काबुलमा तालिवानले सत्ता कब्जा गरेपछि अमेरिकाको विश्वव्यापी छविमा गिरावट

तालिवानले पहिलेजस्तो त्रासदीपूर्ण र कठोर शासन नगर्ने अनुमान

नारायण भण्डारी   POSTED ON : भदौ १, २०७८ (६:०८ AM)

काबुलमा तालिवानले सत्ता कब्जा गरेपछि अमेरिकाको विश्वव्यापी छविमा गिरावट

काठमाडौं ।  अफगानिस्तानमा मुस्लिम अतिवादी समूह तालिवानले सत्ता कब्जा गरेपछि अमेरिका र उसका सहयोगी मुलुकका दूतावासहरू बन्द भएका छन् । अमेरिकी दूतावासमा कार्यरत सबै कर्मचारीलाई उद्धार अमेरिकाले गरेर अन्यत्र लगेको छ । अमेरिकी आधिकारीहरूलाई काबुलबाट सुरक्षित स्थानमा लगिएको छ ।

२० वर्षअघि अमेरिकाले काबुलबाट धपाएका तालिवानहरू अफगानी सुरक्षाकर्मीलाई परास्त गर्दै फेरि सत्तामा फर्किएका छन् । अमेरिकी सेना फर्किएको ६ महिनाभित्र राष्ट्रपति असरफ घानीको सरकार ढाल्ने धेरै विश्लेषकहरूको दाबी थियो । तर, तालिवानलाई काबुलको राष्ट्रपति कार्यालय छिर्न ६ महिना लागेन न त सबै अमेरिकी सैनिक नै फिर्ता हुनुपर्‍यो । तालिवानहरूले राष्ट्रपति कार्यालयमा डेरा जमाउनुअघि नै राष्ट्रपति घानी देश छोडेर हिँडिसक्नुभएको थियो । तालिवानहरूले काबुल कब्जा गर्दा कसैले प्रतिरोध गरेन । कुनै पनि ठाउँमा अफगान सुरक्षाकर्मीले तालिवानसँग भिडन्त गरेर उनीहरूलाई परास्त गर्न सकेनन् । धेरै ठाउँमा त उनीहरूले सामान्य प्रतिरोध पनि गरेनन् बरू आत्मसमर्पण गरिदिए ।

अमेरिकाले अफगानी सेनाको तालिममा मात्रै करिब ८९ अर्ब अमेरिकी डलर खर्च गरेको छ । तर महँगा सैन्य सामग्री भएको अफगानी सेनाले तालिवानका लडाकुहरूसँग एक महिनामै घुँडा टेक्यो । केही दिनभित्रै तालिवानले अफगानिस्तानका मुख्य शहर कब्जा गर्‍यो ।

२० वर्षअगाडि यस्तो होला भन्ने कल्पना कसैलाई थिएन । तालिवान नेताहरू आफूहरूले अमेरिकालाई जितेको दाबी गर्दैछन् । चार महिनाअगाडि नै बीबीसीसँग अफगानिस्तानको बालक जिल्लाका तालिवानी छायाँ मेयर हाजी सिक्मतले भनेका थिए, ‘हामीले युद्ध जित्यौं । अमेरिकाले हार्‍यो ।’

अफगानस्तानको विद्रोहमा भएको क्षतिको तथ्यांकले पनि तालिवान तथा अन्य विद्रोहीको मृत्यु संख्या सत्ताधारीको भन्दा १८ हजार ४०१ थोरै देखिन्छ । अर्थात सैन्य मोर्चामा अमेरिकी तथा अफगानी सत्ताधारीको धेरै क्षति भएको छ । आँकडाले गैरसैन्य पक्षको मृत्यु संख्या ५१ हजार ६०७ देखिन्छ । यो हताहतीको मुख्य नोक्सानी सत्तापक्षकै मान्नुपर्छ । किनभने नागरिकहरूको जिउधन रक्षाको प्रमुख नेतृत्व राज्यकै हो ।

अमेरिकीहरूलाई सधैं अफगानिस्तानमा लड्न सकिन्न बरू यहाँकै सुरक्षाकर्मीलाई बलियो बनाए काबुलमा प्रजातान्त्रिक सरकार बनिरहन्छ भन्ने लागेको थियो । राष्ट्रपति बाराक ओबामा प्रशासनको मुख्य रणनीति नै अफगान सुरक्षाकर्मीलाई बलियो बनाएर जतिसक्दो चाँडो आफूहरू फर्किने भन्ने थियो । त्यसका लागि उनीहरूले अफगान सुरक्षाकर्मीलाई उच्चस्तरको तालिम दिएका थिए । अत्याधुनिक हतियार दिएका थिए । तालिवानसँग हुँदै नभएका सैनिक जहाज र हेलिकप्टर किनेर राखेका थिए । अमेरिकीहरूले २० वर्ष समय र अर्बाैं डलर खर्चेर बनाएको अफगान सुरक्षा फौजलाई दुई महिना नपुग्दै तालिवानले पाखा लगाइदिए । आफूले बलियो बनाएको भन्ठानेका अफगान सुरक्षाकर्मी तालिवानसामू निरीह भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टिमका सदस्यहरू चकित परेका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट सबै अमेरिकी सैनिक फर्किने घोषणा गर्नुअघि नै तालिवानले अफगानिस्तानमा आक्रमण तीव्र पारेका थिए । अफगानिस्तानबाट हतारहतारमा अमेरिकी सैनिकहरू निस्कँदा अनि देशमा तालिवानले सोचेभन्दा छिटो सत्ताकब्जा गर्दा अमेरिकाको विश्वव्यापी छविमा थप धक्का पुगेको छ ।

