सबै सरकारी अधिकारीलाई आममाफी गरेको तालिबानको घोषणा, मानवीय कार्य नरोक्न राष्ट्रसंघसँग आग्रह

एजेन्सी   POSTED ON : भदौ २, २०७८ (७:१७ AM)

सबै सरकारी अधिकारीलाई आममाफी गरेको तालिबानको घोषणा, मानवीय कार्य नरोक्न राष्ट्रसंघसँग आग्रह

काबुल । सबै सरकारी अधिकारीलाई आममाफी दिएको अफगानिस्तानको सत्ता कब्जा गरेको सशस्त्र विद्रोही समूह तालिबानले घोषणा गरेको छ । मंगलबार एक विज्ञप्तिमार्फत् सबैलाई पूर्ण मनोबलका साथ काममा फर्किन आग्रह गर्दै तालिबानले भनेको छ, ‘सबैका लागि आममाफीको घोषणा गरिएको छ । त्यसैले तपाईंहरूले आफ्नो दैनिक काम पूर्ण मनोबलका साथ सुरु गर्न सक्नुहुन्छ ।’ अघिल्ला राष्ट्रपति असरफ घानी सरकारको मातहतमा रहेर काम गरेका सरकारी कर्मचारी त्रासका कारण काममा फर्किएका थिएनन् ।

यसैगरी, तालिबान नेतृत्वले अफगानिस्तानमा मानवीय कार्य जारी राख्न पनि आग्रह गरेको छ । राष्ट्रसंघको शरणार्थी नियोग (यूएनएचसीआर) लाई पठाइएको पत्रमा तालिबानले मुलुकमा उक्त संस्थाको मानवीय र राहत कार्य जारी राख्ने जनाएको हो ।

आश्वासनले मूर्तरूप पाए सहयोगको पर्खाइमा रहेका अफगानी नागरिकलाई सघाउन सकिने यूएनएचसीआरकी एसिया प्यासिफिक क्षेत्रीय निर्देशक और्भासी पटेलले जानकारी दिनुभएको छ ।

तालिबानको यसअघिको शासन सम्झनेहरूमा एक किसिमको त्रास देखिएको भन्दै पटेलले भन्नुभयो, ‘अहिले उनीहरूले आश्वासन दिएका छन् । यद्यपि उनीहरूको केही कदम अहिलेको वक्तव्यको विपरीत देखिएको छ । त्यसैले मलाई तालिबानले जे भन्छ, त्यो पालना गरोस् र मानिसहलाई बोलीबाट नभई अभ्यासगतरूपमा नै आश्वस्त पारोस् भन्ने लाग्छ ।’

सत्ता कब्जा गर्दै तालिबान शक्तिमा आएपछि अफगानिस्तानमा आममानिस त्रसित छन् भने विदेशी मुलुकहरूले आफ्ना नागरिकलाई धमाधम उद्धार गर्दै लगिरहेका छन् । 

यसैबीच तालिबानलाई शान्तिपूर्ण सत्ता हस्तान्तरणको तयारी भएको छ । राष्ट्रपति असरफ घानीले मुलुक छोडेपछि पूर्वराष्ट्रपति हमिद कारजाइको अगुवाइमा तालिबानी नेतालाई शान्तिपूर्णरूपमा सत्ता हस्तान्तरण गर्न लागिएको हो ।

यस्तै अफगानिस्तानको अन्योलपूर्ण अवस्थाको निकासका लागि पूर्वराष्ट्रपतिसहितको समन्वय परिषद् गठन गरिएको छ । परिषद्मा पूर्वराष्ट्रपति हामीद कारजाई, अब्दुल्लाह अब्दुल्लाह र मुजाहिद्दिनका नेता गुलबुद्दीन हेकमत्यार हुनुहुन्छ । 

नेता अब्दुल्लाहले राष्ट्रपति असरफ घानीले छोडेर भागेको र तालिबानले नियन्त्रणमा लिएको अवस्थामा उत्पन्न अन्योलता र अराजकता अन्त्य गर्न परिषद्ले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा सत्ता हस्तान्तरण नै नगरी राष्ट्रपति घानीले देश छोडेकोमा आपत्ति जनाउनुभएको थियो । 

परिषद्ले वर्तमान अवस्थालाई व्यवस्थित गर्न र शान्तिपूर्ण सत्ता हस्तान्तरणमा समन्वयकारी भूमिका निर्वाह गर्ने समाचार संस्था एएनआईले उल्लेख गरेको छ ।


Top