कसैसँग बदलाको भावना नराख्ने तालिबानको भनाइ

एजेन्सी   POSTED ON : भदौ ३, २०७८ (६:५८ AM)

कसैसँग बदलाको भावना नराख्ने तालिबानको भनाइ

काबुल । अफगान सत्ता नियन्त्रणमा लिएपछि तालिबानले पहिलोपटक राजधानी काबुलमा पत्रकार सम्मेलनको आयोजना गरेर कसैसँग बदलाको भावना नराखिने बताएको छ । प्रवक्ता जबिहुल्लाह मुजाहिदले युद्ध सकिएको र अब कसैसँग बदला नलिइने बताउनुभएको हो । उहाँले आफ्नो सरकारले महिलाको अधिकारलाई इस्लामको कानुनअनुसार सम्मान गर्ने पनि बताउनुभयो । उहाँले महिलासँग कुनै भेदभावसमेत नगर्ने जनाउनुभयो । 

यस्तै प्रवक्ता मुजाहिदले देशलाई विदेशीको पञ्जाबाट मुक्त गर्न सफल भएकोमा गर्व लागेको बताउनुभयो । अफगानी जनतामा बदलाको भावना नरहेको भन्दै आफूहरू बाहृय र आन्तरिक दुश्मनका विरुद्ध लड्ने बताउनुभयो । राजनीतिक वार्ता जारी रहेको र आफूहरू सबै पक्षलाई समेटेर सरकार बनाउने तयारीमा जुटेको बताउँदै प्रवक्ता मुजाहिदले आफूहरूले सत्ता कब्जा गरेपछि सबैजनालाई आममाफी दिइएको बताउनुभयो ।

उहाँले अफगानिस्तानलाई छिमेकीसहितका अन्य मुलुकविरुद्ध प्रयोग हुन नदिइने समेत बताउनुभयो । ‘हामी विश्व समुदायलाई आश्वस्त तुल्याउन चाहन्छौं कि हाम्रो जमिन कसैको विरुद्ध प्रयोग हुन दिइने छैन,’ उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, ‘हामी विदेशी देशहरूलाई आश्वस्त तुल्याउन चाहन्छौं कि सबै दूतावास, मिसन, अन्तर्राष्ट्रिय संगठन र सहायता एजेन्सीको सुरक्षालाई सुनिश्चित गर्छौं ।’ 

यसैबीच कतारमा निर्वासनमा रहनुभएका तालिबानका शीर्ष नेता मुल्लाह अब्दुल घानी बरादर अफगानिस्तान फर्किनुभएको छ । उहाँ तालिबान समूहका सह-संस्थापक हुनुहुन्छ । कतारमा रहेर उहाँले तालिबानका तर्फबाट अन्तर्राष्ट्रिय समुदायसँग लगातार वार्ता गर्नुभएको थियो । उहाँलाई अफगानिस्तानको कान्दाहार विमानस्थलमा हजारौं जनताले स्वागत गरेका छन् ।


Top