पश्चिमा शक्ति राष्ट्रहरूसहित कैयौंले तालिवान सत्तामा आएपछि दुई दशकअघिकै जस्तो ‘महिला र बालिकाको भविष्य फेरि अन्धकारमा धकेलिने’ चिन्ता व्यक्त गरिरहेका छन् । तालिवानले पहिलाकै जस्तो महिलालाई पढ्न र काम गर्न नदिनुका साथै परिवारका पुरुष सदस्यविना बाहिर निस्किन नदिने धेरैको अनुमान छ । यद्यपि तालिवानले यसपालि त्यस्तो अवस्था नहुने बताएको छ । अब अफगानिस्तानमा तालिवानको शासन कस्तो हुने हो ? अहिलेसम्मको अवस्था त्रासदीपूर्ण नै देखिन्छ । अफगानिस्तानमा रहेका विदेशी नागरिकहरू दौडधूप गरेर विमानस्थलमा पुगेका छन् । त्यहाँ रहेका नेपालीहरूलाई पनि उद्धार गरेर नेपाल ल्याउने क्रम सुरु भएको छ ।

अफगानिस्तानमा तालिवानी शासन र उसलाई अन्य राष्ट्रहरूले कस्तो व्यवहार गर्ने हुन्, त्यो स्पष्ट छैन । लामो सशस्त्र विद्रोह र रक्तपात व्यहोरेको अफगानिस्तानको भविष्य कस्तो हुने हो भन्ने अन्योलपूर्ण नै छ । त्यहाँका संस्थापन अर्थात् पुरानो सत्ताको संरक्षणमा रहेकाहरूमाथि तालिवानको कस्तो व्यवहार हुनेछ । आत्मसमर्पण गरेको पुरानो अफगानी सेनाबारे तालिवानको निर्णय के होला ? के अब सत्ता कब्जा गरेपछि तालिवानले राज्य प्रायोजित आतंकवाद चलाउँछ ? सत्तापलटपछि यस्ता अनगिन्ती प्रश्न उठेका छन् । जसको जवाफ तत्काल भेटिँदैन ।

तालिवानप्रति चीनको ‘ग्रीन सिग्नल’

तालिवानले अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको भोलिपल्ट सोमबार चीनले उसलाई ‘ग्रीन सिग्नल’ दिएको छ । चीनले तालिवानसँग मित्रतापूर्ण सम्बन्ध राख्न चाहेको समाचार संस्था एफपीले उल्लेख गरेको छ । यसअघि गत जुलाईमा तालिवान नेता अब्दुल गनी बारदारबाट भएको चीन भ्रमणमा चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको थियो । हाल काबुलमा रहेका चीनका दूतावास खुलै छन् । रूसले पनि आफ्नो दूतावास बन्द गरेको छैन । अमेरिकी र उसका सहयोगी मुलुकका दूतावासहरू भने बन्द भइसककेका छन् । चीनले दूतावास बन्द गर्ने कुनै योजना नरहेको बताउँदै त्यहाँ रहेका आफ्ना नागरिक तथा दूतावासका अधिकारीलाई ‘भित्रै बस्न’ र अलर्टमा रहन निर्देशन दिएको छ ।

को हुन् तालिवान ?

पास्तो भाषामा तालिवान शब्दको अर्थ धार्मिक विद्यार्थी हुन्छ । उनीहरूको उदय १९९० को दशकमा शोभियत युनियनका सैनिकहरू अफगानिस्तानबाट फिर्ता भएसँगै उत्तरी पाकिस्तानबाट सुरु भएको हो । पास्तुन अभियानबाट उदय भएका उनीहरू साउदी अरबबाट सहयोग प्राप्त कट्टरपन्थी सुन्नी इस्लाम समुदायका हुन् । तालिवानले पास्तुन क्षेत्रमा शान्ति र स्थायित्व स्थापना गर्दै आफ्नो छुट्टै कानुन लागू गर्ने वाचा गरेको छ । दक्षिण पश्चिम अफगानिस्तानबाट तालिवानले आफ्नो प्रभाव बढाउँदै लगेका थिए । उनीहरूले सेप्टेम्बर १९९५ मा इरानको सीमावर्ती प्रान्त हेरत कब्जा गरे । त्यसको एक वर्षपछि राजधानी काबुल कब्जा गर्दै बुरहानुद्दिन रबानी नेतृत्वको सरकारलाई अपदस्थ गरे । रबानी अफगान मुजाहिद्दिनका संस्थापक हुन् । १९९८ सम्म आइपुग्दा तालिवानले अफगानिस्तानको ९० प्रतिशत भूभाग नियन्त्रणमा लिइसकेको थियो ।

आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा भ्रष्टाचारविरोधी कार्य गर्दै कानुनविहीनतालाई कम गर्दै सडक संरचनाहरू बनाउँदै तालिवानहरूले जनताको मन जितेका थिए । तालिवानले इस्लामिक सजायलाई समर्थन गर्दै अफगानिस्तानमा कानुनी रूपमा लागू ग¥यो । पुरुषलाई दारी राख्न र महिलालाई बुर्खा लगाउन अनिवार्य गर्‍यो ।

तालिवानले टेलिभिजन, संगीत सिनेमामा प्रतिबन्ध लगाउँदै १० वर्षभन्दा माथिका बालिकालाई विद्यालय जान रोक लगायो । उनीहरूमाथि गम्भीर मानव अधिकार उल्लंघनको आरोप लाग्दै आएको छ । उनीहरूले २००१ मा मध्य अफगानिस्तानमा रहेको कुनै समय विश्वकै अग्लो बुद्धको मूर्तिमा विष्फोट गरेका थिए । छैटौं शताब्दीमा निर्माण गरिएको यो मूर्ति २००१ मा विष्फोट गरी क्षति पुर्‍याइएको हो । विमान बुद्धका दुई मूर्तिहरू चट्टानी पहाडमा कुँदिएका थिए । जसमध्ये १५५ मिटर र अर्को ३७ मिटर अग्लो थियो ।

अफगानिस्तानमा तालिवान सत्तामा आएपछि पाकिस्तानसहित साउदी अरब र संयुक्त अरब इमिरेट्सले समर्थन गरेका थिए । अन्तर्राष्ट्रिय रूपमा तालिवानको आलोचना मलाला युसुफजाई माथिको आक्रमणलाई लिएर हुनेगर्छ । अक्टोबर २०१२ मा अल पाकिस्तानी तालिवानले उनीमाथि आक्रमण गरेको थियो । त्यसको एक वर्षपछि पाकिस्तानमा पेसावरको विद्यालयमा नरसंहार भयो । त्यहाँ अमेरिकी सैन्य ड्रोन आक्रमणमा परी पाकिस्तानी तालिवानी समूहका नेता हकिमउल्लाहको मृत्यु भएको थियो । २००१ को सेप्टेम्बरमा वल्र्ड ट्रेड सेन्टर न्यूयोर्कमा आक्रमण भएपछि अमेरिकाले तालिवानमाथि ओसामा विन लादेनलाई संरक्षण गरेको आरोप लगाएको थियो ।

अक्टोबर ७, २००१ मा अमेरिकी सैन्य गठबन्धनले अफगानिस्तानमा आक्रमण गर्‍यो । डिसेम्बरको पहिलो साता अफगानिस्तानमा तालिवानको सत्ता ढल्यो । अमेरिकी सेनाको उपस्थितिमा पनि अफगानिस्तानमा पुनः तालिवानको वर्चस्व बढ्दै गयो । सन् २०१२ मा आइपुग्दा तालिवानले काबुलमा लगातार आक्रमण गर्‍यो । जसमध्ये प्रमुख थियो नाटोको बसतियोन बेसमाथिको आक्रमण ।

सन् २०१३ मा शान्तिको झिनो आशा पलायो यस मुलुकमा । तालिवानले आफ्नो कार्यालय कतारमा स्थापना गर्ने घोषणा गर्‍यो । सन् २०१५ मा तालिवानका तत्कालीन प्रमुख मुल्लाह उमरको मृत्यु केही समय लुकाइयो । पछि उमरको साथमा रहेर काम गरेका मुल्लाह मनसुरलाई नयाँ प्रमुख बनाइयो । सोही वर्ष तालिवानले कुनडुज शहरमा कब्जा गर्‍यो । मनसुरको मृत्यु २०१६ को मे मा अमेरिकी सेनाको ड्रोन स्ट्राइकमा परेर भयो । उनको स्थानमा मावलावी हइबातुल्लाह अखुनजाडा प्रमुख बने । उनी हालसम्म समूहको नेतृत्व गरिरहेका छन् । (अन्तर्राष्ट्रिय समाचार माध्यमहरूको सहयोगमा)


Top