमा नियन्त्रण कायम गरेपछि तालिबान लडाकुहरू आइतवार राजधानी काबुल प्रवेश गरेका थिए ।

उनीहरूले सोही दिन राष्ट्रपति भवनलाई पनि आफ्नो नियन्त्रणमा लिएका थिए ।

अफगान राष्ट्रपति अशरफ घानी र उपराष्ट्रपति  अमरुल्लाह सलेहले देश छाडेका छन् । त्यसैगरि अन्य केही वरिष्ठ अधिकारीहरू देश छोडेर अन्यत्र पलायन भएपछि त्यहाँ शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्न वार्ता गरिएको थियो । अफगान राष्ट्रपति अशरफ घानी कहाँ गए भन्ने चासो सर्वत्र देखिएको छ । आइतबार तालिबानको सक्रियता राजधानीमै हुन थालेपछि राष्ट्रपतिले आपतकालीन बैठक बोलाएर त्यसपछि देश नै छाडेका हुन् ।

तालिबान नेतृत्वले अफगान नागरिकहरूलाई केही नगर्न फेरि आफ्ना लडाकुहरूलाई निर्देशन दिएको छ । 

काबुलका सडकहरूमा तालिबान लडाकुहरू यत्रतत्र देखिन्छन् भने सयौँ सङ्ख्यामा मानिसहरू विदेश जाने प्रयासमा विमानस्थलमा भेला भएका छन् । 

यसैबीच हजारौँ सुरक्षाकर्मीले आफूसमक्ष आत्मसमर्पण गरेको तालिबानको दाबी छ ।

ती सुरक्षाकर्मीलाई तालिबान लडाकुहरूले तीन दिनदेखि घेराबन्दी गरेर राखेका थिए ।

तालिबान लडाकुहरू काबुल छिरेपछि ठूलो सङ्ख्यामा मानिसहरूले अन्यत्र जाने प्रयास गरेका हुन् ।

अमेरिकाले आफ्नो दूतावासका कर्मचारीलाई काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको बताएको छ । अमेरिकी सैनिकहरूले उक्त विमानस्थलको परिधिलाई सुरक्षा दिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

यसैबीच रुस र चीनले भने आफ्ना दूतावास बन्द नगर्ने जनाएका छन् । 

सोमवार बिहान विमानस्थलमा अनियन्त्रित भिडलाई तितरबितर पार्न अमेरिकी सेनाले हवाई फायरसमेत गरेको थियो । सोहीमा परि केही व्यक्तिको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

रोएटर्सले हवाई फायरमा हताहत हुनेको सङ्ख्या बढी भएको जनाएको छ ।

दौडिएर विमान चढ्न खोज्ने मानिसहरूको “अनियन्त्रित“ भिडलाई रोक्न सैनिकहरूले गोली चलाउनुपरेको एक अधिकारीले रोएटर्सलाई बताएका छन्। –एजेन्सी


Top