अफगानबाट सुरक्षित उद्धारको अनुमति दिन ओआईसीको आग्रह

एजेन्सी   POSTED ON : भदौ ८, २०७८ (७:३६ AM)

अफगानबाट सुरक्षित उद्धारको अनुमति दिन ओआईसीको आग्रह

काबुल । ५७ राष्ट्र आबद्ध इस्लामिक समन्वय संगठन (ओआईसीद्वारा अफगानिस्तानबाट सुरक्षित उद्धारको अनुमति दिन आग्रह गरेका छन् । ओआईसीले अफगानिस्तानको परिस्थितिबारे ध्यानाकर्षण भएको जनाउँदै अफगानिस्तानबाट बारिरिन इच्छुकहरूको सुरक्षित उद्धारका लागि आग्रह गरेको हो । 

ओआईसीले अफगानिस्तानको वर्तमान अवस्थाबारे छलफल गर्न आइतबार बैठक राखेको थियो । बैठकमा महासचिव डा. युसूफ अल ओथाईमीनले तालिवानलाई अन्तर्राष्ट्रिय मानवीय कानुन र बाँच्न पाउने एवं सुरक्षाको अधिकारको सम्मान गर्न आग्रह गर्नुभएको छ । बैठकले अफगान नागरिकको चाहना प्रतिविम्बित हुनेगरी सहमति गर्न जोड दिएको छ । 

साउदी अरबमा रहेको ओआईसीको बैठकले सुरक्षित उद्धारका लागि सहुलियत प्रदान गर्न र अफगान छोड्न इच्छुकले अनुमति दिन आग्रह गरेको हो । अफगानिस्तानको भविश्य तथा दीर्घकालीन स्थायित्वका लागि अफगान नागरिकको चाहना प्रतिविम्बित हुनेगरी दलहरूलाई समावेशी रूपमा सहमतिमा आउन उसले आग्रह गरेको छ ।

अब व्यावसायिक विमानहरूबाट पनि उद्धार 

अमेरिकाले अफगानिस्तानमा फसेका सर्वसाधारणलाई व्यावसायिक विमानबाट पनि उद्धार गर्ने भएको छ । यसका लागि अमेरिकाले १८ वटा व्यावसायिक विमान प्रयोग गर्ने भएको छ । यसअघि सैनिक विमानलेमात्रै अफगानिस्तानमा फसेका अमेरिकी नागरिक र अफगानिस्तान छाड्न चाहने अफगानीलाई उद्धार गर्दै आएकोमा अब व्यावसायिक विमानमार्फत उद्धार गर्ने भएको हो ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाए अनुसार अफगानिस्तानको काबुल विमानस्थललगायत अन्य विमानस्थलमा रहेकालाई अन्य देश पुर्‍याउन सहयोग गरिनेछ । तालिवानले गतसाता अफगानिस्तानमाथि कब्जा जमाएपछि असुरक्षित महसुस गर्दै देश छोड्नका लागि हजारौं अफगानी नागरिक काबुल विमानस्थलमा भेला भएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले गत सातामात्रै २८ हजारको उद्धार गरिएको जानकारी दिनुभएको छ । हृवाइट हाउसमा पत्रकार सम्मेलन गर्दै बाइडेनले अफगानिस्तानको स्थिति नाजुक रहेको र त्यहाँका जनता पीडामा रहेको हृदयविदारक दृश्यहरू उजागर भएको दृष्टान्त पेश गर्दै त्यस्ता दृश्यहरू आफूले देख्न नसकेको बताउनुभयो ।

काबुल विमानस्थलको स्थिति तनावग्रस्त छ । एयरपोर्टमा गत सातामात्र भएका गोली हानाहानका घटनामा २० जनाको ज्यान गएको थियो ।

‘समावेशी’ सरकार गठन हुने

सत्ता नियन्त्रणमा लिएपछि तालिवान ‘समावेशी’ सरकार गठन गर्न भन्दै छलफलमा व्यस्त छ । प्रवक्ता जबिहुल्लाह मुजाहिदले सरकार गठनका लागि अफगानिस्तानी राजनीतिक दलसँग छलफल भइरहेको र नयाँ सरकार चाँडै घोषणा हुने बताउनुभएको छ । तालिवानीले पूर्वराष्ट्रपति हमिद कारजाई, अब्दुल्लाह अब्दुल्लाहसँग पार्टी कार्यालयमा समेत भेट गरेको छ ।

यता मंगलबार जी-सेभेन मुलुकका नेताहरूले अफगानिस्तान संकटबारे छलफल गरेका छन् । बैठकको निष्कर्षानुसार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकी राष्ट्रपतिलाई अफगानिस्तान छाड्ने समयसीमा बढाउन आग्रह गर्नुहुने भएको छ । काबुल छाड्नेको संख्या बढ्ने भन्दै उहाँले अगष्ट ३१ को समयसीमालाई बढाउन आग्रह गर्नुभएको हो । 

यस्तै चीनले तालिवानको आगामी सरकारको प्राथमिकतामा पुनर्निर्माण, एकता र ऋण व्यवस्थापन मुख्य हुनुपर्ने बताएको छ । अब बन्ने सरकार हिंसात्मक नहुनेसमेत चीनले जनाएको छ ।


Top