बालबालिकामा जलवायु परिवर्तनको गम्भीर नकारात्मक प्रभाव

एजेन्सी   POSTED ON : भदौ ६, २०७८ (७:१४ AM)

बालबालिकामा जलवायु परिवर्तनको गम्भीर नकारात्मक प्रभाव

न्यूयोर्क,। विश्वमा हरेक दुईमध्ये एक बालबालिका जलवायु परिवर्तनको गम्भीर नकारात्मक प्रभावको शिकार हुने अवस्थामा रहेको युनिसेफले बताएको छ । मध्य अफ्रिकी गणतन्त्र, चाड, नाइजेरिया, गिनी र गिनी–बिसामा रहेका बालबालिकाहरू जलवायु परिवर्तनको सबैभन्दा बढी खतरामा छन् । जलवायु परिवर्तनले बाल अधिकारलाई पनि संकटमा पारेको छ । ‘जलवायु परिवर्तनका कारण बालबालिकामा जोखिम सूचकांकको परिचय’ शीर्षकमा गरिएको अध्ययनमा युनिसेफले आफ्नो युवा जनसंख्याको जलवायु र वातावरणीय प्रभावको आधारमा देशहरूलाई स्थान दिँदै बालबालिकाको दृष्टिकोणबाट जलवायु जोखिमको पहिलो व्यापक विश्लेषण गरेको जनाएको छ । 

विश्वका दुई अर्ब २० करोड बालबालिकामध्ये झन्डै एक अरब केटाकेटी ‘अत्यन्तै जोखिमपूर्ण’ वर्गीकृत ३३ देशहरूमा बसोबास गरिरहेका युनिसेफको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सो अध्ययनमा विचार गरिएका खतराहरूमा बाढी, चक्रवात, ताप लहर, पानीको अभाव, वायु प्रदूषण, सीसा प्रदूषण र संक्रामक रोगहरू समावेश छन् ।


Top