मलेसियाका राजा सुल्तानद्वारा राजनीतिक दलहरूलाई मिलेर काम गर्न आहृवान

एजेन्सी   POSTED ON : भदौ ४, २०७८ (७:२७ AM)

मलेसियाका राजा सुल्तानद्वारा राजनीतिक दलहरूलाई मिलेर काम गर्न आहृवान

क्वालालमपुर । मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले देशका राजनीतिक दलहरूलाई मिलेर काम गर्न आहृवान गर्नुभएको छ । दलहरूबीचमा विवाद र बेमेल हुँदा देशमा राजनीतिक अस्थिरता मौलाएकाले दलहरूलाई मिल्न र सहकार्य गर्न उहाँले आग्रह गर्नुभएको हो । 

उहाँले स्थायी सरकारको सुनिश्चितता हुनेगरी संयुक्तरूपमा नयाँ प्रधानमन्त्रीको उम्मेदवार पेश गर्न दलहरूलाई आहृवान गर्नुभएको छ । राजदरबारद्वारा जारी वक्तव्यमा राजाले मंगलबार प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूसँग छलफल गर्नुभएको उल्लेख गरिएको छ । 

छलफलका क्रममा राजाले विश्वासको मत प्राप्त गर्न सक्नेगरी प्रधानमन्त्रीको उम्मेदवार तयार पार्न पनि आग्रह गर्नुभएको छ । तत्कालीन प्रधानमन्त्री मुहिद्दिन यासिनले गत सोमबार पदबाट राजीनामा दिएपछि राजाले नयाँ प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आहृवान गर्नुभएको हो । 

यासिनले मलेसियाको तल्लो सदनबाट बहुमत गुमाएपछि दिएको राजीनामा राजाले तत्कालै स्वीकृत गर्नुभएको थियो । राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि यासिनलाई नै कामचलाउन प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ ।


Top