अफगानिस्तानमा फेरि अत्याचार बढेको अमेरिकाको आरोप

एजेन्सी   POSTED ON : भदौ ७, २०७८ (७:२२ AM)

अफगानिस्तानमा फेरि अत्याचार बढेको अमेरिकाको आरोप

काबुल । तालिवान समूहले काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि फेरि अत्याचार बढाएको अमेरिकाले आरोप लगाएको छ । तालिवानले सञ्चारमाध्यम र त्यहाँ कार्यरत जनशक्तिलाई हतोत्साही गर्ने काम गरेको भन्दै अमेरिकी सरकारले तालिवान अधिकारीसँग चासो व्यक्त गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसका अनुसार तालिवानले प्रेससहित सबै तहमा दुव्र्यवहार र हतोत्साही बनाएको रिपोर्टहरूको संख्या बढ्दो रहेको छ । यसअघि, रक्षा मन्त्री लोइड अस्टिनले अमेरिकी सञ्चार प्रतिनिधिहरूसँगको कुराकानीमा अमेरिकाको तालिवानसँग अझै पनि धेरै असमझदारीहरू रहेको बताउनुभएको थियो ।

राष्ट्रपति जो बाइडेनको तालिवानले अमेरिकी नागरिकलाई विमानस्थलमा कुनै बाधा सिर्जना नगरेको भन्ने भनाइप्रति लक्षित गर्दै रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले तालिवानले अमेरिकी नागरिकलाई दुव्र्यवहार गरिएको भन्ने खबरहरू आफूले सुनेको बताउँदै अमेरिकी सेनाले उक्त रिपोर्टलाई गम्भीर ढंगले लिने बताउनुभएको छ । 

यता अर्को रिपोर्टमा भनिएको छ, काबुलमा फसेका मानिसहरू तालिवानसँग यतिसम्म त्रसित छन् कि सडकमा कुनै गाडी देखिनासाथ उनीहरू बाथरुमभित्र लुक्छन् । घरको बत्ती र मोबाइल फोन बन्द गरेर आफूलाई बाथरुममा कैद गर्छन् । बच्चाहरूको आवाज नसुनियोस भनेर उनीहरूको मुखमा कपडा बाँधिदिन्छन् ।

काबुलमा फसेको एक परिवारले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै यहाँको हालत बताएका हुन् । यो परिवारका दुई सदस्यलाई गत वर्ष तालिवानले मारिदिएका थिए त्यसैले तालिवानको संकेत पाउनासाथ यो परिवार अत्यन्तै त्रसित हुन्छन् । काबुलमा फसेका यस्ता परिवारको जो आफन्त अन्य देशमा छन् उनीहरू आ–आफ्नो सरकारसँग सहयोगको अपिल गरिरहेका छन् ।

अफगानिस्तानमा तालिवानी शासनको बीच काबुल विमानस्थल अस्तव्यस्त बनेको छ । सबै देश आफ्ना नागरिकलाई त्यहाँबाट निकाल्ने काममा जुटेका छन् । तर, त्यहाँ फसेका विदेशीहरू काबुल एयरपोर्ट पुग्नै मुस्किल छ किनकि विमानस्थल जाने बाटोमा तालिवानीको पहरा छ । अर्कोतर्फ तालिवानले भने अन्य देशका नागरिकलाई जान दिइरहेको दाबी गरेको छ ।

अफगानिस्तानमा सिख समुदायका सांसद नरेन्दर सिंह खालसा काबुलबाट दिल्ली आइपुगेर पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा रुनुभएको छ । गला अवरुद्ध पार्दै तथा आँखामा आँसु ल्याउँदै उहाँले भन्नुभयो, ‘मलाई रुन मन लागेको छ । विगत २० वर्षमा बनाएका सबै कुरा ध्वस्त भए । अब शून्यता मात्र बाँकी छ ।’

यसैबीच अफगानिस्तानबाट अमेरिकी सेनाको बहिर्गमन तथा तालिवान शासन कायम भएपछि मानवअधिकारका विषयमा चिन्ता व्यक्त गरिएको छ । विशेषगरी महिला र बालिकाको चिन्ता बढेको छ । तालिवानले महिलामाथि अत्याचार गर्ने डर छ । 

यस्तैमा अफगानिस्तानमा महिलाहरूका लागि बोर्डिङ स्कुल खोल्नुभएकी शबाना बसिज-रसिखले विद्यार्थीहरूको सर्टिफिकेट जलाएको भिडियो सार्वजनिक भएको छ । विद्यार्थीहरूको पहिचान मेटाउनका लागि नभई उनीहरूलाई तालिवानबाट जोगाउन सर्टिफिकेट जलाएको शबानाको भनाइ छ । उहाँले भन्नुभएको छ, ‘अफगानिस्तानबाट सबैजना बाहिर निस्कन खोजिरहेका छन् तर बाहिर निस्कन नसक्ने बालिकाको पीर मलाई लागिरहेको छ । म र मेरा विद्यार्थीहरू सुरक्षित छौं । तर, कतिपयले आफूलाई असुरक्षित अनुभव गरिरहेका छन् । मेरो ध्यान छात्राहरूको सुरक्षामा केन्द्रित छ । म यसका बारेमा धेरै कुरा भन्दिनँ ।’

यस्तै गत साता तालिवान समूहले देशव्यापी कब्जा जमाएपछि सिर्जना भएको अनिश्चितताको फाइदा उठाउँदै व्यापारीले उपभोग्य वस्तुको मनपरी मूल्य लिँदा आमनागरिक समस्यामा परेका छन् । खामा प्रेसकाअनुसार बैंक र पैसा सटही गर्ने बजार साराई शाहजादा बन्द हुँदा काबुलका मानिसलाई कठिक भएको छ । यसले आम नागरिकमात्र नभई सरकारी अधिकारी तथा निजी कर्मचारीसमेत मर्कामा परेका छन् । उनीहरूले समयमै तलब पाउन नसक्दा यस्तो अवस्था आएको हो । 

बैंकहरू बन्द हुँदा आममानिसको ती नगद झिक्न सकेका छैनन् । आफ्नै पैसा निकाल्न समस्या भएसँगै बजारमा आर्थिक तरलताको अभाव देखिएको छ । निजी बैंकले अनिश्चितकाल बन्द रहने घोषणा गरिसकेका छन् भने सरकारी बैंक कहिलेदेखि खुल्छ भन्ने यकिन हुन सकेको छैन । यसले गर्दा अफगानिस्तानमा सबैतिर अस्त व्यस्त भएको छ भने आममानिस कठिन जीवन बाँच्न बाध्य छन् । 


Top