अफगानिस्तानमा विकसित परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने चीनको भनाइ

एजेन्सी   POSTED ON : भदौ ४, २०७८ (७:२६ AM)

अफगानिस्तानमा विकसित परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने चीनको भनाइ

बेइजिङ । चीनले अफगानिस्तानमा विकसित परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले ले यस्तो धारणा राख्नुभएको हो । उहाँले हालै अफगानिस्तानमा विकास भएको परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्नेसमेत बताउनुभयो ।

चिनियाँ विदेशमन्त्री यीले ‘अफगानिस्तानलाई आवश्यक सहयोग र सहज रूपमा अहिलेको संक्रमणको व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग समन्वय गर्नेछ’, भन्नुभएको छ । बुधबार साँझ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साहमोहमद कुरेसीबीच फोनवार्ता भएको थियो । त्यस फोनवार्ताका क्रममा विदेशमन्त्री यीले हाल अफगानिस्तानमा विकसित परिस्थितिलाई सामान्य बनाउन र त्यहाँको संक्रमणकालीन व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग सम्पर्क र समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

उहाँले अफगानिस्तानलाई आतंकवादविरुद्धमा चीनले सहयोग गर्ने धारणा राख्नुभएको थियो । ‘चीनले अब अफगानिस्तानलाई आतंकवादबाट बचाउन सहयोग गर्नेछ र अब अफगानिस्तान पनि आतंकवादी जम्माहुने स्थान बन्नु हुँदैन’, फोन वार्ताका क्रममा विदेशमन्त्री वाङ यीले भन्नुभएको थियो । यता तालिवानले भारतबाट अफगानिस्तानमा हुने निर्यातमा प्रतिबन्ध लगाएको छ । फेडरेसन अफ इण्डिया एक्सपोर्ट अर्गनाइजेसनका डा.अजय सहायले तालिवानले निर्यातलाई रोकेको जनाउनुभएको हो । 

समाचार एजेन्सी एनीका अनुसार तालिवानले अहिले भारतबाट हुने सबै कार्गो मुभमेन्ट (मालसामान आोसारपोसार) लाई रोकिदिएका हुन् । भारतले पाकिस्तानको बाटो हुँदै अफगानिस्तान कार्गो निर्यात गर्दथ्यो । निर्यात अनुकूल हुने पर्खाइमा आफूहरू रहेको उहाँले बताउनुभयो । तर, अहिलेको स्थितिमा निर्यातमा पूर्णतः ठप्प रहेको जनाइएको छ । डा.सहायका अनुसार व्यापारको मामिलामा भारत अफगानिस्तानको सबैभन्दा ठूलो साझेदार हो ।

सन् २०२१ मा यी भारतले ८३५ मिलियन डलर निर्यात गरेको थियो भने ५१० मिलियन डलरको आयात गरेको थियो । आयात-निर्यातबाहेक भारतले अफगानिस्तानमा ठूलो राशि लगानी गरेको छ । जसमा चार सय परियोजनामा तीन बिलियन डलर लगानी छ । यसैसाता काबुलमा आयोजित पत्रकार सम्मेलनमा तालिवानी प्रवक्ता आफूहरूको सरकार बन्ने वित्तिकै समस्या समाधान हुने दाबी गरेका थिए ।


Top